मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी सम्बन्धी कानून अध्यादेशबाटै भए पनि ल्याउने बताएका छन् । कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि अध्यादेशबाट भएपनि कृषि सम्बन्धी कानून चाँडै ल्याउने खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन सम्बन्धी कार्यक्रममा उनले बताएका हुन् ।
बुधबार बागमती प्रदेशका नीति निर्मातासंग अन्तरसंवादमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले चाँडै रासायनिक मल उद्योग खोल्ने बताए । ‘कृषि औजार कारखाना हेटौंडामा खोल्ने तयारी भईरहेको छ,’ उनले भने, ‘प्रदेशलाई प्याज र लसुनमा आत्मनिर्भर बनाउँने योजना छ ।’ प्रदेश सरकारले किसानलाई प्याज र लसुनमा प्रतिकिलो १ रुपैंया अनुदान दिने र आवश्यक परे बढाउँदै जाने उनले बताए ।
प्रदेश विज्ञान प्रविधी विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिसकेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले १० हजार युवालाई क्लोज क्याम्पमा राखेर दक्ष जनशक्ति उत्पादन गर्ने समेत बताए । अघिल्लो एमाले सरकारको पालामा कृषि क्षेत्रमा चरम भ्रष्ट्राचार भएको भन्दै उनले तिव्र असन्तुष्टी जनाए । ‘अघिल्लो सरकारको पालामा ३० लाख रुपैंया बजेट विनियोजन गर्दा रहेछन्,’ उनले भने, ‘१० लाख मन्त्रीको टेवलमा, १० लाख व्यवस्थापन (विचौलिया)लाई र मात्र १० लाख किसानलाई दिने गरिएको रहेछ ।’ आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले कृषि तथा पशुपन्क्षी क्षेत्रको विकासका लागि व्यवहारिक कानून तर्जुमा गर्न आफुहरुले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रम फियान नेपालको आयोजना तथा बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँगको समन्वयमा भएको थियो । फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले कार्यक्रमको उदेश्यसहित स्वागत गरेको कार्यक्रममा फियानको श्रव्यदृष्य (डकुमेन्ट्री)पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेशका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको मस्यौदा मुख्यमन्त्री पाण्डे र कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईलाई फियान नेपालले हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य संप्रभुता सम्बन्धी अवधारणागत जानकारी, अधिवक्ता तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य संप्रभुता सम्बन्धी ऐन २०७५ र कार्यान्वयनमा प्रदेश सरकारको भुमिका र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कडेलले बागमती प्रदेशमा खाद्य सुरक्षाको अवस्था, प्रदेश सरकारले अवलम्बन गरेका नीति, कार्यक्रम र कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले कृषि र पशुपन्छीको क्षेत्रमा बजेट बढाउँनुपर्ने, प्रदेश सरकारले सबै जिल्लामा कृषि विकास कार्यालय स्थापना र संचालन गर्नुपर्नेमा जोड दिएका थिए । साथै, प्रत्येक घर परिवारले अनिवार्य तरकारीको विरुवा रोप्ने वा खेती गर्ने अभियान संचालन गर्नुपर्ने भन्दै खाद्य अधिकार सुरक्षित गर्न ‘खाना नफालौ’अभियान पनि संचालन गर्नुपर्ने बताएका थिए ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा फियान नेपालकी प्रदेश संयोजक लक्ष्मी गुरुङले सहजिकरण गरेकी थिईन् । कार्यक्रममा बागमती प्रदेशका सांसदहरु नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, नेकपा एकीकृत समाजवादीकी मनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने, राष्ट्रिय कृषक समूह महासंघ मकवानपुरका अध्यक्ष महानन्द सापकोटा, जिल्ला खाद्य अधिकार संजाल मकवानपुरकी सदस्य उर्मिला पुलामी मगरले मन्तव्य व्यक्त गरेका थिए ।
