सीता आस्था ढुंगेल
१.
स्वार्थ मात्र बोक्यो भने हानी हुनसक्छ
सधैँ गलत बाटो हिड्ने बानी हुनसक्छ
आफ्नो पनि भलो अरु नि भलो सोचे
मात्र जीवन उज्यालो बिहानी हुनसक्छ ।
२.
देखेर नि नदेखेझैँ नगर है पीर पर्छ
यी आँखाबाट अोझेल् नपर है पीर पर्छ
मन बिसाउने चौतारी तिमी नै हो मेरो
मुटुबाट यताउता नसर है पीर पर्छ ।
३.
रातको होइन दिनको सपना पूरा गर्दै जानुपर्छ
हिम्मत र विश्वास आफूमा आफैँ भर्दै जानुपर्छ
कहिले हिउँद आउँदा कहिले वर्षा हुँदा नि जीवन
जति अफ्ठ्यारो होस् यि पाइलाले अघि सर्दै जानुपर्छ ।
४.
तिम्रा खुसीहरु सबै मेरै जस्तो लाग्छ
अलिकति भए पनि धेरै जस्तो लाग्छ
हामी बाँच्ने संसारको यो भूगोल भरी
जहाँ पुगे पनि आफू नेरै जस्तो लाग्छ ।
इलाम

