साहित्यकार मसानद्वारा जन्माेत्सवमा २ कृति सार्वजनिक
Tags: No Comments
हेटौंडा । मकवानपुरे साहित्यकार मसान उपासकले आफ्नाे जन्मदिनकाे अवसर पारेर एक साथ दुई कृति सार्वजनिक गरेका छन् । आमसञ्चार र साहित्य लेखनमा क्रियाशिल मसानले कविता र गजल सङ्ग्रह एकसाथ बजारमा ल्याएका हुन् ।
साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मसानद्वारा लिखित कविता सङ्ग्रह ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ गजल सङ्ग्रह बुधबार एकसाथ विमोचन गरिएको हाे ।
कार्यक्रममा साहित्यकार मसानका मातापिता गोमा सञ्जेल र रामप्रसाद सञ्जेल, साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरी, साहित्यकार आरसी रिजाल र निमेष निखिलले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
साहित्यकार मसानले पहिलो पटक एक साथ दुई पुस्तक प्रकाशित गरेका हुन् । कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ ४६ वटा कविता सङ्ग्रहित रहेका छन् । यस्तै गजल सङ्ग्रह ‘ अक्षर आराधन’ मा ५७ वटा गजल समावेश गरिएको छ । कविता सङ्ग्रह ९७ र गजल सङ्ग्रह ६४ पृष्ठको रहेको छ ।
विमोचन गरिएको कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ माथि साहित्यकार तथा पत्रकार रामकुमार एलनले टिप्पणी गरेका थिए । गजल सङ्ग्रह ‘ अक्षर आराधन’ माथि साहित्यकार देवराज तिवारीले टिप्पणी गरेका थिए । सङ्गमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरी रहेका थिए ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन ।
उनीहरूका अनुसार हाल विभिन्न बैंकले ५० लाख रुपैयाँसम्मको व्यक्तिगत ओडी र व्यावसायिक ओडी दिँदै आएको छ । तर, त्यसरी दिएको ओडी दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले अंकुश लगाउन लागेको हो । सोहीअनुरूप हाल बैंकले पनि आफ्ना ग्राहकलाई ओडी खाता बन्द गर्न दबाब दिन थालेको एक व्यवसायीले जानकारी दिए ।
केही दिनयता बैंकले यसअघि लिएको ओडी कर्जा सुविधा बन्द गर्न भन्दै फोन गर्न थालेको जानकारी गराउँदै एक उद्योगीले भने, ‘अहिले बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै दैनिकजसो फोन गरेर यसअघि चलाएका ओडी सुविधा भुक्तानी गरेर सो कर्जा खाता नै बन्द गर्न दबाब दिइरहेका छन् ।’
तर, त्यसरी बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न लगाउँदा समस्या उत्पन्न हुने अन्य व्यवसायीले गुनासो गरेका छन् । उद्योगी व्यवसायीले व्यावसायिक कार्यका लागि ओडी कर्जा लिएर लगानी गरेको बताउँदै ती व्यवसायीले भने, ‘अहिले बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै त्यस्ता कर्जा तुरुन्त तिर्न दबाब दिँदैमा कसले तिर्न सक्छ र ?’ यो व्यवसायीका लागि निकै अन्यायपूर्ण र अव्यावहारिक काम हुने उनीहरूको भनाइ छ ।
हाल विभिन्न बैंकबाट ओडीमा दिएको कर्जा दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले व्यक्तिगत ओडी कर्जाको सिमा घटाउँदै ५० लाख रुपैयाँमा झारेको थियो । तर, त्यसरी प्रदान गरिएको ओडी कर्जा समेत सही सदुपयोग नभएको भन्दै पछिल्लो समय यस्तो सुविधा नै बन्द गर्न लागेको सम्बन्धित व्यवसायीले आफूलाई जानकारी भएको बताएका छन् । राजधानी दैनिक बाट
मकवानपुर । अघिल्लो सरकारले नियुक्त गरेको ब्यक्ति हटाउने शिलशिलाको शिकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी पनि भएका छन् ।
प्रा.डा जोशीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानको उपकुलपति जोशीलाई निलम्बन गरेका हुन् । उनीमाथि छानविन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित भएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भूसालले जानकारी दिए । जोशीलाई केहि समय अघिबाटै पदबाट हट्न दबाब आईरहेको थियो ।
मुख्यमन्त्री पाण्डेले छानविन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको सचिव भुसालले अताए । सचिव भुसालले मंगलबार उपकुलपति प्रा.डा. जोशीलाई सम्बोधन गरेर निलम्बन गरिएको पत्र तयार पठाएका थिए ।
उपकुलपति प्रा.डा. जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधार उल्लेख गरी प्रतिष्ठानको सभाका एकचौथाई सदस्यले लिखित निवेदन दिएकोले प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री पाण्डेले सो सम्बन्धमा छानविन गर्न समिति गठन गरेको बताइएको छ ।
यता प्रा.डा. जोशीले भने निलम्बनको खबरले पत्रकारमार्फत मात्रै जानकारी भएको र निलम्बनको पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताए । गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट हट्न आग्रह गरेको उल्लेख गर्नु प्रा.डा. जोशीले भने, ‘एउटा योजनासहित काम गर्दै गर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ । एक्कासी निलम्बनको कुरा सुनेँ । निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु ।’
