१ सय ४३ किलो गाँजा सहित कन्टेनर र ३ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट १ सय ४३ किलो गाँजा सहित कन्टेनर र ३ जना पक्राउ गरेकाे छ ।
विहीबार बिहान ३ बजेको समयमा मनहरीबाट हेटौडातर्फ आईरहेको ना १ ख ९९१० नम्बरको कन्टेनर चेकजाँज गर्दा उक्त परिमाणकाे लागुऔषध गाँजा सहित ३ जना पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिशेष सूचनाको मकवानपुर प्रहरीले कन्टेनर गाडीको चेकजाँज गर्दा केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई ल्याएको १२ वटा पोकामा गाँजा १ सय ४३ किलो ३ सय ग्राम बरामद गरिएकाे मकवानपुर प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसरा गर्ने गाडी चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका ५ सिगार्सेका २८ बर्षिय सनक बहादुर तामाङ, सह–चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका ८ मानेश्वराका २४ बर्षिय सोमे तामाङ र सोही गाडिमा सवार मकवानपुर राक्सिराङ गाएँपालिका १ गल्छराङका १८ बर्षिय सविन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
लागुऔषध गाँजा र कन्टेनर गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
सालकाे फन्टा सहित २ जना पक्राउ
यस्तै मकवानपुर प्रहरीले हेटाैडा ११ तिनताप्के स्थित सडक खण्डमा बसामाडी तर्फबाट पदमपोखरी तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ख ०१३२ नं. को मिनि टाटाबाट लुकाई छिपाई ल्याएको अबैध सालको २७ वटा फेन्टा जम्मा ५४ क्युफिट काठ बरामद गरेकाे छ ।

असार ३ गते राती १२ बजेकाे समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले पदमपोखरी तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ख ०१३२ नं. को मिनि टाटाबाट लुकाई छिपाई ल्याएको उक्त परिणामकाे सालकाे फेन्टा फेला परेको प्रवक्ता रिमालले जानकारी दिए ।
प्रहरीले मिनीटाटा चालक मकवानपुर हेटाैडा ११ स्मारक बस्ने बर्ष २३ को सुखराम रुम्बा र सो काठ ओसार-पसारमा सम्लग्न मकवानपुर हेटाैडा १३ बस्ने बर्ष २४ को दिपेश लामा सहित काठ, गाडी र लामाले प्रयाेग गरेकाे माेटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको प्रवक्ता रिमालले बताए ।
सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ ।
मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भन्ने स्थानमा ठूलो पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदी खुलेपछि नदीले विनाश रूप धारण गर्दै क्षति बनाएको थियो । ‘मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको ड्यामभन्दा माथिबाट आएको पहिरोले मेलम्ची नदी थुनेको देखियो,’ हेलिकोप्टरबाट पहिरो स्थलमा पुगेका नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने, ‘त्यही पहिरोले नै तल्लो तटीय क्षेत्रमा क्षति भएको देखियो ।’
पहिरोपछि आएको बाढीले मानवीय क्षतिको यकिन विवरण प्राप्त नभए पनि केही बेपत्ता छन् । सात जनाको शव भेटिएको छ । हेलम्बु २ का माधव भण्डारी, गणेश ज्योति, हेलम्बु ३ की टिकामाया खड्का, हेलम्बु ६ का च्यामा तामाङ, उनकी पत्नी, ७ का ज्ञानेन्द्र कक्षपति र सुरेन्द्र नेपालको मेलम्ची बाढ मा परेर निधन भएको छ ।
उनी रु सबै ट्राउट माछा फार्ममा काम गर्नेहरु रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । ‘बखान क्षेत्रमा गएको पहिरो हेर्दा अन्य पहिरोभन्दा फरक देखिएको छ । लाभा जस्तै बगिहेको छ, ठूलो ज्वालामुखी विस्फोटनपछि निस्कने लाभाजस्तै लेदो बगिरहेको छ,’ सेनानी श्रेष्ठले भने, ‘यस्तो प्रकृतिको पहिरो यसअघि देखिएको नै थिएन ।’
अहिले पनि पहिरो झर्न नरोकिएको र लेदो पनि बगिरहेको उनले जानकारी दिए । ‘माथि हिमाल नै फुटेर आएको जस्तो अवस्था छ, लेदोले नदीको सतह २ मिटर भन्दा अग्लो भएको छ,’ प्रमुख सेनानी श्रेष्ठले भने । पानीसँगै बाक्लो घोल आएर नदी छेउछाउका घरमा पसेर क्षति बनाएको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए ।
