मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २०७९ मंसिर २ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।
‘प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
जवाफमा प्रधानमन्त्री देउवाले २ मंसिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्न बताएका उनले जानकारी दिए । आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ भने निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ ।
