मकवानपुर / आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले चुनावी प्रचारप्रसारको काम तिब्र बनाएको छ । हेटौंडा–४ मा नेकपा एमालेको वडा कमिटीले ५ वैशाखदेखि नै चुनावको प्रचार प्रसार अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाबाट अधिकांश वडाहरुबाट सिफारिस भएर आएका एमालेका उम्मेदवारहरुको नाम टुङ्गो लाग्न बाँकी रहँदा सर्वसम्मत उम्मेदवार टुङ्गो लगाएको हेटौंडा–४ मा भने चुनावी प्रचार गर्न थालिएको हो । नेकपा एमालेबाट हेटौंडा–४ का वडा अध्यक्षका उम्मेदवार तथा हालका समेत वडा अध्यक्ष नविन सिग्देलले आइतबार बिहान ७ बजे कर्रा चोकमा जम्मा भएर घरदैलो कार्यक्रम सुरु गर्ने जानकारी दिए ।
शनिबार हेटौंडा–४ मा भएको एमालेको वडा स्तरिय कार्यकर्ता भेला तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले वडा तहबाट सर्वसम्मत नाम सिफारिस भएका उम्मेदवारहरुको नाम परिवर्तन नहुँने भएकाले सर्वसम्मत हुनुभएकाहरुले चुनावी प्रचारको अभियानमा होमिन निर्देशन दिए ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले हामीले हाम्रो समाजलाई इन्द्रेणी जस्तै बनाउने अभियानमा लाग्नुपर्ने बताए । वडा स्तरबाट नै इन्द्रेणीका रंगहरु झैं सबै नागरिक सुखी, खुसी, समृद्ध तथा आधारभूत आवश्यकताहरु पूरा हुनेगरी काम गर्न सक्षम नेतृत्वलाई जनताले रुचाउने उनको भनाई छ ।
उनले जेष्ठ नागरिकलाई सम्मान, साना बालबालिकालाई उचित स्नेह, रोजगारी, स्वास्थ्य, शिक्षा, खेलकुुदलगायतका क्षेत्रमा सबैको हित हुनेगरी काम गर्न एमालेको सरकार र एमालेका प्रतिनिधीहरुले मात्र सक्ने दाबी गरे ।
उनले आगामी निर्वाचनमा हेटौंडा नगरमा विजयी हुने जनप्रतिनिधीहरुले रोजगारीलाई प्राथमिकतामा राख्न अनुरोध गरे । जनप्रतिनिधीहरुले हेटौंडालाई रोजगारीको लागि उचित व्यवस्थापन गरी हेटौंडाबासी मात्र नभई अन्य स्थानका नागरिकहरुलाई पनि हेटौंडामा रोजगारी गरेर आफ्नो जिविकोपार्जन गर्न सक्ने स्थान प्रदान गर्नुपर्ने बताए ।
इन्चार्ज रानाले हेटौंडाका बासिन्दाले उपमहानगरपालिकाको कार्यालय प्रवेश गर्दा गर्व महसुस गर्न सक्ने र आफ्नो समस्या लिएर नगर प्रमुखको कार्यकक्षसम्म सहजै जानसक्ने बातावरण बन्नुपर्ने बताए ।
कार्यक्रममा एमाले हेटौंडा–४ वडा कमिटीले ३५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । यस्तै कमिटीमा ४१ सदस्यीय सचिवालय निर्माण गरिएको पनि जनाइएको छ । यसैगरी नविन मिश्रको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा प्रचार प्रसार उपकमिटी, केशव बासुकलाको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपकमिटी, शिवहरी दाहालको संयोजकत्वमा प्रतिबद्धता लेखन उपकमिटी, प्रकाश सुवेदीको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपकमिटी तथा भवानी शर्माको संयोजकत्वमा निर्वाचन अनुगमन उपकमिटी निर्माण गरिएको छ ।
नेकपा एमाले हेटौंडा–४ वडा कमिटीका अध्यक्ष राजेन्द्र बास्ताकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, संविधान सभा सदस्य अनन्त पौडेललगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । वित्तीय संघियता सम्बन्धी किताब बिमोचन भएको छ । नेपालमा संघियताको राजनीतिक संरचना सम्बन्धी बिभिन्न किताबहरू लेखिएका छन । तर आर्थिक पाटोलाई फिल्डमै (स्थलगत अध्ययन) गरेर पहिलो चोटी लेखिएको अनुसन्धानमूलक किताब वित्तीय सघियता विमोचन गरिएको हो ।
मुलुकमा भर्खरै संघियताले पाइला टेक्दै गरेको कारणले गर्दा यसको आर्थिक पक्षको बिषयमा कम चर्चा भएको र संघीय सरकारले आफ्नो आर्थिक गतिविधि कसरी सन्चालन गरेको छ भन्ने उत्तर यस किताबले दिने किताबका लेखक बिशभ अधिकारीले बताए।
संघियताको आधारभूत सिद्धान्तको बिषयमा जानकारी हुन यो किताबको महत्वपूर्ण रहेको अर्को लेखक सागर बरालले जानकारी दिए। यस किताबमा शुभकामना पूर्व अर्थमन्त्री तथा अर्थविद डा. प्रकाशचन्द्र लोहनी र राष्ट्रपतिको पुर्व प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएको लेखक सम्पुर्ण बस्नेतले बताए।
किताबको प्रकाशक शिखा बुक्स रहेको छ भने किताब बिमोचन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री माननिय डोरमणि पौडेलले गरेका थिए। किताब बिमोचन कार्यक्रममा पौडेलले यो किताब उत्यन्तै उपयोगी रहेको र वित्तीय संघियता सम्बन्धी बुझ्न खोज्ने पाठकहरु लागि यस पुस्तकबाट लाभान्वित हुने बताए ।
किताबको बारेमा प्राध्यापकद्वय युवराज गिरी र अर्पण पराजुलीले टिप्पणी गरेका थिए । कार्यक्रम सागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य मधु अधिकारीले दिएका थिए।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हेटौँडा उपमहानगरपालिका अध्यक्षमा अरुण लामा चयन भएका छन् । शनिबार भएको नगर भेलाले लामाको अध्यक्षतामा राप्रपा नगर समिति गठन भएको हो । समितिको उपाध्यक्षमा शुक्रराज प्रजा तथा सचिवमा रघुनाथ खराल चयन भएको राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारीले जानकारी दिए ।