सडक सम्बन्ध टुट्यो
पहिरो र त्यसपछि आएको बाढीले इन्द्रावती र मेलम्ची नदीमाथि रहेका चारवटा पक्की पुल बगाएको छ । पुल मात्रै होइन नदीले मेलम्ची हेलम्बु सडकखण्ड पनि पुरै कटान गरेको छ । मेलम्चीलाई सदरमुकाम चौतारसँग जोड्ने पक्की पुल बाढीले बगाएको छ भने मेलम्ची र दुवाचौर जोड्ने अर्काे पुल पनि बगाएको छ । ‘मेलम्चीमाथि हेलम्बुसम्म जति पनि पक्की र झोलुङे पुल छ, त्यो सबै नै बगाएको छ,’ नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने ।
नदी किनारका घर टहरा र माछा व्यावसाय सबै बगायो
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथनदेखि मेलम्ची बजारसम्म बाढीले ३ सय बढी घरमा क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नगरपालिकाभित्रका १ सय ३३ र हेलम्बु गाउँपालिकाभित्र १ सय ५० घर प्रारम्भिक रूपमा क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।
बाढीबाट विस्थापितलाई मेलम्चीस्थित इन्द्रेश्वरी माविमा र हेलम्बु क्षेत्रका स्थानीयलाई पनि डाँडाका सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए । मेलम्ची नदी किनारमा ट्राउट माछापालन गर्ने व्यावसायीलाई बाढीले नराम्रोसँग झट्का दिएको छ । नदीछेउमा रहेको एउटा पनि ट्राउट माछा फर्म नराखी बाढीले बगाएको छ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारको उद्धार गरिएको छ ।
बाढीमा फसेकाको उद्धार
मेलम्ची खानेपानी आयोजनाको आम्बाथान मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीलाई नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा फेसका ४७ जना कामदारलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकोप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
मंगलबार राति आएको बाढीले कामदार बसेको क्याम्प बगाएको थियो । केही कामदार भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाका कर्मचारीसहित ७० जना त्यहाँ कार्यरत थिए ।
बाढीमा फसेकाको खोजी तथा उद्धार कार्य भइरहेको छ । आयोजनाको कर्मचारी मजदुरको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाता खटिरहेको र बेपत्ताको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका २३ कर्मचारी र मजदुर अझै सम्र्पकविहीन रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याममा क्षति बनाए पनि सुरुङको गेट बन्द गरिएकाले सुरुङमा भने क्षति नभएको खानेपानी आयोजनाले जानकारी दिएको छ । राजधानी दैनिककाे लागि दिनेश थापाले लेख्नु भएकाे समाचार साभार
कोरोना महामारीको दोस्रो लहर रोक्न अधिकांश जिल्लामा जारी निषेधाज्ञा डेढ महिनाभन्दा बढी भइसक्दा पनि राष्ट्रिय संक्रमण दर २० प्रतिशत हाराहारीमै छ। दुर्गम जिल्लामा संक्रमण दर अझ बढी छ। महामारी नियन्त्रणका लागि पर्याप्त परीक्षण र खोपको अभाव सँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्नुमा आममानिसमा भाइरस परीक्षणमा देखिएको हिच्किचाहट प्रमुख कारण रहेको छ।
‘अस्ती पानीले भिजेको, हिजो चिसो खाएको, आज धुलोमा गएको जस्ता बहाना’ बनाएर परीक्षण नगर्नेको संख्या अत्यधिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। उनीहरूका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुनसक्छ भन्ने सन्देश व्यापक हिसाबले जनस्तरमा पुर्याउन आवश्यक छ। महामारीको यो अवश्थामा आम मानिससम्म पुग्न प्रभावकारी जोखिम सञ्चार रणनीति आवश्यक छ। भाइरस परीक्षणप्रति आम नागरिकलाई आकर्षित गर्न स्थानीय भाषामा सन्देश, टेलिफोन रिङटोनमा यो विषयमा सन्देश आवश्यक रहेको तथा परीक्षण व्यापक पार्न स्थानीय सरकार, स्वयंमसेवी समूह, आमा समूहलगायतका नागरिक समाजका समग्र सदस्यको सहयोग चाहिने विज्ञहरू बताउँछन्।
