मकवानपुर/बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले लक्ष्यित बर्गको सशक्तीकरणमा सबैले सहकार्य गर्नुपर्ने बताएकी छन् ।
नागरिकको सुरक्षाको लागि सरकारले लागू गर्दै आएको कार्यक्रममा बैज्ञानिक अवधारणा आवश्यक भएको मन्त्री मोक्तानले बताइन् । सामाजिक सुरक्षा नागरिक समाज सन्जालको आयोजनामा शुक्रबार हेटौंडामा भएको सामाजिक सुरक्षाको नीतिगत अवस्था र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री माेक्तानले यस्ताे बताएकी हुन् ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागका पुर्व महानिर्देशक बसन्तराज गौतम सामाजिक सुरक्षाको पाटोमा सरकारले लागू गर्दै आएको कार्यक्रममा आर्थिक दायित्व बढी भएको बताए । हाल नेपालमा ३२ लाखभन्दा बढी जनसंख्याको लागि चालू आवमा १ सय ८९ अर्ब बराबरको भार पुग्ने गौतमले बताए । तर अझै पनि लक्ष्यित बर्गमा रहेका मध्ये ४१ प्रतिशतको पहुँच पुगेको गौतमले बताए । गौतमले नेपालमा सामाजिक सुरक्षा र आर्थिक दायित्व बिषयमा प्रस्तुति गरेका थिए । प्राप्त गर्दै आएकाहरूले पनि राम्रै सहयताको आभाष गरेको गौतमले बताए ।
कार्यक्रममा बागमती प्रदेशको पुर्व सामाजिक विकास तथा राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले सामाजिक सुरक्षाको भक्ता बितरण गरेर सरकार टाटपल्टने भन्ने धारणा गलत भएको बताइन् । करलगायतको आम्दानीलाई व्यवस्थित गरेमा दायित्वको बोझ घट्ने श्रेष्ठले बताइन् । कार्यक्रममा स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालकी सबिना रानाभाटले अपाङ्गता भएकाहरूलाई सेवा लिने क्रममा दैनिक अफ्ठ्यारा भोग्नु परेको गुनासो गरिन । अपाङ्गता भए पनि शिक्षा आर्जन गरेकालाई रोजगारी व्यवस्था हुनुपर्ने उनले बताइन् । यातायातदेखि सेवा प्रदायक निकायमा शारीरिक अपाङ्गता भएकालाई बढी समस्या हुने गरेको उनले बताइन् ।

सामाजिक सुरक्षा भक्ता बितरणको प्रक्रिया अझै सरलीकरण गर्दै बैज्ञानिक ढंगले बितरण गर्दा पहुँच बढाउन सकिने सहभागीहरूले बताएका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेल, सामाजिक बिकास मन्त्रालय अधिकृत चन्द्रकुमारी व्यन्जनकारलगायतले सेवा प्रवाहको क्रममा बाधा फुकाउको लागि गरिदै आएको अनुभव सुनाएका थिए।
यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक चुडाकुमारी खड्काले पीडितलाई सेवा दिने क्रममा सेवामा सहजीकरण गर्न सिकाई भएको बताइन् । कार्यक्रम हेटौंडा उपमहानगरपालिका महिला विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, याेजना बजेट तथ्याङ्क महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना तथा माइती नेपाल मकवानपुर, जिल्लाका विभिन्न गैससहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जालले स्थानीय संयोजन गरेको सन्जालको सदस्य संस्था हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबाले बताइन् ।

मकवानपुर । नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराई मकवानपुरको मनहरीमा आउने भएका छन । बिहीबार नेकपा एमाले मनहरी गाउँ कमिटीको सपथ ग्रहणको लागि भट्टराई बुधबार नै मनहरीमा आउने कार्यक्रम तय भएको हो ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलन सकाएर भट्टराई मनहरी आउने एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले जानकारी दिए । एमाले मनहरीमा सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको थियो ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाद्वार बागमती प्रदेशका प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेश गरेकाे छ।
कार्तिक २९ गते साेमबार अख्तियार आयोगको हेटौंडा कार्यालयका प्रमुख अर्जुन कुमार शर्माले प्रदेश प्रमुख शर्मा समक्ष २१ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ उपधारा (३) अनुसार आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पादन गरेका काम कारबाहीहरु समेटेर तयार गरिएको ३१ औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरिएकाे हो।
आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ९ सय २९ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएकोमा ५ सय ११ वटा उजुरीहरू फच्यौट भएका छन् । जसमध्यमा २ सय ७३ वटा उजुरीहरु प्रारम्विक छानविनबाट तामेलीमा राखिएको अख्तियारको हेटौंडा कार्यालयकाे प्रतिवेदनमा उल्लेख छ ।
मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती’ भएकाे बताएका छन् । कार्तिक २९ गते साेमबार प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले प्रदेशमा नवगठित गठबन्धनको सरकारको उक्त निर्णय देशलाई गरिब बनाइराख्ने सोच र व्यबहारबाट निर्देशित भएको आरोप लगाएका छन् ।
‘सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टस्मा खर्च हुने अरबौं रुपैयाँ बचाउँने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्युनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाएको भन्ने खबरले मर्माहित र आक्रान्त बनाएको’ पाैडेलले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
‘पेट्रोलीयम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुने गरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्धा मजाक पनि हो । यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ” पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्यावासी एमाले सरकारले पाउँछ र देश एमालेमय बन्छ भन्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको यस्ता राष्ट्रविरोधी निर्णयको तिव्र र सशक्त विरोध जनाउन म आमनागरिकसँग हार्दिक अपिल गर्दछु ।
‘यो केवल राजनीतिक बेइमानी मात्र हैन राष्ट्रप्रतिको गद्धारी पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरु बनाउनुपर्ने सिधा र द्रुतमार्गहरु बनाउनै नहुने स्वार्थ बोकेका विदेशी ब्यापारीहरुको दास बनेर देशलाई गरिबनै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशीत यस्ता राष्ट्रघाती निर्णय सच्याउन र दीर्घकालीन रुपमा देशलाई फाइदा हुने यस्ता कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु’ पाैडेलले जारी गरेकाे उल्लेख छ ।

मकवानपुर । ‘हे दैव’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलको स्वरमा रहेको गितकाे म्यूजिक भिडियो शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई देखाइएको उक्त गितकाे भिडियो हेटौंडा उपमहानगरपालिका ६ नंबर वडा कार्यालयको सहयोगमा स्टेट भिजन प्रालिले तयार पारेको हो । गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक भिडियोमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष अर्जुनप्रसाद चौँलागाईले जनमानसमा कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सचेतना पुर्याउने र स्थानीय कला संस्कृतिको जगेर्णा गर्ने उदेश्यले सो म्यूजिक भिडियो निर्माण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए । सामाजिक उत्तरदायीत्वलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको सो भिडियोले वडावासीहरुमा मात्र नभई देशैभर एउटा सकारात्मक सन्देश प्रवाह हुने उनले बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल र स्टेट भिजन प्रालिका गिरिजा अधिकारीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै समाजप्रति सचेतना पुर्याउने उदेश्यले म्यूजिक मिडियो निर्माणमा सहयोग पुर्याएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे ।
बलराम पुडासैनीले सहजिकरण गरेको उक्त कार्यक्रममा संगीतकारहरु तुल्सी गौतम, प्रविन्द्र महर्जन, मनोज शाही, गायक उत्सव चौँलागाईलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।