मकवानपुर । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्देलन भदौ १ गते देखि गर्दै आएका छन् । नेपाल सरकारका विभिन्न सेवा समुहमा कार्यरत समान तहका कर्मचारीहरुको तलब भत्ता लगायतको सुविधा आफूहरुले पनि पाउनु पर्ने माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले आन्देलन गरेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको आह्वानमा आन्दोलन सुरु गरिएको हो ।
शिक्षा ऐन २०२८, को १६ को ‘ठ’ बमोजिमको सेवा सुविधा र हक अधिकारका लागि मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले भदै १ गतेदेखि गरेको आन्दोलनलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, मकवानपुरले समेत आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । भदौ ४ गते शनिबार नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, मकवानपुरले विज्ञप्ती जारी गर्दै आन्दोलन प्रति ऐक्यबद्धता जनाएको प्रचार विभाग प्रमुख डीवी बर्तौलाले जानकारी दिए । आज प्रकाशित विज्ञप्तीमा जिल्ला समिति मकवानपुर उक्त आन्दोलनात्मक कार्यक्रमको पूर्ण समर्थन गर्दै कर्मचारीहरुको माग प्रति ऐक्यबद्धता व्यक्त गर्दछ भनिएको छ ।
नेपाल सरकारको विभिन्न सेवा तथा समुहमा कार्यरत समान तहका कर्मचारीहरुको तलब, भत्ता तथा सेवा सुबिधाहरुमा रहेको असमानताले सबैभन्दा बढी प्रभावित गरेको समग्र शैक्षिक क्षेत्रका जनशक्तिहरु मध्ये सामुदायिक विद्यालयहरुमा कार्यरत बिद्यालय कर्मचारीहरु (बिद्यालय कर्मचारी सहायक-लेखापाल र विद्यालय सहयोगि) को मानमर्दन हुने खालको गतिविधिहरु नेपाल सरकार बाट हुँदै आइरहेको महसुस गरेका छौं जिल्ला समिति, मकवानपुर अध्यक्ष श्रीराम दहाल तथा सचिव मुकुन्द न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
सामदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरुको साझा पेसागत संगठनको रुपमा स्थापित नेपाल विद्यालय कर्मचारी परिषदको आह्वानमा भदौ १ गतेदेखि विभिन्न मागहरु राखि विद्यालय कर्मचारीहरु शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा अनिश्चित कालिन धर्ना, तालाबन्दी तथा अन्य आन्दोलनका कार्यक्रमहरुमा सहभागि भइरहेको प्रचार विभाग प्रमुख बर्तौलाले बताए ।
नेपाली शिक्षकहरुको पेसागत संघ, संगठनहरुको अगुवाइमा मुलुकको विभिन्न कालखण्डमा भएका आन्दोलन र धर्नाका कार्यक्रमहरुको उपलब्धि स्वरुप नेपाल सरकार र आन्दोलनकारी विचमा भएको सम्झौता कार्यान्वयन नहुनु, उच्चस्तरीय आयोगको प्रतिवेदनलाइ सरकारले पूर्णरुपमा लागू नगर्नु, तमाम शिक्षकहरुको समस्या सामाधानका लागि नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिच भएका बार्ता तथा सम्झौताहरुलाइ सरकारले बेवास्ता गरेका कारण नै तमाम सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित हुनुपरेको विज्ञप्तीमा भनिएको छ ।
कर्मचारीहरुको आन्दोलनलाई थप उचाईमा पुर्याउन आवश्यक पर्ने साथ र सहयोग समितिबाट सदैव प्राप्त भइरहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । आन्दोलनबाट कति पनि विचलित नभई माग पुरा गराउन तमाम विद्यालय कर्मचारीहरु एकजुट हुनु हुन समेत आग्रह गरिएको छ । कर्मचारीहरुको जायज माग पुरा गरी आ-आफनो काममा फर्कने वातावरण सृजना गरीदिनुहुन नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

सरस्वती पौडेल
सधैं कति गुनासो गरि रहनु ,यार यो जिन्दगीसङ्ग ।