विशेषगरी भाइरस संक्रमण व्यापक हिसाबले समुदायस्तरमा विस्तार भएको पृष्ठभूमिमा जोखिममा रहेका र दुर्गम क्षेत्रका वासिन्दासम्म पुग्न सिर्जनात्मक विधि अवलम्बन गर्नु आवश्यक छ। विपन्न तथा दैनिक घरायसी कामको बोझले थिचिएकालाई भाइरस परीक्षण गर्न राज्यले प्रोत्साहन प्याकेज दिनुपर्ने हुन्छ। परीक्षणलाई खाद्य सहयोग तथा अन्य राहातसँग जोड्न सके विपन्नहरू परीक्षण गर्न तयार हुन सक्छन्। महामारीको सही अवस्थाको आंकलन गर्न तथा जनजीवनलाई पुरानै लयमा फर्काउन भाइरसको व्यापक परीक्षणको महत्व छ।
कोरोना भएकालाई समाजले गर्ने व्यवहार, भाइरसका विषयमा सुरुदेखि देखिएको भय, समाजिक हिसाबले अपहेलित हुनपर्ने डर यथावत् छ। कोरोनाका लक्षण हुँदाहुँदै पनि विभिन्न जिल्लाका ग्रामीण वासिन्दाहरू घरमै बस्ने र परीक्षण नगराउने गरेका समाचार सार्वजनिक भइरहेकाछन्। परीक्षणप्रतिको आम विश्वास र समयमै गरिने परीक्षणले बिरामी र तिनका परिवारजनको जीवन रक्षा गर्नसक्ने भएकाले आमजनसमुदायको भाइरसप्रतिको समग्र बुझाई अझै नकारात्मक छ। स्थानीय जनतासँग सिधा र विश्वासिलो सम्बन्ध भएका स्वास्थ्यकर्मी, गाउँका मान्यजन तथा परपरम्परागत उपचार गर्ने धामी झाँक्रीलगायतका परम्परागत उपचारकलाई सलग्न गराउँदा सर्वसाधारण परीक्षणप्रति आकर्षित हुन सक्छन्। समयमै गरिने परीक्षणले संक्रमितको उपचार गर्न सकिने र अक्सिजन स्तर धेरै घट्नबाट जोगाउन सकिने चिकित्सक मान्छन्।
‘संक्रमण समयमै पत्ता लाग्दा कोभिड–१९को उपचार सम्भव छ भन्ने सन्देश जाँदा मानिसहरू परीक्षण गर्न सक्छन्,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्। ‘समाजमा सक्रमितलाई हेला गर्छन् भन्ने अझै पनि ठानिन्छ, गाउँमा मात्र होइन, काठमाडौंमा पनि बिरामीले धेरै च्यापेपछि मात्र अस्पताल आउने गरेका छन्। अझै पनि पोजिटिभ केसको आवश्यक कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। स्थानीय तहले पहिलो लहरमा देखाएको सक्रियता अहिले पनि उत्तिकै आवश्यक छ,’ उनी भन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ सरकारसँग प्रविधि र संशाधन यथेष्ट भएको तर आमजनतामा अझै पनि परीक्षणप्रति हिच्किचाहट रहेको स्वीकार्छन्। ‘हामीसँग विभिन्न देशवाट प्राप्त २० लाख भन्दा बढी एन्टिजेन टेष्ट किट छन्, देशभरका ९२ प्रयोगशालाले दिनहुँ ३० हजार पिसिआर परीक्षण गर्न सक्छन्। तर अपेक्षित परीक्षण हुन सकेको छैन। त्यसैले व्यापक परीक्षण (मास टेस्ट) गर्न सबै पालिका र आमनागरिक समाजको सहयोग आवश्यक देखिएको छ,’ उनी भन्छन्।
मन्त्रालयले यही मंगलबार ५०० स्थानिय पालिकाका प्रतिनिधिसँग जुम बैठक आयोजना गरेर परीक्षणलाई अझ व्यापक पार्न पालिका प्रमुख र स्थानीय स्वास्थ्य अधिकारीलाई अनुरोध गरेको श्रेष्ठले बताए। ‘हामीसँग एन्टिजेन छन्, स्वास्थ्यकर्मीलाई भत्ता छ, अब आवश्यक भनेको सबै पालिका र नागरिक समाजको सहयोग हो,’ उनी भन्छन्, ‘हामीले उहाँहरूलाई यो भालुको कम्पट कहिलेसम्म समाइरहने भनेर भन्यौं।’
परीक्षण अभावमा समुदायमा भाइरसको सहज संक्रमण भैराखेको स्वीकार गर्दै भाइरस परीक्षणको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरिरहेका श्रेष्ठ थप्छन्, ‘परीक्षणका विषयमा परिवार र टोलमा जागरण आउनुपर्यो , यो एक्लो मन्त्रालयले मात्र गर्न सक्ने काम होइन।’ भारतबाट विभिन्न नाका हुँदै दिनहुँ ५ हजार नेपाल प्रवेश गर्ने उल्लेख गर्दै प्रमुख विशेषज्ञ श्रेष्ठ ती सबैको परीक्षण गर्न र क्वारेन्टिनमा राख्न पर्ने तर्क गर्छन्। ‘सक्रमितको सम्पर्कमा आएका र शंकास्पद मानिसका परीक्षणलाई प्रभावकारी पार्न सके लकडाउन जारी राख्न आवश्यक हुदैन,’ उनी भन्छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल सरकारले रेडियो, टिभी तथा अन्य समाचार माध्यमवाट परीक्षण गर्न अभिप्रेरित गर्ने सन्देश अझ व्यापक गर्ने तयारी रहेको बताउछन। उनले मोबाइलको रिङ टोनमा समेत निःशुल्क परीक्षणबारे जानकारी दिने तयारी भइरहेको बताए। परीक्षणलाई व्यापक पार्न स्थानिय स्वास्थ्यकर्मी, स्वयंमसेवा र आमा समूहलाई झन् बढी सशक्त हिसाबले परिचालन गर्न लागिएको उनी बताउँछन्। ‘हामीले परीक्षणको दायरा बढाएर आवश्यक पर्नेलाई समेटेका छाैं। अब परीक्षण किट गाउँगाउँमा उपलव्ध गराउन आवश्यक छ,’ उनी भन्छन्।
