मकवानपुर । नेकपा एमाले मकवानपुर सहित ७७ जिल्लाकाे अधिवेशन पुष २३ गते शुक्रबारबाट हुने भएकाे छ । पुस २३ र २४ गते हुने देशभर हुने जिल्ला अधिवेशन अन्तर्गत मकवानपुर जिल्लाकाे पनि अधिवेशन हुने भएको हाे ।
विहीबार हेटौंडा-५ स्थित एमाले पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरको प्रचार विभाग प्रमुख नविन सिग्देलले पुष २३ र २४ गते हुने अधिवेशनको जानकारी दिए ।
उनले अधिवेशनको लागि जिल्लाभरबाट जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेको बताए । उनले अधिवेशनको लागि १० उपसमितिहरु निर्माण गरेर काम भईरहेको र भोलि बिहान सम्म सम्पूर्ण तयारी पुरा हुने बताए । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्माण गर्ने बताए । उनले सर्वसम्मतको तयारी भईरहेको र सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट अधिवेशन सम्पन्न हुने उनले बताए ।
यसै बीच एमाले अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागले जनाएकाे छ। एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो ।
मकवानपुर । गीतकार सुरेश वैद्यकाे मैले तिमीलाई हेरी दिए गीतकाे लिरिकल भिडियाे सार्वजनिक भएकाे छ । पुष २० गते मंगलबार गीतका कम्पाेजर हरि शरण सायमीकाे युटुब च्यानलबाट भिडियाे सार्वजनिक भएकाे हाे ।
दिपेश किशाेर भट्टराईकाे स्वर रहेकाे गीतकाे लिरिकल भिडियाेमा एरेन्जर दिपेश सिहले गरेका छन् । स्टिङ रेकर्डिङ स्टुडियाेमा २०६१ सालमा रेकर्ड भएकाे गीतकाे मगलबार सार्वजनिक लिरिकल भिडियाेकाे इडिटिङ राकेश मानन्धरले गरेका छन् ।
बैद्यकाे २०६१ सालमा दिलको पानामा गीति एल्बम सार्वजनिक भएकाे थियाे । उक्त एल्बममा समाबेश रहेकाे गीत मलाई बाेलाउनु पर्दैन पधेरेमाकाे म्युजिक भिडियाे समेत सार्वजनिक भइ सकेकाे छ । त्यसैगरी एल्बममा नै समाबेश एउटा गीत नेपाली चलचित्रमा समेत समावेश भएकाे गीतकार वैद्य बताउँछन् ।
मकवानपुर । सत्ता साझेदार गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाएकाे छ ।
पाँच दलीय गठबन्धनकाे साेमबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभामा रिक्त हुने सिटहरुमा आगामी १२ माघमा हुने निर्वाचनकाे लागि भागबण्डामा उम्मेदवार उठाउने निर्णय गरेको हो । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको बैठककाे निर्णय अनुसार नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
राष्ट्रियसभामा नेकपा एमालेकाे ८, कांग्रेसकाे ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ । सत्ता गठबन्धनमा भागबण्डा मिलेसँगै एमालेले आफ्नो ८ सीट जोगाउनुपर्ने चुनौती छ । पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।
मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन सकिए लगत्तै देउवाले केन्द्रीय सदस्यमा विधान बमाेजिम मनाेनित गरेका हुन् ।
कांग्रेस पार्टी विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार, सभापति देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
देउवाले पौडेलसँगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशनबाट १ सय ३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।
मकवानपुर । सवारी दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा बागमती प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेको छ ।
उपकरण सहयोगका लागि ५० लाख रुपैंया बजेट विनियोजन भएको केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । निर्देशनालयले प्यासेन्ट मोनिटर, अक्सिजन कन्सर्नट्रेटर, इसिजि मेसिन, व्हिल चियर, बेड, स्टेचर, अक्सिमिटर लगायतका उपकरण सहयोग गरिएको छ ।
सहयोग सामग्री हस्तान्तरण गर्दै मन्त्री निमा लामाले प्रदेशका ग्रामिण भेगसम्म सडक पूर्वाधारको विस्तार भईरहेको र दुर्घटनाको दर समेत बढेकाले दुर्घटनामा घाइतेहरुको जीवन रक्षाका लागि सहयोग गरिएको उपकरण उपयोगी हुने विश्वास व्यक्त गरे । उनले दुर्घटनाका घाइतेहरुलाई समयमै उद्धार र प्राथमिक उपचारका लागि मन्त्रालयले उपलव्ध गराएको उपकरणको सदुपयोग गर्न समेत सुझाव दिए ।
उनले आगामी दिनमा प्रदेशका सवारीको बढि चाप हुने सडकको प्रत्येक ५० किलोमिटरमा स्वास्थ्यकर्मीहरुको टिमसहित एम्बुलेन्सको व्यवस्था गरिने बताए । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार र सुदृढिकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सबल बनाउन निरन्तर सहजीकरण एवं सहयोगका लागि काम गरिरहेको र यसलाई निरन्तरता दिने बताउँदै सेवा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिईन् ।
स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, निक साइमण्ड इष्टिच्युटका कार्यकारी अधिकृत अनिलबहादुर श्रेष्ठ, विभिन्न स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।