हड्डीले मानिसको शारीरिक संरचना तथा आकार निर्माण एवम् शरीरलाई सन्तुलित गर्ने कार्य गर्दछ । यसको खराबीबाट विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्छन् । खानपानमा हेलचेक्राइँ गर्दा हड्डी स्वस्थ र मजबुत हुन सक्दैन । त्यसैले हड्डी बलियो बनाउन शारीरिक व्यायामसँगै विशेषगरी खानेकुरामा ध्यान दिनुपर्छ ।
ओखर
ओखरको भित्री बनावट मस्तिष्कको जस्तै हुन्छ । यसले विशेषगरी मस्तिष्कलाई नै फाइदा गराउने विज्ञहरूको भनाइ रहेको छ । यसमा प्रोटिन, क्याल्सियम, फस्फोरस तथा भिटामिन पाउने भएकाले यसको सेवन हड्डीको मजबुतीका लागि उत्तम हुन्छ ।
बदाम
बदाममा प्रोटिन, भिटामिन ई, ओमेगा थ्री, फाइबर तथा एन्टी–अक्सिडेन्ट प्रशस्त मात्र पाइन्छ । यसका साथै यसमा फस्फोरस एवम् क्याल्सियम पाइन्छ । क्याल्सियम हड्डीका लागि लाभदायक हुन्छ ।
सालमोन
सालमोन माछा स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको अध्ययनले देखाएको छ । यसमा हेल्दी फ्याट, ओमेगा–थ्री, भिटामिन डीलगायत पौष्टिक तत्व पाइन्छ । यसले हड्डीलाई बलियो र स्वस्थ राख्न मद्दत गर्छ ।
दूध
दूधमा क्याल्सियमको मात्रा पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । त्यसैले दूधको नियमित सेवनले हड्डी मात्र नभएर समग्र स्वास्थ्यमा निकै फाइदा गर्छ ।
अण्डा
हड्डीमा प्रोटिनको कमी हुँदा यसको विकासमा बाधा पर्छ । अण्डामा भरपुर मात्रामा प्रोटिन हुने भएकाले हड्डीको विकासमा यसले महत्वपूर्ण सघाउ पुर्याउँछ । अण्डामा प्रोटिन मात्र नभएर अन्य पोषण तत्व पाइन्छ । अण्डा उमालेर वा अमलेट बनाएर पनि खान सकिन्छ ।
पनीर
पनीर हड्डीका लागि लाभदायक हुन्छ । यसमा क्याल्सियम र फस्फोरस पाइन्छ । यसको नियमित सेवनबाट हड्डीलाई मजबुत बनाउन मद्दत पुग्छ ।
भटमास
भटमास पोषण तत्वको भण्डार हो । यसमा क्याल्सियम, फाइबर, भिटामिन ई, प्रोटिनलगायतका पोषण तत्व पाइन्छ । यसले हड्डीको विकासमा मद्दत पुग्नुका साथै यसलाई मजबुत गराउँछ । healthpati.com
मकवानपुर । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकोले देशभर सामान्य बदली रही हल्का देखि मध्यम बर्षाकाे सम्भावना रहेका छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ।
प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
प्रदेश नं १,गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाकाे बुलेटिनमा उल्लेख छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले सबैमा अनुरोध गरेकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भदाै ६ गते आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
भदाै ७ गते सोमबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
भदाै ८ गते मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
मकवानपुर । आज जनै पूर्णिमा पर्रव मनाइदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर तागाधारीहरूले नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। जनै पूर्णिमा पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। विधान शास्त्र अनुसार यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण जनै पूर्णिमामा भीड नह्रुने गरी मनाउन तीनै तहका सरकारले आह्वान गरेको छ। वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ। भक्तजनहरू रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि मन्दिर परिसर, नदीको किनार र मठ मन्दिरमा जाने गर्छन् ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाको भयकै कारण उत्सव छैन।
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।
माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिईएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरु बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएकोले यो अवस्था आएको आरोप लगाएका छन् । ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरुले बाध्य भएर पूनर्गठन गरेको उनको भनाई छ ।
साक्षात्कारमा बोल्दै उनले आफुहरुले एमालेको एकता र सग्लो एमालेको लागि हदैसम्मको प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको बताए । उनले भने,‘हामीले त एकताको लागि त्याग र तपस्या गरेका हौं, तर केपी ओलीले एमालेलाई विखण्डन गरिछाड्ने कसम खाएकोले एकता सम्भव भएन । अहिले हामी पनि नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रियामा छौं । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छौं ।
