मकवानपुर । आज माघ १६ गते । प्रत्येक वर्ष माघ १६ गते ज्ञात अज्ञात शहीदहरुकाे सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएकाे हाे ।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहकाे कार्यक्रमका साथ सहिद दिवसमा विविध कार्यक्रम हुँदै आएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
माघ १६ गते आइतबार सहिद दिवसका अवसरमा सघ प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरि मनाउने छन् । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा राष्ट्रिय सहिद स्मारक गोकर्णेश्वरमा निर्माण भइरहेको छ । काठमाडाैकाे शहीदगेटमा सरकारकाे तर्फबाट विशेष कार्यक्रम गरी दिवस मनाइने गरिएकाे थियाे । अहिले भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहिदगेट भने विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । हेटाैडकाे शहीद स्मारकमा रहेकाे शहीदकाे स्मारकमा समेत शहीदकाे सम्झनामा कार्यक्रम गर्ने गरिकाे छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री प्रदेशका प्रदेश प्रमुख लगायत मन्त्रीहरु तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी भएर गरिने कार्यक्रमहरुमा शहीदकाे सम्झनामा माैन धारण गर्ने प्रचलन रहे पनि अरु समयमा शहीदलाई सम्झने र श्रद्धाञ्जलि अर्पण गर्ने गरेकाे पाइदैन् । शहीद स्मारक पार्कहरु सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थलमा हुने गरेका छन् । शहीदको स्पष्ट परिभाषा नभएकाे अवस्थामा पछिल्लो समय जोसुकैलाई घोषणा गरिँदा सहिदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।
ज्ञातअज्ञात अमर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण
राष्ट्रपतिद्वारा विद्यादेवी भण्डारीले ज्ञातअज्ञात अमर शहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् शहीद दिवस, २०७८ को अवसरमा एक सन्देश दिदै राष्ट्रपति भण्डारीले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेकी छिन् ।
उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
सहिद दिवस, २०७८ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रूपान्तरणका लागि अहोरात्र संघर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन् ।
शहीद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले वि.सं. २००७ सालको एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२र६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात शहीद प्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र प्राप्तिको संघर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले यस दिवसले सहिदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले सहिदले आम नेपालीलाई रैतीबाट नागरिक बनाउन, मुलुकमा राजनीतिक सामाजिक परिवर्तन ल्याउन तथा नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न तुल्याउन गरेको उच्च योगदानको कदर गरेका छन् । उनले मुलुकमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहुति दिने महान् शहीद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउने सम्पूर्ण ज्ञात–अज्ञात शहीदमा श्रद्धासुमन अर्पण गरेका छन् ।
मकवानपुर । सत्तारुढ गठबन्धन दलका नेताहरु २०७९ साल जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।
यसअघि २०७९ फागुन महिनामा निर्वाचन गर्ने समझदारीमा सत्तगठबन्धनका ५ दल पुगेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठमै चुनाव गर्न तयार भएका हुन् ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको थियो ।
तर सत्तारुढ दलका नेताहरु भने स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा रहेको भन्दै स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकाले संशोधन गरेर निर्वाचन फागुनमा सार्ने मनस्थितिमा थिए ।
मकवानपुर । २० औं आहा रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले पराजीत गर्दै गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि जित्न सफल भएको छ ।
शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटममा पराजित गर्दै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो ।
पेनाल्टी सुटआउटमा मनाङका ओला वालेले हानेको पेनाल्टी एपीएफका जापानी गोलकिपरले बचाएपछि एपीएफले ५-४ ले खेल जितेको थियो । उपाधि सहित एपीएफले १० लाख रुपैयाँ पुरस्कारस्वरूप पाएको छ भने उपविजेता मनाङले ५ लाख पाएको छ ।
मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।
मीना चौलागाईं
पहाडको एउटा छेउमा
गजधम्म परेर बसेको
ढुङ्गा जस्तै ढुङ्गा हुँ म
कसैलाई विश्राम लिनु परे
छाती थापिदिन्छु
बाटाे हिँड्नेले
ममाथि बुट बजार्दा पनि
चुपचाप बसिदिन्छु
हत्याराहरू आउँछन्
खुकुरी उदाउँछन्
मेरै शिरमाथि
आवाराहरू आएर
घन बजार्छन्
मेरो मेरुदण्दमाथि
वर्षौंदेखि
असिना सहेको छु
आँधीहुरी सहेको छु
गर्मी जाडो सहेको छु
तैपनि
हेर त कान्छा
म कत्ति विचलित छैन
पल्लाघरे साहिँली दिदी
मसँग दु:ख बिसाउँछिन्
माथ्लाघरे माहिली भाउजू
आएर टाउको ठोक्छिन्
तल्लाघरे अन्तरी आमा
ममाथि आँशुको भल
बगाउँछिन्
म त ढुङ्गा न हुँ
कसैको पिरले
मलाई के छुन्थ्यो र
म सबैको व्यथा
टुलुटुलु हेर्न मात्रै सक्छु
सदियौँदेखि पुरुषहरूले
आफ्नो दास बनाएर
चाहेअनुसार
प्रयोग गर्दैआएका
कठपुतली न हुन् नारी
दु:ख सुनिदिने
समस्या बुझिदिने
आखिर को नै छ र
समयले कोल्टे फेर्यो
विकासले गति लियो तर
पुरुष मन फेरिने कहिले
नारामा जस्तै समानता
हुने कहिले
मान्छे मान्छेमा विभेद
देख्ने आँखा
फेरिने कहिले
रुनु हुँदैन आमा
विचलित हुनु हुँदैन भाउजू
आफूलाई कमजोर
देखाउनु हुँदैन दिदी
हामी त सृष्टि हौँ
जब मूल सुक्छ
अनि थाहा हुन्छ
तिर्खा के हो
अहिले त
मान्छे हुनुभन्दा
आफूलाई ढुङ्गा
बनाउनुस्
जब कि सबै चोट
सहन सजिलो होस्
त्यसैले म बनेको हुँ ढुङ्गा
ताकि भोलि मलाई
टुक्र्याउन खोज्नेले नै
मैमाथि आँसु बगाउनु परोस्
रुँदै टाउको ठोक्नु परोस्
र माफी माग्नु परोस्
अनि माटो भएर
ढुङ्गाको भर खोज्नु परोस्
त्यसैले म ढुङ्गा
ठ्याक्कै ढुङ्गाजस्तै ढुङ्गा !
पाँचखाल, काभ्रे
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन चाँडै गर्ने बताएका छन् । शनिबार बालुवाटारमा बसेको सत्तारुढ ५ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने तर निर्वाचन चाडै गर्ने प्रस्ताव राखेका छन् ।
स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सत्तारुढ ५ दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए ।
तर स्थानीय निर्वाचन टार्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्रीलाई पत्र पठाएर दबाव दिएकी छन् ।
यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामति कर्मचारी संगठनलाई सम्बोधन गर्दै उनले आफूहरुलाई निर्वाचनमा जानबाट डरायो भनी भ्रम छर्ने काम भइरहेको बताए । ‘हामी चुनावसँग आत्तिएका छैनौं, चुनाव वैशाखमै हुन्छ भने पनि सामना गर्न तयार छौं’, उनले भने ।
उनले संविधानको व्यवस्थाबमोजिम नै चुनावको मिति तोक्नेबारे छलफल भइरहेको तथा आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।
यस्तै नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक आन्दोलनको तयारी सुरु गरेको छ । आन्दोलन तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । बैठकमा आन्दोलन तयारीको विषयमा छलफल हुने बताइएको छ ।