मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन चाँडै गर्ने बताएका छन् । शनिबार बालुवाटारमा बसेको सत्तारुढ ५ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने तर निर्वाचन चाडै गर्ने प्रस्ताव राखेका छन् ।
स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सत्तारुढ ५ दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए ।
तर स्थानीय निर्वाचन टार्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्रीलाई पत्र पठाएर दबाव दिएकी छन् ।
यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामति कर्मचारी संगठनलाई सम्बोधन गर्दै उनले आफूहरुलाई निर्वाचनमा जानबाट डरायो भनी भ्रम छर्ने काम भइरहेको बताए । ‘हामी चुनावसँग आत्तिएका छैनौं, चुनाव वैशाखमै हुन्छ भने पनि सामना गर्न तयार छौं’, उनले भने ।
उनले संविधानको व्यवस्थाबमोजिम नै चुनावको मिति तोक्नेबारे छलफल भइरहेको तथा आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।
यस्तै नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक आन्दोलनको तयारी सुरु गरेको छ । आन्दोलन तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । बैठकमा आन्दोलन तयारीको विषयमा छलफल हुने बताइएको छ ।

