मीना चौलागाईं
पहाडको एउटा छेउमा
गजधम्म परेर बसेको
ढुङ्गा जस्तै ढुङ्गा हुँ म
कसैलाई विश्राम लिनु परे
छाती थापिदिन्छु
बाटाे हिँड्नेले
ममाथि बुट बजार्दा पनि
चुपचाप बसिदिन्छु
हत्याराहरू आउँछन्
खुकुरी उदाउँछन्
मेरै शिरमाथि
आवाराहरू आएर
घन बजार्छन्
मेरो मेरुदण्दमाथि
वर्षौंदेखि
असिना सहेको छु
आँधीहुरी सहेको छु
गर्मी जाडो सहेको छु
तैपनि
हेर त कान्छा
म कत्ति विचलित छैन
पल्लाघरे साहिँली दिदी
मसँग दु:ख बिसाउँछिन्
माथ्लाघरे माहिली भाउजू
आएर टाउको ठोक्छिन्
तल्लाघरे अन्तरी आमा
ममाथि आँशुको भल
बगाउँछिन्
म त ढुङ्गा न हुँ
कसैको पिरले
मलाई के छुन्थ्यो र
म सबैको व्यथा
टुलुटुलु हेर्न मात्रै सक्छु
सदियौँदेखि पुरुषहरूले
आफ्नो दास बनाएर
चाहेअनुसार
प्रयोग गर्दैआएका
कठपुतली न हुन् नारी
दु:ख सुनिदिने
समस्या बुझिदिने
आखिर को नै छ र
समयले कोल्टे फेर्यो
विकासले गति लियो तर
पुरुष मन फेरिने कहिले
नारामा जस्तै समानता
हुने कहिले
मान्छे मान्छेमा विभेद
देख्ने आँखा
फेरिने कहिले
रुनु हुँदैन आमा
विचलित हुनु हुँदैन भाउजू
आफूलाई कमजोर
देखाउनु हुँदैन दिदी
हामी त सृष्टि हौँ
जब मूल सुक्छ
अनि थाहा हुन्छ
तिर्खा के हो
अहिले त
मान्छे हुनुभन्दा
आफूलाई ढुङ्गा
बनाउनुस्
जब कि सबै चोट
सहन सजिलो होस्
त्यसैले म बनेको हुँ ढुङ्गा
ताकि भोलि मलाई
टुक्र्याउन खोज्नेले नै
मैमाथि आँसु बगाउनु परोस्
रुँदै टाउको ठोक्नु परोस्
र माफी माग्नु परोस्
अनि माटो भएर
ढुङ्गाको भर खोज्नु परोस्
त्यसैले म ढुङ्गा
ठ्याक्कै ढुङ्गाजस्तै ढुङ्गा !
पाँचखाल, काभ्रे