सबैको भाग्यमा राम्रो लेख्दैन,सोध्नु छ भावीसङ्ग ।
किस्ता किस्तामा हिस्सा हिस्सा छोडेर बेदनाको
अलिकति अँशमा खुसी भए माग्नु छ नियतीसङ्ग ।
जिन्दगीको हिसाबमा औंठा छाप लाउनु पहिले
आमाले पेटभरी खाइन् खाइनन् बुझ्नु छ दिदीसङ्ग ।
तिमी ले त्यहीँ सम्बन्ध अन्तिम बनाएर छोडिदियौ
म बारबार बरबराउछु तिम्रो त्यो अन्तिम चिठिसङ्ग ।
दिलको भित्ता चर्किए पछि न लात हानेर भत्कायौ
गयौ कहाँ ,पायौ के के एकपटक सोध्नुछ तिमीसङ्ग ।
भरतपुर चितवन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको छ । आयोगमा चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा मात्रै २ हजार १ सय ९२ वटा उजुरी परेको छ । यसरी आयोगमा एक महिनामा परेको यो उजुरी आयोग इतिहासमा नै सबैभन्दा बढी हो । भ्रष्टाचार बढेसँगै अख्तियारको सक्रियता पनि बढेकाले आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगको सक्रियता बढेसँगै उजुरी आउने क्रम ह्वात्तै बढेको जानकारी दिए । ‘साउन महिनामा मात्रै २ हजार १ सय ९२ वटा उजुरी परेको छ । आयोगको ३२ वर्षे इतिहासमा एक महिनामा यति धेरै उजुरी परेको यो पहिलोपटक हो ।’ आयोगका प्रवक्ता भण्डारीले राजधानीसँग भने । भण्डारीले भ्रष्टाचार बढेकाले नै उजुरी पनि बढेको हुनसक्ने बताए ।
एक महिनामा हालसम्मकै बढी २१ सय उजुरी
–एक वर्षमा १७ हजार १ सय ६७ उजुरी फस्र्यौट
–सबैभन्दा बढी अनियमितता स्थानीय तहमा
–स्वास्थ्य, शिक्षा, गृह र ऊर्जामा पनि अनियमिता बढ्दो
–६ सय ३९ जना प्रतिवादी कायम गर्दा २ अर्ब ७९ करोड बिगो
प्रवक्ता भण्डारीका अनुसार आयोगले गत वर्ष सानादेखि ठूला सबै खालका मुद्दा दायर गर्ने क्रम अत्यधिक बढाएकाले आयोगप्रति विश्वास बढेर उजुरी आउने क्रम पनि ह्वात्तै वृद्धि भएको हो । आयोगले साउन महिनामा मात्रै १६ वटा मुद्दा दायर गरेको छ । साउन महिनामा आएका २१ सय बढी उजुरीमध्ये स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरी बढी छन् । त्यसैगरी, स्वास्थ्य, शिक्षा, गृह, ऊर्जा, वन तथा वातावरण मन्त्रालय र मातहतका निकायसम्बन्धी उजुरी पनि अत्यधिक रहेको अख्तियारले जनाएको छ । यसैगरी, भौतिक मन्त्रालय र मातहतका निकाय, खरिद ठेक्का तथा निर्माण सम्बन्धमा भएका अनियमितताविरुद्ध पनि ठूलो संख्यामा उजुरी परेको छ । स्थानीय तहमा उपभोक्ता समितिले गरेका कार्य, विद्यालयमा खाजा वितरण, स्रोतको उपयोगमा समेत अनियमितता भएको भन्दै उजुरी आउने क्रम बढेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार गत आर्थिक वर्ष २०७८७९ मा २४ हजार ३ सय ३१ उजुरी रहेका थिए । तीमध्ये ८ हजार ९३ वटा उजुरी अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका थिए भने आर्थिक वर्ष २०७८÷७९ मा मात्रै १६ हजार २ सय ३८ वटा उजुरी परेका थिए । गत आर्थिक वर्ष आयोगमा परेका उजुरीमध्ये फस्र्यौट हुने दर पनि अत्यधिक बढेको छ । आयोगका अनुसार सो वर्ष १७ हजार १ सय ६७ उजुरीको फस्र्यौट भएको थियो । जुन ७० दशमलव ५६ प्रतिशत हो । आयोग प्रवक्ता भण्डारीले गत वर्ष हालसम्मकै सबैभन्दा बढी उजुरी फस्र्यौट भएको बताए । यद्यपि, आयोगलाई मुद्दामा सफलता प्राप्तको दर भने घटेको थियो ।
आयोगले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ सय १३ वटा मुद्दा दायर गरेको थियो भने गत आर्थिक वर्ष २०७८/७९ मा १ सय ३१ वटा मुद्दा दायर गरेको थियो । अघिल्लो वर्ष ४ सय ४३ प्रतिवादी कायम गर्दा बिगो १ अर्ब ८९ करोड कायम गरिएको थियो भने गत वर्ष ६ सय ३९ जना प्रतिवादी कायम गर्दा २ अर्ब ७९ करोड बिगो कायम गरिएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए ।
