मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले मानव सेवा आश्रममा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । आँखा अस्पतालले मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा आयोजना गरेकाे शिविरमा आश्रममा रहेका १ सय ४३ जनाले सेवा लिएका थिए ।
जसमध्येे १६ जना मोतिविन्दुका बिरामीहरु पाईएको छ । मोतिविन्दुका बिरामीहरुलाई आँखा अस्पताल हेटौंडामा निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएकाे छ । आँखा अस्पतालका नेत्र सहायक कष्णराज ढुंगानाको नेतृत्वमा गएको समुहले आँखा जाँच गरेको थियो । टोलिमा हिमालायन क्याट¥यक्ट प्रोजेक्टका अमेरिकी नेत्ररोग विशेषज्ञ डा. न्याट पनि सहभागी थिए ।
मानव सेवा आश्रमले खुला आकाशमुनी सडक जीवन बिताउन विवश घरबार बिहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरेगी, अनाथ, अपांग, अशक्त असाहयहरुलाई संरक्षण प्रदान गर्दै आउनुका साथै यस्ता मानिसहरुको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।


मकवानपुर । मकवानपुर प्रहरीले ८ किलो लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–७ का २९ वर्षीय सुमिन्द्र कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बधुबार बिहान साढे ११ बजेकाे समयमा मकवानपुरकाे राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५, चैनपुरमा सुरक्षाजाँच गर्ने क्रममा दर्जीले लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
दर्जीलाई लागुऔषध गाँजासहित पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाली काँग्रेस मकवानपुर जिल्लाको अधिवेशन र निर्वाचन हुने निश्चित भएपछि सभापती प्रत्यासीहरुले चुनावी माहाेल बनाउने कसरत थालेका छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाेले दाबेदारका रुपमा रहेकाे सभापति उमेदवारहरुले चुनावी माहोल तताउन थालेका हुन् ।
सभापति पदका बलियो दाबेदारका रुपमा देखिएका आनन्दराम पराजुलीले मकवानपुरको उत्तरी क्षेत्रमा प्रचारप्रसारलाई तिव्रता दिएका छन् । पराजुलीको प्रतिस्पर्धीका रुपमा रहेका अर्का प्रत्यासी जयराम लामिछानेको गृह इलाकामा पराजुलीले बुधबार पदाधिकारी र सदस्यका प्रत्यासीहरु सहितकाे टोलीले प्रचार प्रसार गरेका छन् ।
संस्थापन इत्तर पक्षबाट सभापतिको प्रत्यासी बनेका लामिछानेको इलाका मानिने थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाबाट मत आफूतिर तान्न कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा/गाउँ/क्षेत्रका सभापतिसँग भेटघाट र प्रचारप्रसारमा जोड दिएका हुन् । संघीय क्षेत्र नम्बर २ मा पर्ने उत्तरी क्षेत्र इलाकामा २०७० को निर्वाचनमा लामिछाने काँग्रेसको तर्फबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।
बुधबार चुनावी प्रचारप्रसारको क्रममा लामिछानेको प्रभाव बलियो मानिने इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाको पालुङ, दामन, टिस्टुङ क्षेत्रमा पराजुलीले कार्यकर्तामाझ मत माग्दै भेला कार्यक्रमसमेत आयोजना गरेका छन् । आफु सभापतिको दाबेदार भएकाले जिल्लाको सबै क्षेत्रका मतदातामाझ पुग्नुकाे लागि उत्तरी क्षेत्रकाे थाहा नगरपालिका र ईन्द्र सराेवर गाँउपालिकालाई पनि समेटेको पराजुलीले बताए ।
सभापतिका प्रत्यासी पराजुलीले बिहीबार बिहान थाहामा कार्यकर्ता भेला कार्यक्रम सम्पन्नपछि हेटौंडा फर्किने र फागुन १३ गते शुक्रबार आफ्नो टीमसहित उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

‘गुटकाे नभइ विचारकाे राजनीति गर्छु’ लामिछाने
मकवानपुर काग्रेसका जिल्ला सभापति पदका प्रत्यासी जयराम लामिछानेले गुटको नभइ विचारको राजनीति गर्ने बताएका छन् ।बुधबार हेटौंडामा प्रजातान्त्रिक एवम् लोकतान्त्रिक बिचार बोकेका बुद्धिजीवि व्यक्तिहरु र शुभेच्छुक संस्थाहरुका प्रतिनिधिसँग छलफल तथा विचार संकलन कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । कार्यक्रममा लामिछानेले कांग्रेसमा विचारकाे राजनीति गर्ने बताउँदै र समृद्ध कांग्रेस सुखी नेपाली बनाउने सम्बन्धमा सहभागीहरुसँग राय सुझाव संकलन समेत गरेका छन् ।
कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य ह्याग्रीब आचार्यले अहिलेका कांग्रेसीहरुले विपिको नाम सुनेको तर उनको बिचार र सिद्धान्तहरु अनुसरण नगरेको बताएका छन् । आचार्यले कांग्रेस मकवानपुरले आगामी दिनहरुमा हरेक कांग्रेसीको हातमा विपिको किताब बाढ्नुपर्ने सुझाव दिएका छन् ।
यसैगरी डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले मकवानपुरमा कांग्रेसको स्थापना हुँदा २५ जनाबाट सुरु भएको थियो भने आजको दिनसम्म ७० हजारको हाराहारीमा पुग्दा पार्टीको आकार बढेको तर विचारको आकार भने पहिल्यै जस्तो रहेको बताए ।
त्यसतै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पनि मकवानपुरमा कांग्रेसको विकासका लागि आफूले सरसल्लाह, सुझाव र सहयोग सदैव गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा अधिवक्ता कृष्ण प्रसाद छत्कुलीले चुवान अघि हामीलाई भेट्न आउने, चुनावपछि हामीलाई भेट्न नचाहने कांग्रेसको नेताहरुकाे बानी रहेकाे बताए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकल, कांग्रेस नेतृद्वय उमा दाहाल, रिता खनाल, कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको उपस्तिथि रहेको थियो भने कांग्रेस मकवानपुरका शुभेच्छुक संघसंस्थाहरुका प्रतिनिधिहरुले आफ्नो छोटो धारणा राख्दै लामिछानेलाई जितको लागि शुभकामना समेत व्यक्त गरेका थिए । साथै लामिछानेले रायसुझाव दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै राय सुझावको अपेक्षा गरेको बताएका छन् ।
हालसम्म सभापतिका उम्मेदवार लामिछानेको प्यानलमा उपसभापतिको लागि आनन्द कठायत, धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक र सहसचिवमा इन्दिरा न्यौपानेले उम्मेदवारी दिइसकेका छन् ।
मकवानपुर । युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।
त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अत्यावश्यक बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत नेपालीहरुलाई मन्त्रालयले अनुरोध गरेको छ । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै सचेत हुन समेत आग्रह गरेको छ।
युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको परराष्ट्रले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिन र मस्कोमा सम्पर्क गर्न सक्ने परराष्ट्रले बताएको छ ।
रुसले युक्रेनबाट अलग हुन संघर्षरत दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिएपछि युक्रेनी सीमामा तनाब बढेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेका यी दुई ओब्लास्ट क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदमविरुद्ध पश्चिमा देशहरु छन् । यही तनाबका कारण दुई देशबीच युद्ध हुने आंकलनहरु भइरहेका छन् ।
यसै बीच युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।
यस प्रस्तावनालाई ४ सय ५० मध्ये ३ सय २२ जना विधायकले समर्थन गरेकाे अन्तराष्ट्रिय संचार संस्था सिन्ह्वाले जनाएकाे छ । प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानूनी स्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु रहेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । २ छुट्टाछुट्टै स्थानमा भएकाे मोटरसाइकल दुर्घटनामा परेर २ जनाको ज्यान गएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । हेटाैडा १९ दारिमटारमा भएकाे माेटरसाइकल दुर्घटनामा स्थानीय सुदिप तितुङ र इन्द्रसराेवर २ मा भएकाे माेटरसाइकल दुर्घटनामा दाेर्जे लामाकाे मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत हेटौंडा-मनहरी सडकखण्डको हेटौंडा १९ दारिमटारमा बस्तिपुरबाट नेवारपानी तर्फजाँदै गरेकाे बागमती प्रदेश ०३-००५ प-१५०३ नम्बरको मोटरसाइकल ना.५ त ७३३८ नम्बरको ट्रयाक्टरसँग ठोक्किंदा माेटरसाइकल चालक स्थानीय १७ वर्षीय तितुङको मृत्यु भएको हाे । दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौंडा-फाखेल-काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-२ मा काठमाडौंबाट आउँदै गरेको बा.५७ प ८५७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकल चालक ३३ वर्षीय लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।