चितवन। भरतपुर महानगरपालिकामा भएकाे मतगणनामा मत सदर कि बदर भन्ने विषयमा विवाद हुँदा मतगणना स्थगित गरिएकाे छ । भरतपुर वडा नं २ को १ हजार ९ सय मतगणना सकिएर थप मत गन्दै गर्दा मत सदर कि बदर भन्ने विषयमा मतगणना रोकिएको हाे ।
नेकपा एमाले पक्षले सदर गर्न माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो। मत बदर वा सदर गर्ने विषयमा गणना अधिकृतले पक्पात गरेको नेकपा एमालेको आरोप छ।
चितवन । चितवनकाे माडी नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अमित कुमार लामाले वडा अध्यक्ष पदमा विजयी सुरुवात गरेका छन् । चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले एक जना मात्रै जनप्रतिनिधि अमितलाई पाएकाे थियाे । उनी उतीवेला माडी नगरपालिकाको वडा नम्बर १ मा सदस्यमा गाई चुनाव चिन्ह लिएर वडा सदस्य जितेका थिए।
जिल्लामै राप्रपाको प्रतिनिधित्व गर्ने उनी एक्ला राप्रपा हुन्। तर स्थानीय तह निर्वाचन-२०७९ सम्म आइपुग्दा उनै अमितकुमार लामाले सोही वडामा वडा अध्यक्ष जितेका छन्।
यसअघि वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष थिए। तर यसपटक नेपाली कांग्रेसले वडा अध्यक्ष गुमाएको छ। वडा अध्यक्षमा निर्वाचित भएका लामाले २०७४ को निर्वाचनमा ६ सय ७० मत ल्याएर वडा सदस्य जितेका थिए। यसपटक वडाअध्यक्षमा भने उनले १ हजार ४ सय ३३ मतसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन चौधरीले ९ सय ४३ मत पाए भने नेकपा एमालेका टिकाराम सुवेदीले जम्मा १ सय २६ मत मात्रै प्राप्त गरे।
२०७४ को निर्वाचनमा वडा अध्यक्ष, महिला सदस्य र एक जना सदस्य पदन नेपाली कांग्रेसले जितेको थियो। दलित महिला सदस्य भने नेकपा माओवादीले जितेको थियो। तर, यसपटक १ जना सदस्यबाहेक सबै राप्रपाले जितेको छ। १ जना सदस्यमा भने नेपाली कांग्रेसले पद जोगाएको छ। माडीमा निकै कमजोर देखिएको नेपाली कांग्रेसले यसअघि पाएको वडा पनि गुमाएको छ ।
चितवनकाे स्थानीय तहकाे मतगणना जारी रहँदा अन्य वडाहरुकाे नतिजा कस्ताे आउने हाे त्याे भने हेर्न बाँकी छ ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य भइरहेकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ ।
मकवानपुर जिल्लामा रहेका १ सय २ वटा वडा मध्ये हालसम्म १९ वटा वडाकाे मत परिणाम सार्वजनिक भइसकेकाे छ । जसमध्य ८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वटामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिएको छ ।
कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नम्वर १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नम्वर १ मा तेज बहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नम्वर २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी गाउँपालिका वडा नम्वर १ मा शिव प्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ मा आइत सिंह लो, मकवानपुरगढी ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमश सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृति लाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ बमबहादुर सिंतान, बकैया–१ आशिश तितुङ, बकैया–२ विश्वराज स्याङतान, मनहरी–२ राजकुमार पाख्रीन र बागमती–१ यहुन्ना राई निर्वाचित भएका हुन् ।
नेकपा एमालेको तर्फबाट भने भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्य बहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित भएका हुन् । अहिले हेटौंडा उपमहानगरपालिकाको १,२,१८ र १९ नम्वर वडाको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका- १ मा स्वतन्त्र तर्फका अध्यक्ष उम्मेदवार निर्वाचित भएका छन्। १ नम्बर वडाकाे मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार प्रेम लामाले वडा अध्यक्ष जितेका छन्।
नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति एवं नमोबुद्ध नगरपालिका- १ को वडा सभापतिसमेत रहेका लामाले नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार लामाले ५ सय ५६ मत ल्याएर निर्वाचन जितेका छन्। नेकपा एमालेका उम्मेदवारले ४ सय ४७ मत पाएका छन् भने नेपाली कांग्रेस पार्टीका उम्मेदवारले २ सय ८ मत पाएका छन। वडामा टिम नै स्वतन्त्र उठाएका लामाले दलित महिला र एक पुरुष सदस्य समेत स्वतन्त्रबाट निर्वाचित भएका हुन्। वडा नं १ मा महिला सदस्य र एक पुरुष सदस्य नेकपा एमाले पार्टीका उम्मेदवारले जितेका छन्।
काठमाडौं – हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ ।