प्रा.डा. जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्षे कार्यकालका लागि नियुक्त गरेका थिए । पाण्डे नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने श्रीखलाबद्व योजना रहेको र यो गलत भएको नेकपा एमालेले बताउंदै आएको छ ।
यसअघि प्रदेश खेलकुद विकास परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पनि पदबाट हटाईएको थियो । यद्यपि चौलागाईंले कानुनीबाटो रोजेपछि अहिले अदालतको आदेश अनुसार उनी पुनः पद बाहल छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ पुस्तकमाथि परिचर्चा कार्यक्रम भएकाे छ । मकवानपुरकाे संस्था राउण्ड टेवल गसिपले जिराे माइल माथि परिचर्चा कार्यक्रम गरेकाे हाे ।
उच्च अदालत पाटन बार एशोसियनका अध्यक्ष शुसील पोखरेल, अधिवक्ता ऋषि के.बी. र पत्रकार गिरिजा अधिकारीले कृतिमाथि टिप्पणी गरेका थिए ।
लामो समयदेखि अमेरिकामा रहेर पत्रकारितामा क्रियाशील रहेका पत्रकार पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ मा अमेरिका प्रवेश गर्नु अघि र गरेपछिका कानुनी पाटाे र अध्यागमन सम्बन्धी जानकारीलाई विशेष रुपमा समावेश गरिएको भन्दै बार एशोसिएसन मकवानपुरका अध्यक्ष एवम् अधिवक्ता के.बी.ले जुनसुकै भिसामा अमेरिका जान चाहानेहरुका लागि मात्रै नभई आम पाठकहरुका लागि पनि यो कृति महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताए ।
कृति सरल भाषामा सबैले बुझ्ने गरी तयार पारिएको र आम पाठकलाई दिन खोजिएको जानकारी पनि प्रभावकारी रहेको पत्रकार अधिकारीले बताए । ‘जिरो माइल’ पत्रकार, प्राध्यापक र कानून व्यवसायीहरुका लागि पनि पठनीय सामग्रीको रुपमा रहने अधिकारीले उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले साहित्य, कानून र पत्रकारिता समाजको मार्गदर्शक भएको बताए । पछिल्लाे समय युवा पुस्ताले पुस्तक प्रकाशनमा रुची लिएकाेले पठन संस्कृतिकाे विकासमा टेवा पुग्ने बताए । अध्ययनले विद्वान बनिने हाे पदले हाेइन भन्दै उनले भने जिराे माइल विदेश जानेहरुकाे लागि विशेष खुराक भएकाे बताए ।
वि.सं २०५७ मा गुल्मीबाट जनआह्वान दैनिकमार्फत् पत्रकारिता सुरु गरेका पन्थीले मुलधारका सचार संस्थामा लामाे समय पत्रकारिता गरेका थिए । हाल अमेरिकाबाट सञ्चालित खसोखासका प्रधान सम्पादक हुन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उनले अमेरिकी राष्ट्रपति जो वाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका छन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पसँग सम्बन्धित विषयवस्तु समावेश गरी २०७५ मा पन्थीको कम्पन उपन्यास पहिलो कृति प्रकाशित भएकाे छ । हो ।
राउण्ड टेवल गसिपका संयोजक राम अविकासको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम लगायत मकवानपुरका कानुन व्यवसायी पत्रकार प्राध्यापक तथा सघ सस्थाका व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
मकवानपुर / नेकपा एमालेले थाहा नगरपालिकाको मेयर र उपमेयर सहित वडा अध्यक्ष तथा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको छ ।
एमाले नगर ईञ्चार्ज विष्णु प्रसाद ढकालको प्रस्ताव र नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको समर्थनमा अचुतम प्रसाद ढकालले थाहाको मेयरमा उमेदवारी दर्ता गराएका छन् ।
यसैगरी रिता ठकुरीको प्रस्ताव र उत्तम लामिछानेको समर्थनमा कल्पना बलमीले उपमेयरमा उमेदवारी दर्ता गराएकी छन् ।
सर्वदलीय बैठकमा सहमती अनुसार एमालेले र्याली र नाराजुलुस नगरि शान्तपूर्वक उमेदवारी दर्ता गराएको हो । उमेदवारी दर्ता गर्न प्रस्तावक र समर्थकहरुसहितको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय शिखरकोट पुगेका थिए ।
एमालेले अधिकांश वडामा युवा उमेदवारहरु खडा गरेका छ । १ नम्बर वडामा प्रदिप प्रधान, २ मा गुप्तबहादुर कार्की, ३ मा सुजन कुमार रायमाझी, ४ मा रामराजा केसी, ५ मा बिष्णु बहादुर गुरुङ र ६ मा मनहरि भट्टले वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गरेका छन् । यसैगरी वडा नम्बर ७ मा शम्भु बहादुर खत्री, ८ मा हेम थिङ, ९ मा रामकृष्ण बस्नेत, १० मा हिराबहादुर गमाल, ११ मा धनबहादुर गोले र १२ मा युवराज गोलेले उमेदवारी दर्ता गरेका छन् ।
सबै वडाहरुमा एक/एक दलित महिला सदस्य, एक/एक महिला सदस्य र २ सदस्यसहित कुल ६२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
यसैगरी सत्तारुढ गठबन्धनले मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट आदर्शलाई उम्मेदवार बनाएको छ । बिष्टले पनि आजै उम्मेदवारी दर्ता गराएका छन् । भने नेपाली कांग्रेसबाट उपमेयरमा भरत गोपालीको उम्मेदवार दर्ता गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले गोपालीलाई उपमेयरको उम्मेदवारी बनाउने निर्णय आजै गरेको हो ।