मकवानपुर । मकवानपुरमा स्थानीय तहबाटै विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने भएको छ । सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले मकवानपुरका १० वटा पालिकाबाटै फाराम भर्ने व्यवस्था मिलाएको हाे ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्नेको भिडभाड बढेको र साइबरहरूले मनपरि ढंगले रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहबाटै फारम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
स्थानीय तहहरूको सहयोग र समन्वयमा स्थानीय तहमै ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्रको निःशुल्क अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयमा विहीबारकाे पत्रकार सम्मेलनमा प्रजिअ पाण्डेले बताए ।
शुक्रबारबाटै जिल्लाको १० वटै स्थानीय तहबाट निःशुल्क ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । इन्टरनेटको पहुँच भएकाहरूले घरबाटै फाराम भर्न सकिने छ । आफै अनलाइन फारम भर्न नसक्नेले आफ्नो पालिकाबाट निःशुल्क अनलाइन फारम भर्ने सेवा लिन जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेकाे सूचनामा भनिएकाे छ ।
‘आफ्नै स्थानीय तहमा निःशुल्क अनलाइन फाराम भर्न सकिन्छ ।’ प्रजिअ पाण्डेले भने । मंगलबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग बैठक बसेर स्थानीय तहबाटै ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्र लागि अनलाइन फाराम भर्न सकिने वातावरण मिलाइएको पाण्डेले जानकारी दिए ।

मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार चट्याङ लागेर तथा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।
मकवानपुरको बागमती गाउँपालिका गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा १ जनाको मृत्यु छ भने बकैया गाउँपालिकामा पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार जिल्लाको बागमती-४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।
उनका अनुसार बागमती-१ करौंजेबाट झुरझुरेतर्फ जाँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको हो ।
यसैगरि,मोटरसाईकलका चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको बकैयामा रोपाइँ गर्न खेतमा पानी लगाउन पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
बुधबार जिल्लाको बकैया ६, गोवरस्थानका स्थानीय ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए । शवलाई पोस्टमार्टमको लागि हेटौंडा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २०७९ मंसिर २ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।
‘प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
जवाफमा प्रधानमन्त्री देउवाले २ मंसिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्न बताएका उनले जानकारी दिए । आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ भने निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ ।
मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघि जेठ १४ गते मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि शर्माले राजीनामा दिएका हुन् ।
छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको शर्माले जानकारी दिए । छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि उन्ले बताए ।
एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।
मकवानपुर / बागमती प्रदेशको मुख्यमन्त्री बन्ने फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएकाे छ । केही समय अघिसम्म मुख्यमन्त्री बन्ने पक्कापक्की भएका नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँ यसपटक मुख्यमन्त्री नबन्ने संभावना देखिएको छ ।
सत्ता गठबन्धनको भागबण्डामा ६/६ महिना मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति तत्काललाई टरेको एक विश्वस्त स्रोतले जनाएको छ । प्रदेशमा सरकारको नेतृत्व छोड्नु पर्ने भएमा गठबन्धनको केन्द्रीय दलहरुको निर्णय र आफ्नो पार्टीको केन्द्रीय नेतृत्वबाटै निर्देशन आउनु पर्ने अडान लिँदै आएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै अबको बाँकी समय मुख्यमन्त्री रहने स्रोतको दाबी छ ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । उनले आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री समेत थप गर्ने तयारी भएको छ । मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको छ । दुबै राज्यमन्त्री नेकपा एकीकृत समाजवादीबाट हुने छन् ।
गत ११ कात्तिकमा मुख्यमन्त्री हुँदा बागमतीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो । ‘त्यो सहमतिले नै अहिले तनाव सिर्जना गरेको हो,’ माओवादी केन्द्र प्रदेश स्तरका अर्का एक नेताले भने ।
उनका अनुसार ६ महिना बित्दा साथ सरकार फेर्ने कुरा गर्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन समय माग भएको थियो, सोही अनुसार नेपाली काँग्रेसले समय दियो । अन्तत: नेकपा एकीकृत समाजवादीलाई प्राप्त साथकाे कारण बानियाँ पछि परे । बागमतीमा मुख्यमन्त्रीमा बानियाँ भन्दा पाण्डे रहनुमा नेपाली कांग्रेसकै नेताहरूले आन्तरिक रूपमा साथ दिएको उनले बताए ।
बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेलाई दबाब दिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलनको तयारी गरेका थिए । यता बानियाँले नै पाण्डे सहमतिमै सरकार छोड्ने तयार रहेको बताउँदै आएका थिए । तर पाण्डेले केन्द्रको निर्देशन चाहिने अडान लिएपछि माहोल फेरिएको हो ।
बागमतीको सरकारमा हेरफेर गर्दा अन्यत्र पनि हेरफेर गर्नु पर्ने नत्र गठबन्धनमा धक्क पुग्ने निष्कर्षसहित अहिले पाण्डे नेतृत्वको सरकारलाई नै यथावत राखिने तयारी भएको माओवादी केन्द्रका ती नेताले भने ।
माओवादी शीर्ष नेतृत्वले त सरकार परिर्वतनको खेलमा नलाग्न प्रदेशका नेताहरुलाई निर्देशन नै दिएको उनले बताए ।
माओवादी सांसद पूर्व तथा समाजिक विकास युवराज दुलालका अनुसार सात प्रदेशका सरकार सकेसम्म नचलाउने कुरा केन्द्रीय गठबन्धनको छ । प्रदेश सरकार संचालन संयन्त्रका संयोजक समेत रहेका दुलाल प्रधानमन्त्रीले चाहँदा मात्र मुख्यमन्त्री हेरफेर हुनसक्ने बताउँछन् ।
अन्य प्रदेशको कुरा जोडेर सहमति तोडेको प्रति कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँले दुख व्यक्त गरे । ‘सरकार हेरफेर गर्ने नगर्ने सहमति शीर्ष तहमा के भयो मलाई थाहा छैन,’ बानियाँले भने, ‘विगतमा सहमति लिखित नै भएकोले कार्यान्वयन गर्न माग गरेका हौं ।’ सहमति मान्ने वा तोड्ने सवाललाई लिएर गठबन्धनलाई कमजोर बनाउने काममा भने कांग्रेस नरहेको उनले बताए ।
संघीय सरकारमा आगामी चुनावी नेतृत्व गर्न नेकपा एकीकृत समाजवादीलाई दिने हो भने बागमतीमा बानियाँको चान्स भएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । ‘काँग्रेसले संघीय सरकारको नेतृत्व छोड्न नचाहँदा बागमतीमा बानियाँले चान्स गुमाएँ,’ उनले भने ।
