मकवानपुर/बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे चयन हुने संभावना बलियो बनेको छ । यस अघि मुख्यमन्त्रीको दाबेदार रहेका नेपाली काँग्रेस मकवानपुरका सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनीया मुख्यमन्त्रीको होडबाट बाहिरिएपछि पाण्डेको संभावना बलियो बनेका हो ।
संघीय सरकारमा मन्त्रालयको भागबण्डाको क्रममा भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्रीको होडबाट बाहिरीएसँगै नवगठित एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संसदीय दलको नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग पक्का भएको हो ।
नेकपा एमालेको विभाजनसँगै एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि मुख्यमन्त्रीको रुपमा पाण्डे आउने भएका हुन् । उनी असोज ३० गतेसम्म मुख्यमन्त्री भैसक्ने दाबी गठबन्धनले गरेको छ ।
नेकपा एमाले विभाजनपूर्व मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी हुन् । यो संगै गठबन्धनको सहमतिमा पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारी अगाडि बढाइएको थियो । बागमती प्रदेशमा हाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ । गत २ भदौमा शाक्य मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् ।
सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार नेकपा एमालेको स्पष्ट बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् ।
बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । यस अघि नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएपनि अब गठबन्धनमा सहभागी भएपछि पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।
मुख्यमन्त्री शाक्यद्धारा विश्वासको मत लिन प्रस्ताव पेश
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव पेश गरेकी छन् । विश्वासको मत लिन शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव बुझाएका हुन् ।
शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छिन् । शाक्यले विश्वासको मत लिन प्रदेश सरकारले २४ असोजमा प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

मकवानपुर । नेापलमा पछिल्लो २४ घण्टामा ७ सय ६४ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।
शुक्रबार थपिएकाे काेराेना संक्रमित समेत नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ सय ९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ । यस्तै गत २४ घण्टाकाे अवधीमा १ हजार ३३ जना निको भएका छन् । याे सँगै ७ लाख ७४ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७ सय २८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १ सय ५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३ सय १३ जना आईसीयू र १ सय १३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २ सय ४१ जना क्वारेन्टिनमा छन् ।
यसैगरी मन्त्रालयका अनुसार १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यालय हेटौंडाकाे गौरीटारमा सारिने भएकाे छ । शुक्रबार सामाजिक विकास मन्त्री विजय सुवेदीले हेटाैडा ६ गौरीटारमा रहेको साढे ३ तल्ले भवनमा प्रदेश खेलकुद विकास परिषद्को कार्यालय शुभारम्भ गर्न उद्घाटन गरेका छन् ।
कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेशन वार्डको रुपमा प्रयोग गरिएको उक्त भवनलाई औपचारिक रुपमा पहिलो पटक प्रदेश खेलकुद विकास परिषद्को कार्यालय रहने गरी उद्घाटन भएको हो । भवनमा रहेको ३९ वटै कोठालाई कार्यालयले प्रयोग गर्ने परिषद्ले जनाएकाे छ । उक्त भवन संघीय सरकारको बजेटबाट बनेकाे हाे ।
