मकवानपुर । आज बुधबार छठ पर्वको मुख्य दिन सुर्यकाे पुजा आराधना गरी मनाइदैछ । बुधबार साँझ अस्ताउँदो सूर्यकाे पूजा गरी अर्घ्य दिइन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ । छठ पर्व कार्तिक २२ गते सोमबारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन गरिन्छ ।
छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठ पर्वका देशभरका ताल पाेखरी नदी किनारा सजावट गरिएकाे छन् । मकवानपुरकाे हेटौँडा लगायत आसपासका सहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको बताइएको छ । हेटौँडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौंडाको राप्ती खोला तथा कर्रा खोला लगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको हेटौँडा छठ पूजा समारोह समितिले जनाएकाे छ ।
नेपालको तराई मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । छठ पर्वका अवसरमा सरकारले राज्यभर सार्वजनिक बिदा दिइएको छ ।
मकवानपुर । हेटाैडा उपमहनागरपालिका वडा नं. ११ नवलपुरमा यात्रु बहाक बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाैडा नारायणगढ सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा गए राती यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाडौ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ३० वर्षीय पुरुष र अर्का अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनीहरुको गएरातिनै हेटौंडा अस्पातलमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए । प्रहरीले ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई नियन्त्रणमा लिएको छ । यसैगरी दुर्घटनामा १८ जना घाईते भएका छन् । उनीहरुको हेटौंडा स्थित सहकारी अस्पताल मकवानपुर,चुरेहिल अस्पातल र हेटौंडा अस्पतालमा उपचार भईरहेको छ
मकवानपुर । सरकारले ३ जना प्रदेश प्रमुख पदमुक्त गरेकाे छ । अघिल्लाे सरकारले नियुक्त गरेका उनीहरुलाई सरकार परिवर्तन पछी पदमुक्त गरिएकाे हाे ।
सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।
३ नयाँ नियुक्ति
राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ नियुक्ति गरेकी छिन् । जसअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त भएका छन् ।
उनीहरुलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश संरचना पछीका ४ वर्षमा प्रदेश प्रमुख २४ जना
प्रदेश १
२०७४ माघ ३ मा तत्कालीन देउवा सरकारले प्रदेश १ को प्रदेश प्रमुखमा गोविन्दबहादुर तुम्बाहाङलाई नियुक्त गरेको थियो । २०७६ कात्तिकमा तत्कालीन ओली नेतृत्वको सरकारले तुम्बाहाङलाई पदमुक्त गरी सोमनाथ अधिकारी प्यासीलाई नियुक्त गरेकाे थियाे । देउवा सरकारले सोमबार मात्र प्यासीलाई हटाएर प्रदेश १ को प्रमुखमा परशुराम खापुङलाई नियुक्त गरेकाे छ । खापुङ समेत गरी प्रदेश १ मा ३ जना प्रदेश प्रमुख भएका छन् ।
प्रदेश २
२०७४ माघ ३ मा तत्कालीन देउवा सरकारले रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकाे थियाे । २०७६ कात्तिकमा तत्कालीन ओली नेतृत्वको सरकारले कायस्थलाई हटाएर तत्कालीन नेकपा निकट तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो । आफ्नै सरकारले नियुक्त गरेका परियारलाई पदमुक्त गरी राजेश अहिराजलाई ओली सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । अहिराजलाई पदमुक्त गर्दै देउवा सरकारले साउन ३२ गते हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकाे हाे । मिश्र समेत गरी प्रदेश २ मा ४ जना प्रदेश प्रमुख भएका छन् ।
बागमती प्रदेश
२०७४ माघ ३ मा तत्कालीन देउवा सरकारले बागमती प्रदेश प्रमुखमा अनुराधा कोइरालालाई पठाएको थियो । कोइरालालाई हटाएर २०७६ कात्तिकमा ओली सरकारले विष्णु प्रसाईलाई नियुक्त गरेको थियो । देउवा सरकारले गत भदौमा प्रसाईलाई बर्खास्त गरी यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखका रुपमा पठाएको छ । शर्मा समेत बागमती प्रदेशमा ३ जना प्रदेश प्रमुख भएका छन् ।
