मकवानपुर । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। क्यान्सर र निमोनियाकाे जटिलताका कारण उनकाे निधन भएकाे हाे।
सांसद समेत रहेका ७५ वर्षिय नेता गिरीको उपचारको क्रममा शनिबार ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा राति ९ : ३६ मा निधन भएको अस्पतालले जानकारी दिएको छ।
उनको विगत ३ सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो।
गिरी नेपाली कांग्रेसभित्रका बाैद्धिक तथा समाजवादी र लोकतान्त्रिक नेताका रुपमा परिचित थिए।
गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीति थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरीको पनि राजनीति छाप सानै उमेरबाट परेको थियो ।
भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताएका थिए । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरी राष्ट्रिय राजनीतिमा उदाएका थिए ।
०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए ।