उक्त भवनमा ९ वटा खेलकुदका प्रदेश स्तरका कार्यालय समेत रहने सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, एथलेटिक्स, तेक्वान्दो, कराँते, व्याडमिन्टन र स्विमिङ खेल कार्यालयलाई समेत १-१ कोठा कार्यालयका रुपमा प्रयोग गर्न उपलब्ध गराइने भएकाे हाे । कार्यालयको औपचारिक रुपमा शुक्रबार उद्घाटन गरिएको भएपनि हेटौंडा–४ मा रहेको कार्यालयमा रहेका सामानहरु दशैंपछि मात्र सारेर त्यसपछि मात्र कार्यालय गौरीटारबाट सञ्चालन हुने बताइएकाे छ ।
कार्यालय उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यद्वय माधव तिमल्सिना, कल्पना शर्मा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिति रहेको थियो ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
मन्त्रिपरिषद् विस्तारसँगै नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य एवं मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सांसद विरोध खतिवडा स्वास्थ्य मन्त्री बनेका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसंगै खतिवडा स्वास्थ्य मन्त्री बनेका हुन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।



कसैले मलाई बुझाइदेओस्, के मेरो थर नै मेरो जिन्दगीका महत्त्वाकांक्षाहरू, मेरो सीप, मेरो उद्देश्य र स्वयं मेरो परिचायक हो ? म मित्तल परिवारकी सदस्य हुँ र आफ्नै चाहनाको पेसामा आबद्ध भएर अघि बढ्न चाहन्छु । हाम्रो समुदाय र समाज, अझ भनूँ सिंगो देशले भोगिरहेका जटिल सामाजिक चुनौतीहरूलाई दिगो समाधान दिन सक्ने कार्यक्षेत्रमा आबद्ध भएर अर्थपूर्ण पेसागत जीवन बाँच्न सकूँ भन्ने हेतुले मैले विकाससम्बद्ध क्षेत्रमा काम गर्ने निधो गरेकी हुँ ।
यो बहुआयामिक क्षेत्रले सारपूर्ण कामका साथसाथै व्यक्तिगत र पेसागत विकासको अवसर तथा आर्थिक स्थायित्व पनि देला भनेर म यस क्षेत्रप्रति आकर्षित भएकी हुँ । अफसोस, काम गर्दै जाँदा सबै कुरा सुखद नहुने रहेछन् ।
विभिन्न कार्यक्रम तथा भेटघाटमा जब म आफूलाई मित्तलका रूपमा चिनाउँछु, मानिसहरूको एउटै प्रश्न तथा प्रतिक्रिया शैलीले मेरो मथिंगल खलबल्याइदिन्छ, ‘व्यापार–व्यवसायमा लाग्नुपर्ने तिमीजस्ती मान्छे, विकासे कार्यक्रममा के गरेर बस्दै छ्यौ ?’ थरका कारण नै म सम्पन्न व्यापारिक घरानाकी हुँ र मैले जागिर खाईखाई पैसा कमाइरहनु पर्दैन भन्ने मानसिकताले उनीहरूमा घर गरेको बुझ्न गाह्रो हुन्न ।
पेसागत जीवनमा मैले पटकपटक अत्यन्त जातिवादी, लिंगभेदी र स्त्रीद्वेषी प्रश्न र प्रतिक्रियाको सामना गर्दै आइरहेकी छु । मानौं यो क्षेत्रमा आबद्ध भएर मैले ठूलै पाप गरिरहेकी छु । जबकि यिनै गैससमा काम गर्नेहरू नै आफूलाई लैंगिक–जातीय समानता, समावेशिता, मानवाधिकार, महिला सशक्तीकरण तथा उनीहरूको आर्थिक स्वतन्त्रतालगायतको सबैभन्दा ठूलो हिमायती र अभियन्ता ठान्ने गर्छन् ।
अझ स्तब्ध त म त्यतिखेर हुन्छु, जब ‘रामराज्य निर्माण गर्ने अभियान’ मा लागेका यस्ता संस्थाका नाइकेहरू नै हुने–खानेकी श्रीमती भएकीले मैले काम गर्नु नपर्नेजस्ता महान् सुझावहरू सित्तैंमा बाँडिरहेका हुन्छन् ! नेपाली नागरिकको हैसियतले मैले संविधानप्रदत्त सम्पूर्ण अधिकार प्रयोग गर्दै स्वतन्त्र महिलाका रूपमा काम गरेर खान खोज्दा उनीहरूको टाउको किन दुख्छ ? पेसागत जीवन सुरु गरेयताका आठ वर्षमा मैले यस्ता कैयौं तीता अनुभवहरू गरिसकेकी छु ।
विद्यार्थी जीवनमा हासिल गरेको ज्ञान र क्षमतालाई चटक्कै बिर्सेर, गरिआएको पेसालाई तिलाञ्जली दिएर दिनहुँजसो किट्टी पार्टीमा रमाउने कैयौं कथित घरानियाँ महिलाहरू मैले देखेकी छु । चाहेमा म पनि त्यसो गर्न सक्छु तर गर्दिनँ । मेरो रुचि त्यो होइन । दिनरात नभनी मैले पढाइ र करिअरका लागि गरेको अथक मिहिनेत अर्थिक स्वतन्त्रताका लागि हो, जसले हरेकको जीवनमा धेरै ठूलो अर्थ राख्छ । झिनामसिना खर्चका लागि पनि आफ्ना श्रीमानसामु हात फैलाउनुपर्यो भने मेरो शैक्षिक योग्यताको के अर्थ ?