गण्डकी प्रदेश
२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गण्डकीमा बाबुराम कुँवरलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । कुँवरलाई पदमुक्त गरी २०७६ कात्तिकमा ओली सरकारले अमिक शेरचनलाई पठायो । तत्कालीन ओली सरकारले नै गत बैशाख २० मा माओवादी केन्द्र निकट शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई प्रदेश प्रमुखका रुपमा पठायो । पौडेललाई हटाएर देउवा नेतृत्वको सरकारले गत साउनमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखका रुपमा पठाएको छ । गुरुङ समेत गरी गण्डकी प्रदेमा ४ जना प्रदेश प्रमुख भएका छन् ।
लुम्बिनी प्रदेश
२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उमाकान्त झालाई लुम्बिनी प्रदेश प्रमुख बनाएर पठाएको थियो । २०७६ कात्तिकमा ओली सरकारले उनलाई हटाएर धर्मनाथ यादवलाई नियुक्त गरेको थियो । देउवा सरकारले यादवलाई पनि हटाएर गत साउनमा लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्ती गरेकाे छ । पठायो । गण्डकीका पूर्व प्रदेश प्रमुख शेरचन समेत गरी लुम्बिनी प्रदेशमा ३ जना प्रदेश प्रमुख भएका छन् ।
कर्णाली प्रदेश
२०७४ माघ ३ तत्कालीन देउवा सरकारले दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेकाे थियो । तर २०७६ कात्तिकमा ओली सरकारले खनाललाई हटाएर गोविन्दप्रसाद कलौनीलाई नियुक्त गरेको थियो । देउवा सरकारले सोमबार मात्र कलौनीलाई हटाएर कर्णाली प्रदेश प्रमुखमा तिलक परियारलाई पठाएको छ । प्रदेश २ को पूर्व प्रदेश प्रमुख परियार समेत गरी कर्णाली प्रदेशमा ३ जना प्रदेश प्रमुख भएका छन् ।
सुदूरपश्चिम प्रदेश
२०७४ माघ ३ तत्कालीन देउवा सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो । तर २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरेर शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो । ओली सरकारले नै ०७८ बैशाखमा त्रिपाठीलाई पदमुक्त गरी गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखका रुपमा पठाएको थियो । तर देउवा सरकारले सोमबार मात्र गंगाप्रसाद यादवलाई हटाएर सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकाे छ । जाेशी समेत गरी सुदूरपश्चिम प्रदेशमा ४ जना प्रदेश प्रमुख भएका छन् ।
मकवानपुर । मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपाका जिल्ला सदस्यसहित मकवानपुरगढी र इन्द्रसरोवरका विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा इन्द्रसरोवर–२ का राप्रपा जिल्ला सदस्य हरिकृष्ण सापकोटाका साथै मकवानपुरगढी–७ का मदन लामा, धावा लामा, ज्ञानबहादुर रुम्बा, मकवानपुरगढी–२ का १० जना रहेका छन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, प्रदेश सांसद देवीप्रसाद तिमल्सिना, मकवानपुरगढी–७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, मकवानपुरगढी-२ का वडा सदस्य रामप्रसाद पुडासैनी, संघीय सभापति यतिराज सापकोटा, मकवानपुरगढी गाउँपालिका सभापति राजबिर मोक्तान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान नगरसभापति आनन्दराम पराजुली लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा काेराेना संक्रमित थपिएका छन् । कुल १६ हजार ७ सय ३६ जनाकाे परीक्षणमा ५ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साेही अवधीमा थप ४ सय ८४ जना काेराेना संक्रमणमुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म ७ लाख ९६ हजार ३ सय ६ जना काेराेना संक्रमण निको भएका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ ।
देशभर हाल सक्रिय संक्रमित ७ हजार ६ सय १२ जना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३ सय ७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९ सय २६ जना पुगेको छ ।