मकवानपुर । साउन २७ गते यस वर्षकाे जनै पूर्णिमा तथा रक्षाबन्धन पर्न परेकाे छ । श्रावणशुक्लपक्ष पूर्णिमाका दिन रक्षाबन्धन तथा जनै पूर्णिमा मनाउने गरिन्छ । यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पर्व समेत पर्ने भएकाेले नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी धुमधामका साथ मनाइन्छ ।
वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् ।
त्यस पछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धति सहित सप्तर्षि मण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् ।

आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
आजको दिन विभिन्न गेडागुडी भिजाएको क्वाटी खाने चलन पनि रहेको छ । क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । आजकाे दिन रसुवाकाे गाेसाइकुण्ड, ललितपुरको कुम्भेश्वर लगायत देशभर मेला लाग्ने गर्दछ ।
गाइजात्रा पर्व पनि आजै
सामान्यतः तिथिमिति अनुसार श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमाकाे भाेलीपल्ट गाइजात्रा पर्व पर्ने भएता पनि यस वर्ष गाइजात्रा पर्व पनि आजै परेकाे छ । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गरिन्छ ।

काठमाडौं उपत्यका तथा देशभरका विशेषगरी नेवार समुदायले आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यस दिन अन्न र द्रव्य दान गरिन्छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो ।
पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन । कानुन मन्त्रालयले यस विधेयक’माथि आन्तरिक छलफल थाले पनि टुंगोमा पु¥याउन सकेको छैन ।
जसका कारण विधेयकले ऐनको रूप ग्रहण गर्ने सम्भावना निकै कम हुँदै जान थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा सो विधेयक अघि बढाइएको छ ।
विधेयक प्रस्तावमा वृत्तिविकासलाई संकुचन गर्न खोजिएको भन्दै देशभरका नायबसुब्बा र खरिदार स्तरका कर्मचारी आन्दोलित रहँदै आएका छन् । कानुन मन्त्रालयले सो विधेयकमा प्रस्तावित प्रावधान’ अध्ययन गरी आवश्यकताअनुसार संशोधनसहित पुनः विधेयकलाई सामान्य प्रशासन मन्त्रालयमा नै पठाउनेछ ।
यद्यपि, कानुन मन्त्रालयले अलमल गरिरहेको बताइएको छ । सो विधेयक चालू संसद् अधिवेशनबाट पारित हुन कठिन बन्दै गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसअघि पनि संसदमा दर्ता भइसकेको सो विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।
त्यसरी फिर्ता गरिएको विधेयकको मस्यौदा पुनः पुरानै प्रावधान समेटेर अघि बढाइएपछि फेरि विवादमा पर्दै आएको छ । पुरानै प्रावधानलाई यथावत् राखेर संघीय मामिला मन्त्रालयले सो विधेयकको मस्यौदा अर्थ र कानुनमा पठाएपछि मन्त्रालयकै अधिकारीसमेत मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग असन्तुष्ट बनेका थिए ।
मन्त्री श्रेष्ठले नयाँ विधेयकको मस्यौदा स्वतन्त्र विज्ञ तथा प्रशासनविद्सँग छलफल नगरेको भन्दै मन्त्री श्रेष्ठको मन्त्रालयभित्रै आलोचना हुदै आएको छ । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले लामो समयदेखि चरम बेवास्ता गर्दै आइरहेको थियो ।
अहिले मन्त्रालयले स्वीकृतिका लागि अर्थ हुँदै कानुन मन्त्रालायमा पठाए पनि सो विधेयकले अन्तिम रूप कहिले पाउँछ ? भन्नेमा अन्योल बढेको छ । प्रतिनिधिसभामा झन्डै साढे दुई वर्षदेखि थाती रहँदै आएको संघीय निजामती सेवा विधेयक केही समयअघि सरकारले फिर्ता लिएको थियो ।
विधेयक फिर्ता लिएर नयाँ रूपमा पुनः संसदमा जाने आशा गरिए पनि मन्त्री श्रेष्ठले भने पुरानै प्रावधान यथावत् राखेर पालैपालो अर्थ र कानुन मन्त्रालयमा पठाएका हुन् । सरकारले संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा देशको कर्मचारी प्रशासन २९ वर्षअघि बनेको निजामती सेवा ऐन र नियमावलीअनुसार सञ्चालन हुन बाध्य छ ।
यो कानुन समयमा आउन नसक्दा सातै प्रदेश सरकारले पनि प्रदेश निजामती सेवा ऐन बनाउन सकेका छैनन् भने ७ सय ५३ वटा स्थानीय तहले स्थानीय सेवा ऐन बनाउन सकेका छैनन् । हाल कानुन मन्त्रालयमा पठाइएको विधेयकको मस्यौदामा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद प्रदेश वा स्थानीय तहकै कर्मचारी राख्न प्रस्ताव गरिएको छ भने प्रदेश प्रमुख सचिव तथा प्रदेश मन्त्रालयका सचिव पनि प्रदेशकै कर्मचारी राख्न प्रस्ताव गरिएको छ ।
यस्तो प्रस्तावले प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारबाट पूर्णरूपमा विच्छेद गर्न सक्ने भन्दै प्रशासनविद्ले यस प्रस्तावको विरोध गरेका छन् । प्रशासनविद्ले प्रमुख प्रशासकीय अधिकृत र प्रमुख सचिव पद केन्द्रकै कर्मचारी हुनुपर्ने सुझाव दिँदै आएका छन् ।
