मकवानपुर । बागमती प्रदेशसभाको बैठक नेकपा एमालेकाे अवराेध पछि स्थगित भएको छ । बुधबार बसेकोे प्रदेशसभा बैठक नेकपा एमालेको विरोधका कारण विहीबारसम्मको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बुधबारको प्रदेशसभा बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ वटा मन्त्रालयलाई १४ वटा बनाएर प्रदेशकै बदनाम गरेको भन्दै अवरोध गरेका थिए । बैठकमा पूर्व मुख्यमन्त्री डोरमणि पोडेलले वर्तमान सरकारले मन्त्रालय फुटाएर १४ पुर्याएकोमा आपत्ति जनाएका थिए । उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौती गरेकोमा पनि सरकारको विरोध गरेका छन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले अघिल्लो सरकारले अघि सारेको दुई योजना विद्युतीय बस खरिद सम्झौता र सुरुङ मार्ग निर्माणको योजना बजेट अभाव भन्दै हटाएको थियो । एमाले सांसदहरुले उक्त निर्णय फिर्ता हुनुपर्ने भन्दै बैठक अवरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक बिहिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित भवनमा पाँच वटा मन्त्रालयका साइनबार्ड देखिन्छन्। श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय एकै भवनमा छन्।
बाहिरबाट हेर्दा ठूलो भवनमा मन्त्रालयहरूका साइनबोर्ड चिटिक्क पारेर राखिएका देखिन्छन्। भवनभित्र भने काम गर्नै नसकिने अवस्था छ। कतिपय मन्त्रालय त केही कोठामा सीमित छन्।
भवन अभावले एउटैमा धेरै मन्त्रालय राख्नुपरेको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बताए। एउटै भवनमा एकभन्दा बढी मन्त्रालय राखिएपछि कोठा पनि कम भएको बताउँदै मन्त्री दाहालले भने, “श्रम मन्त्रालय तीन वटा कोठामा सीमित छ र साँघुरो गरी काम गर्नु परिरहेको छ।”
एउटै भवनमा धेरै मन्त्रालय भएपछि सबैलाई कोठा कम भएको छ। जसले गर्दा काम गर्न अप्ठ्यारो भएको कर्मचारी बताउँछन्। श्रम मन्त्रालयका सूचना अधिकारी राज पोखरेल भन्छन्, “मन्त्रालय तीन वटा कोठामा अटाइएको छ, कसरी प्रभावकारी ढङ्गले सेवा दिन सक्नु?”
बागमती प्रदेशमा सात मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाइएको छ। जसले गर्दा एउटै भवनमा पाँच मन्त्रालय राख्नुपरेको हो। पछिल्लो पटक मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा सहभागी दललाई भाग पुर्याउन आठ मन्त्रालयलाई टुक्र्याएर १४ बनाएका छन्। मुख्यमन्त्री पाण्डेले एउटै मन्त्रालयलाई तीन वटासम्म बनाएका छन्।
नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस सहभागी छन्।
एमालेबाटै टुक्र्याउने शुरूआत
बागमतीमा चार वर्षअघि नयाँ सरकार गठन हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सात मन्त्रालय थिए। डोरमणि पौडेलले राजीनामा दिएसँगै एमाले नेत्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि मन्त्रालय फुटाउन शुरू भएको थियो।
शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय पनि बनाएकी थिइन्। त्यसपछि आठ मन्त्रालय भएका थिए।
अहिले मुख्यमन्त्री पाण्डेले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई फुटाएर तीन वटा मन्त्रालय बनाएका छन्। उनले फेरि सामाजिक विकास मन्त्रालय फुटाएका छन्। त्यससँगै भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फुटाइएका छन्। १५ मंसीरमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आठ मन्त्रालय फुटाएर १४ बनाएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएका छन्। यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाइएका छन्। सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएका छन्।
मन्त्रालयसँगै आर्थिक भार थपियो
बागमती प्रदेशमा मन्त्रालय थपिएपछि आर्थिक भार पनि बढेको छ। मन्त्रालयको व्यवस्थापनमा लाग्ने प्रशासनिक तथा मन्त्रीको सचिवालय, पीए व्यवस्थापन, सल्लाहकार, यातायात, विद्युत्, पानी लगायत विभिन्न सुविधामा खर्च बढेको छ।
आर्थिक भार बढ्ने गरी मुख्यमन्त्री पाण्डे फेरि मन्त्री थप्ने तयारीमा छन्। उनले तीन पटक गरेर ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन्। फेरि तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए।
त्यससँगै, मन्त्री र मन्त्रालयका लागि ३० वटा सवारी खरीद गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि करीब १८ करोड खर्च हुने अनुमान गरिएको छ। यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयका लागि दुई वटा सवारी खरीद गर्न एक करोड २० लाख बराबरको स्रोत सुनिश्चित गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ। हिमालखबर डटकममा प्रकाशित समाचार साभार
मकवानपुर । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी उपाध्यक्षमा मकवानपुरका प्रेम बहादुर पुलामी(छिन्तु)चयन भएका छन्।
छिन्तुले १ सय ३८ मत पाएर विजयी भएका हुन्। ३ उपाध्यक्षको पदमा ८ जनाको उम्मेदवारी परेकोमा मकवानपुरका छिन्तु,रुपा मर्हजन र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १ सय ६२ मत ल्याए । गौतमले ८६ मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो । प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । उनले १ सय ४९ मत ल्याए ।
बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन।

मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबार ३४ जनामा गरिएको कोरोनाको पीसीआर परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा अहिले ३४ जना कोरोनाको सक्रिय संक्रमित छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देश भर थप २ सय २० जनामा कोरोना पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २ सय ६३ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको छ भने ८ लाख ९ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेकाेमा ४ हजार ९ सय ६४ जना होम आइसोलेसनमा र २ सय ६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगितामा एबीसी भेट्रान्स पोखराले नागस्वती भेट्रान्स हेटौंडालाई हराउँदै जीत हात पारेकाे छ । नागस्वती हेटौंडालाई २-१ गोल अन्तरले हराउँदै एबीसी पोखरा विजेता भएको हो ।
खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पुर्याएका थिए । खेलको दोस्रो हाफको २७ औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले १ गोल थपेपछि एविसी भेट्रान्सले उपाधि जित्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एबीसीका नरेन्द्रजंग गुरुङ हुनुभएको थियो ।
विजेता एबीसीले ट्रफि सँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ । यस्तै उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५ सय ५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ।
प्रतियाेगिता अन्तरगत विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कार प्रदान गरिएकाे छ । खेलको उत्कृष्ट गोल किपर एबीसीका सुर्य शर्मा, कोच एबीसीका सुरज गुरुङ, मिड फिल्डर एबीसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एबीसीका विश्वराज श्रेष्ठ भए भने उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित भएका छन् । उनीहरुलाई ट्रफि र जनही ५/५ हजार नगद सहित पुरस्कृत गरिएकाे छ ।
विजेता र उपविजेता लगायतलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए । पिप्ले युवा क्लबले निर्माण गर्दै गरेकाे खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलका कार्यक्रम संयोजक मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।