समाजमा पुरुषहरूले आफ्नो जीवनमा जेजति उपलब्धि हासिल गर्न सक्छन्, महिलाहरू पनि त्यसका लागि उत्तिकै समर्थ छन् । तर विडम्बना, संकीर्ण सामाजिक संरचनाले त्यसो गर्ने अनुमति दिँदैन । हरेक आवश्यकता पुरुषले पूरा गरिदिने हुनाले महिलाले काम गर्नु जरुरी छैन भन्ने रूढिग्रस्त मनोदशाबाट हाम्रो समाज अझै माथि उठ्न सकेको छैन ।
तर, विवाहपछि मैले श्रीमान्सँग कहिल्यै आफ्ना लागि आर्थिक मद्दत मागेकी छैन । बरु त्यसको बदला माया मागेकी छु । म काम गर्छु, किनकि मलाई त्यसमै आनन्द लाग्छ । श्रीमान्ले मलाई गर्ने माया मेरा लागि सर्वोपरि हो । उनीसँग जोडिएर आउने धनसम्पत्ति मेरा लागि गौण हो र यो मामिलामा म आफूलाई भाग्यशाली ठान्छु । बिनाकाम दिन काटेर बस्नु मेरा लागि सबैभन्दा कठिन काम हो । दिक्कलाग्दो दिनचर्याभन्दा व्यस्त दैनिकीले दिने थकान मेरा लागि प्रिय छ । व्यक्तिगत बिमाको किस्तादेखि आफूले लगाउने जुत्तासम्मका सम्पूर्ण खर्च म आफ्नै कमाइले गर्न सक्छु । यसका लागि म श्रीमान्को मुख ताक्दिनँ । म श्रीमान्कालागि आर्थिक बोझ हुन चाहन्नँ ।
जबजब म आफ्नै खर्चले आफ्ना बच्चाहरूका लागि खेलौना, किताब तथा परिवारका सदस्यहरूलाई उपहारहरू किन्छु, स्वअस्तित्वको बोधले मलाई व्यापक सन्तुष्टि दिन्छ । म काम गर्छु ताकि मैले आफ्ना व्यक्तिगत वस्तुहरूको किनमेलमा निस्कनुअघि हजार पटक खर्चबारे सोच्नु नपरोस् । म यसकारण पनि काम गर्छु ताकि श्रीमान्सँग बेलाबखत विवाद हुँदा बारम्बार उनले मलाई घरको आर्थिक भार वहन गरेकै कारण परिवारमा उनी सबैभन्दा महत्त्वपूर्ण हुन् भन्ने कुरा याद दिलाइरहनु नपरोस् । म काम गर्छु किनकि आफ्नो परिवारको भविष्य सुरक्षित राख्न चाहन्छु । आजको कुबेर भोलि कंगाल नबन्ला भन्ने कसलाई के थाहा ? कामले मलाई स्वतन्त्रता, आत्मविश्वास, बाहिरी दुनियाँसँग अन्तरक्रिया गर्ने अवसर र खुसी दिन्छ भने म किन नगरूँ ?
हाम्रो समाजमा काम गरेबापत पाइने पारिश्रमिक वा भनूँ तलब र कामबाट प्राप्त हुने आत्मसन्तुष्टिबीचको अन्तरसम्बन्धको बुझाइ असाध्यै कमजोर छ । त्यसैले हामी आपसी सम्बन्ध, रुचिको क्षेत्रमा काम गर्ने क्षमता तथा नेतृत्वका अवसरजस्ता गैरमौद्रिक स्रोतहरूबाट कामको सन्तुष्टि खोज्ने प्रयास गर्छौं । पेसागत जीवनको गरिमालाई हामीले मिहिन रूपले विश्लेषण गर्न र बुझ्न धेरै बाँकी छ ।
कामसँगै म बचत पनि गर्छु किनकि त्यस्तै वातावरणमा हुर्किएँ । घरपरिवार सम्हाल्नु मेरा लागि ठूलो काम हो र यसमा म दिनरात खट्न सक्छु । घरको सरसफाइ, भातभान्सा, तरकारी किनमेल, बगैंचा गोडमेललगायतका यावत् काम गर्दै आइरहेकी छु । भान्साको काममा केवल दुई घण्टा बिताउनु मेरो दैनिकी हो । र अर्को सत्य यो पनि हो कि, यी सारा जिम्मेवारीबाहेक म कानुनकी विद्यार्थी र पूर्णकालीन जागिरे पनि हुँ ।
साथीभाइ, आफन्त र अझ सहकर्मीहरूले नै जागिर मेरा लागि रहर वा समयकटनीको मेलो मात्र भएको ठान्दै आइरहेका छन् । त्यसैले पनि म जागिरे जीवनमा अझ गम्भीर रहँदै आएकी छु ताकि काम मेरा लागि समय बिताउने उपाय होइन, निष्ठा, पेसा र भविष्य हो भनी उनीहरूलाई बुझाउन सकूँ ।
मैले जागिरलाई केवल निजी खर्चको स्रोतका रूपमा लिएकी छैन । यो मेरा लागि आत्मसन्तुष्टि र क्षमताको उच्चतम उपयोगको एउटा कडी हो । म काम गर्छु किनकि मसँग यसका लागि चाहिने सीप, क्षमता र प्रतिभा छ । म काम गर्छु किनकि यसो नगर्दा मैलै आफ्नो सीप र क्षमताको उपयोग गर्नबाट आफैंलाई वञ्चित गराइरहेकी छु भन्ठान्छु । म आफ्नो ज्ञान, बौद्धिकता र क्षमतालाई कुनै पनि हालतमा खेर जान दिन्नँ, त्यसैले काम गर्छु ।
मित्तल परिवारकी छोरी हुनुमा मेरो दोष छैन । दोष र खोट त तिनीहरूको सोचमा छ जो विवाहित नारीलाई उसको श्रीमान्को थर र परिचयको घेराभित्र राखेर परिभाषित गर्न रुचाउँछन् र ऊभित्रका तमाम महत्त्वाकांक्षालाई पानीका फोकासरह मान्ने संकीर्ण मानसिकताबाट ग्रस्त छन् । इकान्तिपुरबाट साभार