मकवानपुर । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। क्यान्सर र निमोनियाकाे जटिलताका कारण उनकाे निधन भएकाे हाे।
सांसद समेत रहेका ७५ वर्षिय नेता गिरीको उपचारको क्रममा शनिबार ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा राति ९ : ३६ मा निधन भएको अस्पतालले जानकारी दिएको छ।
उनको विगत ३ सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो।
गिरी नेपाली कांग्रेसभित्रका बाैद्धिक तथा समाजवादी र लोकतान्त्रिक नेताका रुपमा परिचित थिए।
गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीति थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरीको पनि राजनीति छाप सानै उमेरबाट परेको थियो ।
भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताएका थिए । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरी राष्ट्रिय राजनीतिमा उदाएका थिए ।
०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए ।
मकवानपुर । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि कार्यक्रम सञ्चालन नगर्न’ निर्देशन दिएको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रश्न उठ्ने भन्दै तीनै तहका ७ सय ६१ वटै सरकारलाई ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि कार्यक्रम सञ्चालन नगर्न’ निर्देशन दिएको हो ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको ४ मंसिर २०७९ आइतबारका दिन एकै चरणमा हुनेगरी घोषणा भई तयारी भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न/नगराउन’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले मकवानपुरको क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसको निर्णय गरेको छ । पार्टीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ कमिटीको शनिबार बसेको बैठकले प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीको २ नम्बर कमिटीको निर्णय अनुसार मकवानपुर क्षेत्र २ प्रनिनिधिसभामा विरोध खतिवडालाई उम्मेदवार बनाउने भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ कमिटीको शनिबार बसेको बैठकले खतिवडालाई उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ १० गते बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए । खतिवडा यस अघिलगातार ४ पटक चुनाव उठेर जितेका हुन । खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए ।
यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङ्तान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।
शनिबारै बसेको बैठकले प्रतिनिधिसभा २ को प्रदेश ‘क’ र ‘ख’ का लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश ‘क’ को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा ‘क’ मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।
क्षेत्र नम्बर २ को प्रदेशसभाको ‘ख’ का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । यस्तै, प्रदेशसभा ‘ख’ मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको बताइएको छ ।
बैठकमा पार्टीका नेताहरु विरोध खतिवडा, बागमती प्रदेश सदस्य रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगायतको उपस्थिति थियो । यस्तै, बैठकले पार्टीको बागमती प्रदेश सदस्य कल्याणविक्रम घलानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
- दिनेश पन्त
पछिल्लो केही वर्षदेखी हजारौँ जोसिला, जाँगरिला, उद्यम गर्ने उमेरका युवाहरू बर्षौंसम्म सरकारी जागिरे हुने अभिलासाका साथ तयारीमामा लागिरहेकाछन्, त्यो पनि त्यस्तो जागिरका लागि जसको अफिसर लेभलले आर्थिक रूपमा आधारभूत जीवनयापन गर्नसमेत हम्मे हम्मे छ, न त राम्रो कर्यवातावरण छ, सामाजिक प्रतिष्ठाको त झन् के कुरा गर्नु, ड्रेस लगाई सार्वजनिक स्थानमा हिँड्नेलाई मुखै अगाडि घुस्याहा भनिन्छ ।
पछिल्लो स्थिति त कस्तो छ भने निरन्तर तयारीमा लागिरहेका विद्यार्थी सर्वोच्चबाट कहिले फैसला आउँछ भनी कुरेर बसेको नि धेरै भयो । परीक्षा हुन्छ भन्यो तयारीमा जुट्यो भएन, फेरि हुन्छ भन्यो भएन । अदुरदर्शी समायोजनको मारमा निर्दोष विद्यार्थी परेका छन्।
विचारणीय कुरा त के छ भने आजको दिनमा परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरू मनोरोगको प्रकोपमा छन् जुन ऊनीहरूलाईसमेत पत्तो छैन । क्यारियरको चिन्ता छ, महँगीले डामेको छ, इन्स्टिच्युट धाउनै पर्यो, राम्रो गर्न सकेसम्म काठमाडौँ होइन भने ठुला सहरमा बस्नै पर्यो, परिवारको आशा त हुन्छ नै
अनि लोक सेवाको पाठ्यक्रम नि यस्तो अव्यवहारिक छ कि वर्ष तयारी गर्यो भने, सूचना बाहेक ज्ञानमा कुनै वृद्धि विकास हुँदैन अनि २ वर्ष तयारी गर्ने मान्छे अरू सेक्टरमा काम गर्नै गाह्रो हुन्छ। अनि तयारी गर्नेको बाध्यता नि कस्तो भने न त एक जाम हुन्छ न त छोडेर हिँड्ने अवस्था छ, किन भने वर्षौँको तयारी, अरू सम्मानजनक रोजगारीको अवसरको कमी अनि असफल भएर निस्कियो भन्ने सामाजिक दबाब त हुन्छ नै
यो प्रणालीले लोक सेवा निकाल्ने र निकाल्न नसक्ने दुइटै पक्ष मा प्रभाव पारिरहेको छ
यो लोक सेवा प्रणाली प्रतिउत्तर हुँदै गएको छ, यसको हिसाब गर्न ढिला गर्नु हुँदैन र किनभने यो प्रणालीले विद्यार्थीको ऊर्जा बल, अमूल्य समय, मानसिक स्वास्थ्य, सृजनशीलता, आत्मविश्वास, आत्मसम्मान, निष्ठा जस्ता बहु आयामिक पक्षमा नकारात्मक असर गरिरहेको छ ।
यस्तो अवस्थाबाट प्रताडित भएर बल्ल बल्ल जागिर खानेले कसरी उच्च मनोबल र निष्ठाको साथ भ्रष्टाचारी कर्मचारी, नाफाखोर व्यापारी, उद्दण्ड नेताको सामना गर्न सक्छन्, अनि नागरिकको आवश्यकतालाई कसरी सृजनात्मक भई सम्बोधन गर्न सक्छन् ? प्रशासन डटकमबाट
मकवानपुर । विज्ञान शिक्षक समाजको नगर समिति अध्यक्षतामा भुपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । शनिबार भएकाे विज्ञान शिक्षक समाजको प्रथम नगर भेलाबाट यादवकाे अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएकाे हाे ।
हेटौंडा–४ स्थित भुटनदेवी माविमा समाजका जिल्ला उपाध्यक्ष तथा भेला आयोजक समितिका संयोजक भरतप्रसाद पोखरेलको सभाध्यक्षतामा भएको भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
यादवकाे अध्यक्षतामा गठन भएकाे समिति उपाध्यक्ष स्मृति लम्साल, सचिव सुदर्शन पौडेल, सहसचिव ऋतिक यादव, कोषाध्यक्ष रविन्द्र राउत, सहकोषाध्यक्ष राकेश कुमार लोहार र सदस्यहरु विपना खड्का, ईशाहाक राई, अशोक न्यौपाने, निर्मला काफ्ले, ईश्वर रिजाल, रित बहादुर श्रेष्ठ, धनप्रसाद सापकोटा, श्याम उप्रेती र रेश्मा गोले चयन भएको विज्ञान शिक्षक समाज मकवानपुर सचिव सुवास खनालले जानकारी दिए ।