विभेदपूर्ण लिङ्ग छनौट अन्त्य जरुरी
Tags: No Comments
मकवानपुर । विभेदपुर्ण लिङ्ग छनौट अझै पनि सामाजिक समस्याको रूपमा रहेकोले यसको अन्त्य जरुरी भएको सरोकारवालाहरूले बताएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित विभेदपूर्ण लिङ्ग छनौट अन्त्यको लागि राष्ट्रिय रणनीति २०७८-२०८८ सम्बन्धी प्रदेश स्तरीय कार्याशालामा सहभागीहरूले यस्तो बताएका हुन् ।
लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउन निर्धारण गरिएका सूचकहरूको विकास, सम्वर्द्धन र प्रवर्द्धनको लागि रणनीति आवश्यकता खड्किरहेको सहभागीहरूले बताएका छन् ।
नीतिको आवश्यकता रहदै आएकोमा संघीय सरकारले नीति बनायो तर, पुरापुर कार्यान्वयन हुनेमा भने सहभागीले शंका व्यक्त गरे ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४, परिच्छेद १३ को गर्भ संरक्षण विरूद्धको कसूर अन्तर्गत दफा १८८ र १८९ मा लिङ्ग पहिचान गरी गरिने वा गराईने गर्भपतनलाई अपराधको रूपमा परिभाषित गरी दण्ड र सजायँको व्यवस्था गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ (परिच्छेद ४ को दफा १७) ले पनि यसै कुरालाई जोड दिएको हुदा कार्यान्वयन गर्नुपर्ने नीतिमा उल्लेख छ ।
नीतिको कार्यान्वयनको लागि संघ, प्रदेश वा स्थानीय सरकारले मात्रै भूमिका खेलेर नपुग्ने र यसको लागि चिकित्सक तथा स्वास्थ्यकर्मी, पुरूष, महिला, किशोर किशोरी, नागरिक समाज लगायत आम सरोकारवालाहरूको भूमिकालाई प्रवर्द्धन र उजागर गर्दै लैङ्गिक असमानताको लागि काम गर्नु पर्ने सयुक्त राष्ट्र संघ प्रतिनिधि अपेक्षा राणाले बताइन् । सरकारले विभेदपूर्ण लिङ्ग छनौट अन्त्य गर्ने लक्ष्य राखी सन् २०३०सम्मको लागि रणनीति तयार गर्न आवश्यक रहेको पहल गरेको उनले बताइन् ।
संघीय सरकार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको आयोजना तथा गैरसरकारी संस्था कृपाको सहकार्य कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मिना लामाले छोरी र आमाहरूको महत्व बुझाउन सरकारले धेरै काम गर्न बांकी रहेको बताइन् ।
“स्थानीय तहले काम गर्नुपर्नेमा हामी तयार छौ, संघीय सरकारबाट बजेट सहितको कार्यनीति रणनीति चाहियो” लामाले भनिन् । स्थानीय स्तरमा नीति कार्यान्वयनको लागि संघीय सरकाले समिती बनाएर मात्रै नहुने उनले बताइन् । “बजेट चाहियो, कानुन मात्रै पठाएर काम गर्न सकिन्न” लामाले भनिन् “हामीले पनि मेयरसंग छोरी कार्यक्रम राखेका छौ, बजेट छ, कार्यक्रम के गर्ने भन्ने आधारको खोजिमा छौ ।” छोरीको महत्त्व महिलाले मात्रै बुझेर नहुने भन्दै लामाले समाजलाई बुझाउन समय लाग्ने बताइन् ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचीव बद्रीबहादुर खड्काले कानुन कार्यान्वयनमा जान सशक्तीकरण चाहिने बताए । नीति कार्यान्वयनमा लैजान समय लाग्ने उनले बताए । “चुनावले गर्दा तत्काल कार्यान्वयनमा जाने संभावना छैन” उनले भने “छोरी भएको कारण तनाव भएर आत्माहत्या समेत हुने गरेको, यो कार्यक्रमलाई आत्माहत्या न्यूनीकरणसंग समेत जोड्न सकिन्छ,धेरै प्रभावकारी हुनेछ।”
कार्यक्रम स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह सचीव इन्द्रमणी पोखरेलले अल्टा साउण्डको गतल प्रयोग रोक्नु बताए । “स्वास्थ संस्था र स्वास्थ्यकर्मीलाई सपथ गराउनु पर्छ, संघीय सरकार प्रदेश सरकारले वा स्थानीय सरकारले मात्रै गर्ने काम हैन,हामी सबैको जिम्मेवारी हो” उनले भने ” छोरीलाई कम महत्त्व र छोरालाई बढि महत्व दिने परिस्थिति सामजले सृजना गरेको हो, समाजले नै फर्नु पर्छ ।”