राप्रपा केन्द्रीय नेता मधु अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा राप्रपा मकवानपुरका अध्यक्ष शिबराम थापा, नेताहरु रामहरी न्यौपाने, गुञ्जबहादुर न्यौपाने, धु्रब सञ्जेल लगाएतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजययी गराउन निर्देशन दिएकाे छ । पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन काँग्रेसले निर्देशन जारी गरेको छ ।
काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पार्टी आबद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले भ्रातृ सङ्घ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितिका संयोजकले उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा समिति सदस्य पार्टी केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी रानालगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि दुईपक्षीय प्रतिस्पर्धा गर्नेगरी दलहरू अगाडि बढेका छन् । सत्तापक्षीय र विपक्षी दुईवटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही दल भने यी दुवै गठबन्धनमा आबद्ध छैनन् । ती दल बहस र छलफलमै केन्द्रित छन् ।
सत्तारूढ गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सत्तारूढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । उता संसद्को सबैभन्दा ठूलो दल एमाले नेतृत्वको विपक्षी गठबन्धनमा हालसम्म राप्रपा नेपाल र परिवार दलले सहभागिता जनाएका छन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल र पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको परिवार दल एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् । संसद्को सबैभन्दा सानो राष्ट्रिय दल लोसपा भने कुन गठबन्धनमा लाग्दा फाइदा हुन्छ भनेर हिसाबकिताब गरिरहेको अवस्था छ ।
नेमकिपा, जनमत पार्टी, राप्रपा, नेकपा, माले, जप्रपा, तमलोपा कुनै पनि गठबन्धनमा आबद्ध भइसकेको छैन । कतै नखुलेका यी दल अन्तिम समयसम्म आफ्नो अस्तित्व जोगाउन भए पनि गठबन्धनमा सहभागी हुने अनुमान गरिन थालिएको छ ।
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक तथा राजनीतिक विश्लेषक कुर्वान हवारी आगामी स्थानीय तह निर्वाचनमा देशैभरि दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको बताउँछन् । ‘एकातर्फ सत्तारूढ दलहरू गठबन्धन नै बनाएर चुनावी मोर्चामा होमिएको अवस्था छ भने अर्कोतर्फ प्रतिपक्षी दलहरूको गठबन्धन पनि बनेको छ ।
केही साना दल यी दुवै गठबन्धनमा नभए पनि आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै गठबन्धनमा अनिवार्य रूपमा सहभागी हुने नै छन्,’ हवारी भन्छन् । लोसपा स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रूपमा छलफल गरिरहेका छन् । जुन गठबन्धनमा आफूलाई बढी फाइदा हुन्छ सोही गठबन्धनमा सहभागी हुने रणनीति लोसपाको छ ।
लोसपाको तराई मधेसमा राम्रो प्रभाव रहेको छ । यस्तै, मधेसको नयाँ तर शक्तिशाली भनिएको डा. सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउन एमाले अध्यक्ष ओली सक्रिय छन् ।
आन्तरिक रूपमा ओलीले अन्य साना कम्युनिस्ट पार्टीलाई समेत आफ्नो गठबन्धनमा सहभागी गराउन प्रयास जारी राखेका छन् । नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, सिपी मैनाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतलाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराएर ओलीले सत्तारूढ गठबन्धनलाई चुनौती दिन खोजेका छन् ।
सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले आगामी स्थानीय तह निर्वाचनमा आफूहरूको विजयी सुनिश्चित रहेको ठोकुवा गरेका छन् । जनतामा राम्रो प्रभाव भएका प्रमुख दलहरूको गठबन्धन भएकाले आफूहरू विजयी हुने निश्चित भएको दाबी पौडेलले गरेका छन् । तर, निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्तारूढ पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । सिट बाँडफाँटको मापदण्ड’ पाँच दलीय गठबन्धनले अझै टुंगो लगाउन सकेको छैन ।
एउटै पालिकामा गठबन्धनमा आबद्ध सबै दलको दाबी रहिरहनु र एकले अर्कोलाई सहयोग नगर्ने उद्घोष जिल्लाजिल्लाबाट हुनुले मत विभाजन हुने र विपक्षी गठबन्धनलाई सहज हुन सक्ने आँकलनसमेत भइरहेको छ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारलाई पाँचै दलले स्वीकार गरेर मतदान गरे विपक्षी गठबन्धन उसको अगाडि टिक्न गाह्रो हुनेछ । तर, पाँचै दलबीच पालिकास्तरमा एउटै स्वर वा एकमत देखिँदैन । राजधानी दैनिकबाट