मकवानपुर । हेटाैडा उपमहनागरपालिका वडा नं. ११ नवलपुरमा यात्रु बहाक बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाैडा नारायणगढ सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा गए राती यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाडौ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ३० वर्षीय पुरुष र अर्का अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनीहरुको गएरातिनै हेटौंडा अस्पातलमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए । प्रहरीले ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई नियन्त्रणमा लिएको छ । यसैगरी दुर्घटनामा १८ जना घाईते भएका छन् । उनीहरुको हेटौंडा स्थित सहकारी अस्पताल मकवानपुर,चुरेहिल अस्पातल र हेटौंडा अस्पतालमा उपचार भईरहेको छ