आयोग प्रवक्ता भण्डारीले पछिल्लो समयमा आयोगले भ्रष्टाचार नियन्त्रणका सवालमा प्रवद्र्धनात्मक, उपचारात्मक र दण्डात्मक कारबाहीलाई एकैपटक अघि बढाउँदै आइरहेको छ । त्यसैले पनि अख्तियारमा उजुरी आउने क्रम बढेको उनको भनाइ छ । आयोगले केही दिनअघि मात्रै सबै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई आयोगमा नै बोलाएर आफु र मातहतका निकायमा सुशासन काम गर्न र गराउन निर्देशन दिएको थियो । आयोगले गत वर्ष ठूला व्यक्तिहरूका विरुद्धमा पनि मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले बताए ।
आयोगको सक्रियता बढे पनि आयोगले भ्रष्टाचारमा संलग्न हुने उच्च तहको राजनीतिक र प्रशासनिक नेतृत्वलाई भने केही गर्न नसकेको आरोप लाग्दै आइरहेको छ ।
नीतिगत तहमा हुने भ्रष्टाचार रोक्न पनि अख्तियारले खासै पहल नगरेको आरोप लाग्ने गरेको छ । आयोग प्रवक्ता भण्डारीले भने गत वर्ष अख्तियारले दायर गरेको मुद्दाको विश्लेषण गर्दा ठूलाठूला मुद्दा दायर गर्न नसकेको भन्न नमिल्ने बताए । अख्तियारले पछिल्लो समयमा उच्च तहका व्यक्तिलाई समेत भ्रष्टाचार मुद्दा दायर गर्दै आइरहेको छ । त्यसैले, उच्च तहलाई केही गर्न नसकेको भन्ने आरोपमा खासै सत्यता छैन् ।’ आयोग प्रवक्ता भण्डारीले भने । आजको राजधानी दैनिकमा प्रकशित समाचार
सीता आस्था ढुंगेल
१.
स्वार्थ मात्र बोक्यो भने हानी हुनसक्छ
सधैँ गलत बाटो हिड्ने बानी हुनसक्छ
आफ्नो पनि भलो अरु नि भलो सोचे
मात्र जीवन उज्यालो बिहानी हुनसक्छ ।
२.
देखेर नि नदेखेझैँ नगर है पीर पर्छ
यी आँखाबाट अोझेल् नपर है पीर पर्छ
मन बिसाउने चौतारी तिमी नै हो मेरो
मुटुबाट यताउता नसर है पीर पर्छ ।
३.
रातको होइन दिनको सपना पूरा गर्दै जानुपर्छ
हिम्मत र विश्वास आफूमा आफैँ भर्दै जानुपर्छ
कहिले हिउँद आउँदा कहिले वर्षा हुँदा नि जीवन
जति अफ्ठ्यारो होस् यि पाइलाले अघि सर्दै जानुपर्छ ।
४.
तिम्रा खुसीहरु सबै मेरै जस्तो लाग्छ
अलिकति भए पनि धेरै जस्तो लाग्छ
हामी बाँच्ने संसारको यो भूगोल भरी
जहाँ पुगे पनि आफू नेरै जस्तो लाग्छ ।
इलाम
मकवानपुर । देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने भएकाे छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने भएकाे हाे ।
रोट्रयाक्ट हेटौंडा र मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदाे भदौं २५ गते देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला जानकारी गराइएको हो । भेलाको स्थानीय संयोजन रोट्रयाक्ट हेटौंडा र मकवानपुरले गर्ने रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिए ।
अध्यक्ष राईले भेलामा देशभर रहेका १ सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सविच सहित झण्डै १ हजार रोट्रयाक्टहरुको सहभागिता रहने बताए । पत्रकार सम्मेलनमा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुली, रोटरी मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्की, रोट्रयाक्ट मकवानपुरका पुर्व अध्यक्ष प्रतिक्षा न्यौपाने, रोट्रयाक्ट हेटौंडाका संस्थापक अध्यक्ष अनुराग अधिकारी, पुर्व अध्यक्ष सरोज देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
