मकवानपुर । आगामी फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधिसभा सदस्य तर्फकाे समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन राजनीतिक दलहरुले बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।
समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिनको समय निर्धारण गरिएको थियो । मंगलबार निर्वाचन आयोगले बन्दसूची बुझाएका दलहरुकाे चुजाव चिन्ह सहितकाे नामावली प्रकाशन गरेकाे छ ।
निर्वाचन आयोगका अनुसार ६४ वटा राजनीतिक दलले समानुपातिक तर्फकाे वन्द सूची पेश गरेका छन् । ६४ वटा राजनीतकि दलमध्ये ५४ वटा दलले आ-आफ्नो चुनाव चिन्हमा र १० वटा दलले ४ वटा एकल चुनाव चिन्हमा भाग लिने गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेस गरेकाे आयोगले जनाएकाे छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने गरी ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
समानुपातिक बन्दसूची बुझाउने दल तथा चुनाव चिन्ह यहाँबाट हेर्न सक्नुहुनेछः
PR_closed_listमकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले एकै मञ्चमा ६ जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे छ । मातृभूमिले मकवानपुरकाे हेटौंडामा पुष १९ गते शनिबार ‘स्रष्टा सम्मान, परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे हाे ।
मकवानपुर श्री सम्मान, २०८२ बाट सामाजिक अभियन्ता विश्व कान्ति कलावती सुमार्गी पराजुली सम्मानित हुने भएकी छिन् । यसैगरी मातृभूमि राष्ट्रिय पुरस्कार, २०८१ बाट साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम सम्मानित हुने भंएका छन् । २५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार गौतमलाई प्रदान गर्न लागिएकाे समाजका सचिव किशन पौडेलले बताए ।
यसैगरी नित्य गोविन्द स्मृति-मातृभूमि सङ्गीत पुरस्कार, २०८१ गायिका कुन्ती मोक्तानलाई सम्मानित गरिने भएकाे छ । २५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार नेपाली सुगम संगीतकी सुप्रसिद्ध गायिका मोक्तानलाई प्रदान गरिने पौडेलले जानकारी दिए । यस्तै २१ हजार रुपैयाँ राशीकाे मायादेवी मातृभूमि पुरस्कार, २०८१ नियात्राकार भवानी खतिवडा, १५ हजार रुपैयाँ राशीकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०८१ बाट युवा कवि रोशन परियार तथा १० हजार रुपैयाँ राशीकाे शारदा उप्रेती स्मृति मातृभूमि सम्मान २०८१ बाट कला-साधक जीवन के.सी. सम्मानित हुने उनले जानकारी दिए ।
सचिव पौडेलका अनुसार समाजले आगामी शनिबार सम्मानसहित नारी स्रष्टा र सिर्जना परिसंवाद तथा नारी स्रष्ट्रा विशेष रचना वाचन कार्यक्रम समेत गर्नेछ । नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएकाे मातृभूमि साहित्य समाजले विभिन्न विधामा १७ वटा पुरस्कार एवम् सम्मान प्रदान गर्दै आइरहेको छ ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बिच सहमति भएको छ । आज (आइतबार) बिहान ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदामा सहमति भएको हो ।
रास्वपाका सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन साहलाई अघि सारिएको छ ।
सहमति पत्र

रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । गत हप्ता सोमबारदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो ।
यो सहमतिसँगै रास्वपा सभापति रवि लामिछानेले सहमति हुँदाको फोटो सामाजिक सञ्जाल फेसबूक राख्दै लेखेका छन् ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’
बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो फेसबूकमै शेयर गर्दै ‘शुभप्रभात’ लेखेका छन् ।

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिध सभा निर्वाचनकाे लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेकाे छ । मकवानपुरकाे २ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारकाे नाम सिफारिस गर्दा विरोध खतिवडाकाे नाम दुवै तिर अटाएकाे छ ।
जिल्लाकाे क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ सिफारिस भएकामा पुराना नेता खतिवडा, संविधान सभा सदस्य प्रल्हाद लामिछाने, युवा नेता विजय गौतमसम्म छन् । वाम घटकहरुकाे एकतामा नेकपामा समेटिएका खतिवडाले विगतमा पटक पटक सांसदमा प्रतिनिधित्व गरेका छन् । यसैगरी विद्यार्थी राजनीतिबाट आएका गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन्।
क्षेत्र नम्बर १ बाट वहालवाला जनप्रतिनिधि सहित १३ जनाकाे नाम आगामी निर्वाचनकाे लागि उम्मेदवार सिफारिसमा परेका छन् । सिफारिस हुनेमा खतिवडा, गौतम र लामिछानेसहित घनप्रसाद गौतम, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ रहेका छन्। सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान रहेका छन्।
त्यसैगरी पुर्व सांसद खतिवडाको नाम क्षेत्र नम्बर २ बाट पनि सिफारिसमा परेकाे छ। मकवानपुर २ बाट वहालवाला जनप्रतिनिधिसहित ८ जनाको नाम उम्मेदवारमा सिफारिस गरिएकाे छ । खतिवडासहित रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती , किशोर बर्तौलाको नाम सिफारिस छ। त्यस्तै सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम् थिङ् रहेका छन् ।
यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी , लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान सिफारिस भएका छन्। समानुपातिक तर्फकै विभिन्न क्लस्टर अन्तर्गत सिफारिस हुनेमा कृष्ण चेपाङ , रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरे रहेका छन्।
मकवानपुर । जेसीआई हेटौंडा वर्ष २०२६ अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था जेसीआई हेटौंडा शाखाकाे शनिबार नेतृत्व चयनका लागि भएको निर्वाचनमा पराजुलीकाे प्यानल नै विजयी भएकाे हाे ।
शनिबारकाे अधिवेशनमा आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई २९ मत अन्तर पराजित गर्दै पराजुली विजयी भएका हुन् । पराजुलीले १ सय ७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ७८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल १ सय ८७ मत खसेकोमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षसँगै पराजुलीको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार तथा उपाध्यक्षमा विवेक बानिँया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसीआईको मर्मअनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसीआई हेटौंडालाई थप उचाइमा पुर्याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् ।
जेसीआईले लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्दै आएकाे छ ।