महामारी नियन्त्रणका लागि अत्यधिक जनसंख्यालाई खोप उपलब्ध गराउनुपर्नेमा नेपालको खोप अभियान पछिल्ला दिनमा अत्यन्त कमजोर बनेकोछ। हाल चीनले अनुदान दिएको १० लाख डोज खोपमार्फत जेष्ठ नागरिकलाई खोप दिइएको छ। तर यसअघि कोभिसिल्ड खोप लगाएका साढे १३ लाख जनसंख्याले दोस्रो खोप कहिले पाउने भन्न्नेमा अझै निश्चित भएका छैन। उनीहरूले पहिलो डोज लगाएको १२ साता पुगिसकेको छ। ‘हामीले कोभिसिल्डको समान फर्मुला भएको अष्ट्राजेनका खोप अन्य देशबाट खरिद गर्न र भारतवाटै पनि ल्याउन प्रयास गरिरहेका छाैं,’ प्रवक्ता डा. पौडेल भन्छन्। याे समाचार नागरिक दैनिकबाट साभार गरिएकाे हाे
९६ केजी गाँजा सहित ५ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले ९६ केजी गाँजा सहित ५ जना पक्राउ गरेकाे छ । हेटौंडा उपमहानगरपालिका १० बाट ट्रकको सिटमुनि लुकाएर ल्याएको अवस्थामा ९६ किलो ४ सय ग्राम लागु औषध गाजा सहित ५ जना पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मंगलबार राती १० बजे मनहरी तर्फबाट हेटौडा तर्फ आईरहेको ना.२ ख ५५७९ नं. को कन्टेनर ट्रकलाइ पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा नराेकी भागेकाे थियाे ।
उक्त गाडीकाे पिछा गर्दै जाँदा गाडिलाई पिछा गर्दै जाँदा हेटौंडा १० स्थित भुटनदेवी मोडमा फेला पारी चेक गर्दा गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
गाँजा सहित ट्रक चालक मनहरी गाउँपालिका ६ बस्ने बर्ष २५ को सन्तोष आले मगर, सह–चालक बर्ष २१ को मोसा घलान र गाडीमा रहेका कैलाश गाउँपालिका ८ भार्ता बस्ने वर्ष २४ को उमेश लामालाई नियन्त्रणमा लिएको हाे । उनीहरू सँग साेधपुछ गर्दा उक्त लागुऔषध गाँजा कारोवारमा संलग्न रहेका राप्ती नगरपालिका २ चितवन बस्ने बर्ष ३१ को बिष्णु लामा र मकवानपुर कैलाश गाउँपालिका ८ बस्ने बर्ष २९ को रोशन मुक्तान भएकाे खुल्न अाएकाेले उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरी प्रवक्ता रिमालले बताए ।
पक्राउ पर्ने ५ जना, लागुऔषध गाँजा र कन्टेनर गाडी प्रहरीकाे नियन्त्रणमा रहेकोमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । अहिले देशैभरी मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले हाल सामान्य देखि पूर्ण वदली रही धेरै स्थानमा वर्षा भइरहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आगामी ३ दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण समेत महाशाखाले गरेको छ । मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिवारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएकाे छ ।
देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू-भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको महाशाखाले जनाएकाे छ ।
नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेकाे छ ।
आगामी ३ दिनको मौसम पूर्वानुमान
असार २ गते बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहेेकाेले देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असार ३ गते विहीबार देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका १ वा २ स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
असार ४ गते शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।