तर, अहिले मन्त्रालयले प्रस्ताव गरेको सो विधेयक मस्यौदामा समेटिएको विवादास्पद प्रावधानले संविधानले परिकल्पना गरेको तीनै तहको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा सञ्चालन हुने भन्ने मान्यतालाई खण्डीकरण गर्ने दाबी प्रशासकको छ । उनीहरूले प्रस्तावित विधेयकमा स्थानीय तहको प्रमखु प्रशासकीय अधिकृत र प्रदेश मन्त्रालयको सचिव पद केन्द्रको कर्मचारी हुनुपर्ने सुझाव सरकारलाई दिँदै आएका छन् । राजधानी दैनिकबाट
मकवानपुर । नेकपा माले मकवानपुरले प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माले मकवानपुरले मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा ६ जनाको नाम सिफारिस गरेको छ ।
माले मकवानपुरको साउन २६ गते विहीबारको बैठकले मकवानपुर जिल्लाको २ वटा निर्वाचन क्षेत्रबाट ६ जनाको नाम सिफरिस गरेको मालेका जील्ला अध्यक्ष कुमार बहादुर संजेलले जानकारी दिए ।
माले मकवानपुरको साउन २६ गते विहीबारको बैठकले क्षेत्र नं १ मा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका कृष्ण प्रसाद दाहाल सहित कुमार बहादुर संजेल र अम्बिका लामिछानेको नाम सिफारिस गरेको हो ।
त्यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट तीर्थराज सुबेदी, उद्धब अधिकारी र सबिना बिश्वकर्माको नाम सिफारिस गरेको छ ।
बैंठकमा पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएका दाहाललाई जिल्ला कमिटीले खादा र अबिर लगाएर सम्मान गरेको थियो ।
गठबन्धन कार्यदलले प्रतिनिधि सभामा रहेका सांसद संख्याको आधारमा सीट बाँडफाँड गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदलको बैठकले प्रतिनिधि सभामा रहेका दलका सांसदहरूको संख्याका आधारमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल भएको छ।
“२०७४ सालको चुनावलाई आधार बनाउँदा पनि नेकपा (एकीकृत समाजवादी) को विषय छ। स्थानीय चुनावमा गठबन्धन भएकाले दलका ठ्याक्कै संख्या आउँदैन,” कायदलका सदस्य देव गुरुङले भने, “त्यसैले अहिले सांसद संख्याको आसपासमा सीट बाँडफाँडको मोडालिटी बनाउने कोसिस गरिरहेका छौं।”
आजको बैठकमा पाँचै दलका प्रतिनिधिले आ-आफ्नो दलले पाउनुपर्ने सीटबारे धारणा राखेका छन्। कुनै दलले स्थानीय तहलाई आधारमा बनाउनुपर्ने धारणा राखेका थिए भने कुनै दलको तर्फबाट २०७४ सालको प्रतिनिधि सभाको चुनावलाई आधार बनाउनुपर्ने धारणा राखेका थिए।
त्यसमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई लिने विषयमा छलफल भएको छ। पाँच दलका प्रतिनिधि सभामा प्रतिनिधि गर्ने प्रत्यक्ष र समानुपातिक सांसदलाई आधार बनाउने सैद्धान्तिक सहमति बनेको गुरुङले बताए।
सबैका धारणा सुन्ने र त्यसपछि कसरी मोडालिटी बनाउने भन्ने विषयमा छलफल भएको गुरुङले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले भने, “सीट बाँडफाँडाको मोडालिटीबारे सैद्धान्तिक सहमति बनेको छ। अब अर्को बैठकमा निश्कर्षमा पुग्छौं।”
गठबन्धन कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने भएको छ। कार्यदलको बैठक यसअघि साउन २३ गते बसेको थियो। पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको थियो। हिमालखबरबाट
मकवानपुर । देशभर ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ४ हजार ५ सय ३४ कोरोना परीक्षण गरिएकोमा ८ सय १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
२ हजार ४ सय ११ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९२ हजार १ सय ४६ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार २ सय ९९ जना सङ्क्रमित भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार साउन महिना सुरु भएदेखि दैनिक १ देखि ३ जनाको दरले कोरोनाका कारण मृत्यु हुने गरेको थियाे । याे समेत नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ८२ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ४ सय ७६ जना निकाे भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७४ हजार २ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्कले बताउँछ । हालसम्म ३१ हजार ७ सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काेराेना संक्रमित मकवानपुरका १ पुरुषकाे मृत्यु
मकवानपुरमा कोरोना भाइरस संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका वडा नम्वर १ का ६० वर्षीय पुरुषमा काेराेना संक्रमण भएकाेमा उनकाे मृत्यु भएकाे हाे ।
भरतपुर अस्पतालको कोभिड आइसियू कक्षमा उपचारको क्रममा ती पुरुषको बुधबार मृत्यु भएको बताइएकाे छ । उनलाई गत साउन १६ गते हेटौंडा अस्पतालमा कोभिडको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