त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेकाे छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ ।
१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले एक पालिका जितेकाे छ ।
नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हाे । भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ ।
नेकपा एमाले
मनाङकाे चामे गाउँपालिकाकाे अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६ सय १० मत खसेको गाउँपालिकामा उनले तीन सय २० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले दुई सय ७९ मत पाए । उपाध्यक्षमा भने तीन सय २५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भएकी छिन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यो पालिकाको अध्यक्षमा घले नै निर्वाचन चएका थिए भने उपाध्यक्ष कांग्रेसले जितेको थियो । यो पटक पनि उपाध्यक्ष कांग्रेसले नै जितेको हो ।
त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । घले आठ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङ्मा गुरुङले सात सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ सात सय ४४ मत ल्याई विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले सात सय १९ मत पाए ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङ एक सय ८५ मत प्राप्त गरेका छन् । विष्ट यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका रिङ्जिन नामगेल गुरुङ आठ सय ६७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका आङ्जेन गुरुङले पाँच सय ७७ मत ल्याए । उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ सात सय ४९ मत ल्याई विजयी भएकी छिन् । कांग्रेसकी धेच आङ्मो गुरुङले ६ सय ७७ मत ल्याएकी छन् ।
मुस्ताङकै लोमान्थाङ गाउँपालिकामा एमालेका टसी गुरुङ विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार टासी नुर्वु गुरुङलाई एक सय ५४ मतान्तरले पराजित गरेर विजयी भएका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टासी नुर्बुले पाँच सय १४ मत मात्रै ल्याए ।
उपाध्यक्षमा एमालेकै छिमी विष्ट विजयी भएकी छिन् । उनले कांग्रेसकी छिरिङ ढाेका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमीले ६ सय ३२ मत पाउँदा छिरिङले पाँच सय ३८ मत पाइन् ।
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार धावा सम्डुक गुरूङ निर्विरोध वियजी भएका हुन् । नेकपा एमाले डोल्पाका सचिव समेत रहेका गुरूङबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।
नेपाली कांग्रेस :
नेपाली कांग्रेस अहिलेसम्म तीन पालिकामा विजयी भएको छ । सबैभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेका कांग्रेसले मनाङको दुई गाउँपालिका र मुस्ताङको एक पालिका गरी तीन पालिकामा विजयी भइसकेको हो ।
मनाङको नार्पा भूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । नार्पा भूमिबाट कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा एक सय ५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले एक सय ११ मत पाए । खसेको तीन सय चार मतमध्ये ३५ मत बदर भएको छ ।
उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन् । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध अध्यक्ष चयन भएका थिए ।
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले आठ सय २० मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ नाै सय १३ मत प्राप्त गरेर विजयी भएका छन् ।
त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी सात सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले सात सय ५८ मत ल्याए ।
२०७४ सालमा नेकपा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याइन् ।
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा उसले खाता खोलेको हो । माओवादीका नारा सिं रोकायले सात सय ७० मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी एमालेका हेमबहादुर महतराले सात सय ४६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहोरा सात सय ५९ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत प्राप्त गरिन् ।
नेकपा एकीकृत समाजवादी निर्विरोध
नेकपा एकीकृत समाजवादीले डोल्पाका दुई पालिकामा निर्विरोध भइसकेको छ । काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए । २०७४ सालमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध भएका थिए । २०७४ सालमा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए । इकागजबाट