भदौ ९ गते सनाखतको लागि आयोगले बोलाएको छ ।’ उनले आफूहरु एमालेको पूनर्गठनमा लागेर नयाँ दल खोल्नुको कारण एमाले र माओवादी मिलेर प्राप्त गरेको ४७ लाख भोट जोगाउनु रहेको पनि जिकिर गरे । उनले भने,‘हामीले नयाँ दल दर्ता नगरेको भए सबै भोट विसर्जन हुने थियो । कम्युनिष्ट आन्दोलन र पार्टी ध्वस्त हुने पोजिसनमा पुग्नेथियो ।’
चौधरीले अब केपी ओली र नेमकिपाका नारायणमान बिजुक्छेबाहेकको बृहत्त कम्युनिष्ट पार्टी बन्ने र उक्त समाजवादी पार्टीको नेतृत्व माधव नेपालले गर्ने पनि खुलासा गरे । उनले भने,‘अब केपी ओली र नारायणमान बिजुक्छेबाहेकको बृहत्त कम्युनिष्ट पार्टी बनाउँछौं । यसमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायत सबै हुनुहुन्छ ।’ उनले आफूहरु र केपी ओलीपनि सँगै रहँदापनि नेकपा (एमाले) समाप्त हुने स्थिति रहेकोले नयाँ दल दर्ता गरेको स्पष्ट पारे ।
उनले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधान र कानूनसम्मत् रहेको पनि दाबी गरे । उनले भने,‘केपी ओलीले आफू प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश चाहीँ पार्टी, कम्युनिष्ट आन्दोलन, संविधान र कानून समाप्त गर्न ल्याईएको थियो । तर, अहिले आएको अध्यादेशले संविधान, लोकतन्त्र र कानून बचाउने काम गरेको छ ।’
उनले आफूहरुको पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने पनि दाबी गरे । उनले भने,‘नेकपा (एकीकृत समाजवादी) पार्टी यो देशको लार्जेष्ट पार्टी बन्छ । हामीसँग यसको रोडम्याप तयार छ । चार÷महिनासम्म हामी यही पार्टीको नाममा गतिविधि गर्छौं, त्यसपछि हामी केपी ओलीबाहेक सबै कम्युनिष्ट घटकहरुलाई एकताबद्ध बनाएर लैजान्छौं । यसको अगुवाई माधव नेपालले गर्नुहुन्छ ।’ उनले आफूहरु धेरै ठूलो चूनौति र जोखिम मोलेर यो कदम चालेको भन्दै कुनैपनि हालतमा सफल भएरै छाड्ने पनि बताए ।
उनले एमालेका दोस्रो पुस्ताका नेताहरुले एकताको लागि प्रयास गरेपनि उनीहरुको प्रयास र प्रयत्न खेर जाने दाबी गरे । उनले भने,‘जोसँग ईस्यु छ, मुद्दा छ, योजना छ, त्यही पार्टी नै लार्जेष्ट पार्टी हुन्छ । हामीसँग भीजन छ ।’ उनले केपी ओलीले नेतृत्व गरेको एमाले अब सुक्ने र समाप्त हुने दाबी गरे । उनले भने,‘केपी ओलीले चालेका कदम र लिएका निर्णय कसरी सही छन् ? उहाँले गरेका निर्णय सही छन् भनेर कसले जस्टिफाई गर्न सक्छ ? संसद् विघटन दुई दुई पटक गर्नुभयो । यो गलत हो नि ।’ उनले भीम रावलसहित दोस्रो पुस्तका नेताहरुले थालेको एकता अभियानको ईच्छा, उद्देश्य पवित्र भएपनि त्यो पूरा नहुने ठोकुवा गरे ।
उनले केपी ओली जिउँदो रहँदासम्म आफूमात्रै एक छत्र राज गर्ने सपना देखेको र आफ्ना गुटका मान्छेलाई मात्रै अवसर दिएको पनि सुनाए । उनले भने,‘अहिलेपनि हेर्नुहोस, उहाँले झापाका मान्छेलाई मात्रै अवसर दिनुभएको छ। केपी ओलीले कुनैपनि हालतमा एमालेलाई सग्लो राख्न दिनुहुँदैन् । केपी ओलीकै कारण पनि एमालेका दोस्रो पुस्ताका नेताहरुको पार्टी एकता गर्ने सपना पूरा हुँदैन् ।’
उनले माधव नेपालले चालेको स्टेप र लिएका निर्णयका कारण आज संविधान र संसद् बचेको दाबी गरे । उनले भने,‘यो देशलाई अस्थिरतातर्फ जान नदिनको लागि माधव नेपालले नै निर्णायक भूमिका खेल्नुभएको हो ।’ उनले निर्वाचन आयोगले दल दर्ताको सनाखत गर्ने बित्तिकै आफूहरु सरकारमा जाने पनि बताए । उनले दोस्रो पुस्ताका नेताहरु पनि आगामी बुधबारसम्म आफूहरुको कित्तामा आईसक्ने दाबी गरे । उनले भने,‘बम, गोला, बारुद पड्किएको बेला निकै थोरै मान्छे मात्रै फ्रन्टलाईनमा उभिन तयार हुन्छन्, निश्कर्षमा भन्नुपर्दा अहिले एमालेका दोस्रो पुस्ताका नेताहरु पनि ५ दिनभित्रै हामीहरुसँग आउनुहुन्छ ।’
उनले माधव नेपाललगायत आफूहरु १४ जना सांसदलाई पदमुक्त गर्ने भनेर एमालेले गरेको कारबाहीको कुनै औचित्य नभएको र कारबाही हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले संविधानमा भएको प्रावधान र सर्वोच्च अदालतको फैसलाले पनि आफूहरुलाई कारबाही हुन नसक्ने दाबी गरेका हुन् । उनले आफूहरुलाई कारबाही गर्ने क्षमता र ल्याकत एमालेसँग नभएको पनि टिप्पणी गरे । उनले भने,‘यो त कार्तिक÷मंसिरसमा पिसाब गर्दा खुट्टामा पर्दाको न्यानोमात्रै हो ।’ उनले बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गठबन्धनको तर्फबाट विश्वासको मत पाउने पनि दाबी गरे । राजधानी डेली डटकमबाट
चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जोखिम पत्रकारिता पुरस्कार प्रदान गर्ने भएकाे छ । जिल्लामा क्रियाशील २ जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने प्रेस चाैतारी चितवनले जनाएकाे छ ।
कोरोना भाइरसको संक्रमण, बाढी पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका २ जना पत्रकारलाई पुरस्कार दिने प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले निर्णय गरेको हो । पुरस्कारका प्रदान गर्न पत्रकार छनाैटकाे लागि ३ सदस्यीय समिति गठन गरिएकाे प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको समिति गठन गरिएको हाे । उक्त समितिले १ साता भित्र २ जना पत्रकारको नाम सिफारिस गर्नेछ । जाेखिम पत्रकारिता पुरस्कार प्राप्त गर्ने २ जना पत्रकारले जनही १०/१० हजार प्रा पुरस्कार पाउनेछन् ।
एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्व सचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले जोखिम मोलेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुलाई थप उर्जा दिनका लागि जोखिम पत्रकारिता पुरस्कारको संयोजक प्रेस चौतारी चितवनमार्फत गरेका हुन् । आगामी दिनमा यसलाई नियमित गरेर थप रकम संयोजन गरिने उनले जानकारी दिए ।
यस्तैं, बैठकले प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ । पत्रकारिता विषय लिएर स्नातक तह र पत्रकारिता विषयमा प्लस टू मा सबैभन्दा धेरै अंक ल्याएर जिल्ला प्रथम हुने १/१ जनालाई प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार हरेक बर्ष प्रदान गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कारको संयोजन पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गरेका हुन् ।

संगठनको बैठकले सुवास पण्डित अध्यक्ष रहने गरी १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । सचिवालयकाे सहअध्यक्ष कृष्ण आचार्य, गोविन्द घिमिरे, इन्दिरा दाहाल, मुकुन्द दाहाल, अमिर रामदाम, राजु थापा, धु्रबराज खनाल, विकास पौडेल, हेमराज रिमाल, सविता दराई, प्रदिप घिमिरे, अमृत काफ्ले, रामशरण गैह्रे र रविना पौडेल रहेको छन् ।
बैठकले पत्रकार मधुसुदन दवाडी र किशोर खनाललाई बागमती प्रदेश कमिटी सदस्यमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । चौतारीले रामबाबु सुवेदी, नारायण सापकोटा, कृष्ण गिरी, हरिप्रसाद पोखरेल, मुकुन्दराज दाहाल, मनोज विस्ट, सुरेश अधिकारी, सन्तकुमार चौधरी, विश्वास पौडेल सदस्यीय जिल्ला सल्लाहाकार चयन गरेको छ ।
यस्तैं, संगठनका निवर्तमान अध्यक्ष तीर्थ नेपाललाई संगठनको माथिल्लो कमिटीमा चयनका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । यस्तैं, पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई तथा प्रा.डा. शारदा थपलियाज्यूले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ र प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष कार्यविधी–२०७८ लाई सुझावसहित पारित गरेको छ ।
चितवनको पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेका, पत्रकारिताको माध्यमबाट जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गरेका, अशक्त, विपन्न, दलित, महिला, जनजातीहरुको उथ्थानमा विषेश भूमिका खेलेका र जिल्लाका पत्रकारहरुलाई समक्ष बनाउन विषेश योगदान गरेका सञ्चारकर्मी र सञ्चार संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कारको स्थापना गरिएको संगठनका अध्यक्ष सुवास पण्डितले बताए ।
यसैगरी पत्रकारितालाई मूल पेशा बनाई जिल्लामा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन, सम्मान र सहयोग गर्ने मुख्य उद्देश्य लिएर प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष स्थापना गरिएको छ । बैठकले संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । बैठकले संगठनको भवन निर्माणका लागि सहयोग गर्ने तथा कोरोना भाइरसको संक्रमणबाट पत्रकारलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष पण्डितले बताए ।
संगठनका सल्लाहाकर सुरेश अधिकारीले भवन निर्माणका लागि १५ हजार ५ सय ५५ र सचिवलाय सदस्य प्रदिप घिमिरेले ५ हजार सहयोग गरेका छन् । संगठनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सहसंयोजक शिशिर सिम्खडाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा केन्द्रीय सदस्य अनन्तप्रकाश सुवेदी, नवराज ढकाल, सल्लाहाकार मुकुन्दराज दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेललगायतले मतव्य राखेका थिए ।