मकवानपुर । स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिइने शनिवार भएकाे एक अन्तरकृया कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको बागमती प्रदेश सरकारको बजेटमा संचार क्षेत्र संबन्धि बिषय सहभागीहरुले सरकार संचारमैत्री हुन नसकेकोमा चिन्ता ब्यक्त गरेका छन् । सहभागीहरूले स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन दवावमुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
बागमती प्रदेश सरकारले स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्ने बजेट बिनियोजन गर्ने निर्णयकाे संचारसँग सम्बद्ध संघ संस्थाले विराेध जनाउँदै आएका छन् । बागमती प्रदेशकाे आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि सार्वजनिक गरेको बजेटमा प्रदेश सरकारले आफ्नै संचार गृह चलाउने घाेषणा गरेकाे थियाे ।
संचार क्षेत्र संबन्धि बिषयहरु संबन्धि भर्चुअल अन्तरकृयाका सहभागीहरुले स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन दवावमुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले लोकतान्त्रिक राज्य ब्यवस्थामा सरकार आफैंले संचारमाध्यम संचालन गर्ने बिषय स्वीकार्य नहुने बताउँदै लोकतन्त्रको मर्ममा प्रहार गर्ने गरी आएका नीति र कार्यक्रमहरु फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
सरकारी संचारमाध्यमहरुलाई पूर्ण सम्पादकीय स्वतन्त्रतासहित सार्वजनिक प्रशारण सेवाका रुपमा बिकसित गर्ने बहस चलिरहेका बेला बागमती प्रदेश सरकारले आमसंचार गृह स्थापना गर्ने नीति अख्तियार गरेको प्रति महासंघको गम्भीर आपत्ती रहेको अध्यक्ष पोखरेलले बताए । उनले भने प्रेस स्वतन्त्रता बिरोधी सबै खाले हर्कतहरुका बिरुद्ध सबैकाे ऐक्यबद्धता रहनुपर्ने छ ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले आफू नियन्त्रित संचारगृह संचालन गर्ने तयारीले बागमती प्रदेशमा लोकतन्त्र नभएको दुःखद अनुभुति गराएको बताउँदै संचारक्षेत्रलाई नियन्त्रणमा राख्ने र स्वरोजगारमुलक संचारमाध्यमहरुलाई समस्यामा पार्ने नीतिको कडा प्रतिरोध गरिने स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा भएकाे अन्तरकृयामा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारी, बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगर, उपत्यका प्रदेश समितिका महासचिव टेनिश रोका, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी र प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापाले बागमती प्रदेश सरकारले संचारमाध्यमको प्रबर्धन भन्दा पनि नियन्त्रणको गलत नियत राखेको बताउँदै सरकारको नियन्त्रणमुखी सोचका बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रनुको बिकल्प नरहेको धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, चितवनका अध्यक्ष नारायण अधिकारी, धादिङका अध्यक्ष राजाराम शर्मा, काभ्रेका अध्यक्ष बद्रीराज तिमिल्सिना, ललितपुरका अध्यक्ष सागर न्यौपाने र मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतले संचार क्षेत्रलाई दीर्घकालीन असर पार्ने बागमती सरकारको आम संचारगृह संचालन संबन्धि नीतिको खारेजीका लागि तत्काल दवावमुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने र त्यसमा जिल्ला शाखाहरुको सक्रिय सहभागिता रहने स्पष्ट पारेका थिए ।
यसअछि गत असार १ गते सार्वजनिक बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०७८ /०७९ को बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापनाका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको थियो । प्रदेश सरकारले यसअघि कार्यान्वयनमा आएर संचारमाध्यमहरुको प्रबद्र्धन र संचारकर्मीहरुको क्षमता अभिबृद्धीका लागि प्रेस रजिष्ट्रारको कार्यालय मार्फत कार्यान्वयन हुने कार्यक्रमहरुमा समेत बजेट कटौती गरिनुलाई महासंघको बागमती प्रदेश समितिले दुर्भाग्यपूर्ण बताएको छ ।
मकवानपुर । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेकोले देशैभर मनसुनी वायु सक्रिय प्रभावकाे कारण बर्षा भइरहेकाे छ ।
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा वर्षा भईरहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको १/२ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले महाशाखाले जनाएकाे छ । उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम समेत रहेको छ ।
भारी वर्षाकाे सम्भावनाकाे कारण नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले सवैलाई अनुरोध गरेकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार ५ गते शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
असार ६ गते आईतबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।
असार ७ गते सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केन्द्रीय निर्देशन समितिमा मकवानपुरका दिपकबहादुर सिंह मनाेनित भएका छन् । राप्रपा अध्यक्ष मण्डलका अध्यक्ष ३ जनाकाे बैठकले पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धि आधारपत्र बमोजिम केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेका हुन् ।
निर्देशन समितिमा मकवानपुरका सिंह मात्र मनोनित भएका छन् । यस अघि केन्द्रस्य समितिमा रहेका मधु अधिकारी, राजाराम बर्तोला भने दुबै समितिमा पर्न सकेनन् । समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्ने पार्टीले जनाएको छ ।
निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनेछन् । यस अघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गर्ने समेत निर्णय गरिएको छ ।


गत शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले विश्वासको मत पाएको छ । संविधानको धारा १६८ काे उपधारा ५ काे व्यवस्था अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाेखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने रहेको प्रावधान रहेकाे थियाे ।
पोखरेलले नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङेको समर्थनमा सरकार बनाएका हुन् ।
शुक्रबार प्रदेश सभामा पोखरेल नेतृत्वको सरकारले विश्वासको मत लिन मतदान हुँदा सरकारको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । हाल गण्डकी प्रदेश सभामा कायम रहेको ५९ सदस्यीय पदमा बहुमतकाे लागि ३० मतको आवश्यक रहेको छ । शुक्रबार मत बिभाजनमा ५८ सांसद उपस्थित रहेका थिए । ६० सदस्यीय प्रदेश सभाका जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज भएको छ भने सभामुख मत बिभाजन प्रक्रियामा सहभागी भएनन् ।
सरकारले ल्याएको बजेट र मन्त्रीहरुको मन्त्रालय बिभाजनमा अन्योलता बढेपछि पाेखरेलले संवैधािनक समय सिमा भन्दा छिटाे विश्वासको मत लिएका हुन।