कार्यक्रममा प्रदेशको विभिन्न मन्त्रालयहरू, सरोकारवाला गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा कृपा संस्थाकी आज्ञा खनाल, रोशनीदेवी कार्कीलगायतले नीतिगत व्यवस्था बारे जानकारी गराएका थिए ।
मकवानपुर । नेपाली कांग्रेसले आगामी मंशिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि ताेकेकाे छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरी भदौ १० गतेदेखि कांग्रेसले ३ चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । साेही अभियानकाे लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
बागमती प्रदेशकाे राजधानी हेटौडा रहेकाे जिल्ला मकवानपुरकाे लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिकाे रुपमा उमेश श्रेष्ठलाई खटाइएकाे छ । बागमती प्रदेशका जिल्लाहरु चितवनमा श्यामकुमार घिमिरे, दाेलखामा शान्ति परियार, रामेछापमा हरिशरण नेपाली, सिन्धुली दिलमान पाख्रिन,रसुवामा राजेन्द्रकुमार केसी,धादिङमा मदनकुमार श्रेष्ठ केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएकाे छ ।
यसैगरी नुवाकोटमा मदनबहादुर अमात्य, सिन्धुपाल्चोकमा बहादुरसिंह लामा काभ्रेपलाञ्चाेकमा रमा कोइराला (पौडेल) भक्तपुरमा अम्बिका बस्नेत ललितपुरमा नानु बाँस्तोला काठमाडौंमा जीतजंग बस्नेतलाई पठाइएकाे कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा ५ दिनसम्म कार्यक्रमहरूमा सहभागी भइ सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर मात्र फर्किनेछन् ।
खटाइएका प्रतिनिधिहरु पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरणमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राजनीतिका समस्या र कांग्रेसका एजेन्डा प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम गर्ने पार्टीले जनाएकाे छ ।
७७ जिल्लामा को काे खटिए ?
प्रदेश १
ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा
पाँचथर : प्रदीपकुमार सुनुवार
इलाम : महेन्द्रकुमारी लिम्बु
झापा : डिला संग्रौला
संखुवासभा : उमेशजंग रायमाझी
तेह्रथुम : लक्ष्मी परियार
भोजपुर : भीम पराजुली
धनकुटा : राजीव ढुंगाना
मोरङ : ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी : अमृत अर्याल
सोलुखुम्बु : कल्पना चौधरी
खोटाङ : तारामान गुरुङ
ओखलढुंगा : लक्ष्मी खतिवडा
उदयपुर : बलबहादुर केसी
मधेस प्रदेश
सप्तरी : आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्रकुमार राय
धनुषा : नगिना यादव
महोत्तरी : मञ्जु खाँण
सर्लाही : दिनेशकुमार यादव
रौतहट : अजयकुमार चौरासिया
बारा : रमेश रिजाल
पर्सा : पद्मनारायण चौधरी
बागमती प्रदेश
दोलखा : शान्ति परियार
रामेछाप : हरिशरण नेपाली
सिन्धुली : दिलमान पाख्रिन
रसुवा : राजेन्द्र केसी
धादिङ : मदनकृष्ण श्रेष्ठ
नुवाकोट : मदनबहादुर अमात्य
सिन्धुपाल्चोक : बहादुरसिंह लामा
काभ्रे : रमा कोइराला
चितवन : श्यामकुमार घिमिरे
मकवानपुर : उमेश श्रेष्ठ
भक्तपुर : अम्बिका बस्नेत
ललितपुर : नानु बास्तोला
काठमाडौं : जीतजंग बस्नेत
गण्डकी प्रदेश
गोरखा : ध्रुव वाग्ले
लम्जुङ : शंकर भण्डारी
तनहुँ : सुरेन्द्रराज पाण्डे
कास्की : प्रदीप पौडेल
मनाङ : गुरु बराल
मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत : चम्पादेवी खड्का
स्याङजा : चिनकाजी श्रेष्ठ
म्यादी : दिनेश कोइराला
बाग्लुङ : अब्दुल सतार
नवलपरासी सुस्ता पूर्व : सरस्वती अर्याल
लुम्बिनी प्रदेश
नवलपरासी सुस्ता पश्चिम : मानबहादुर नेपाली
रुपन्देही : योगेन्द्र चौधरी
कपिलवस्तु : चन्द्रबहादुर केसी
पाल्पा :अब्दुल रञ्जाक
अर्घाखाँची : गोविन्दराज पोखरेल
गुल्मी : देवेन्द्रराज कँडेल
रुकुम पुर्व : धना खतिवडा
रोल्पा : मैकुलाल बाल्मीकी
प्युठान : जावेदा खातुन जागा
दाङ : गोपाल दहित
बाँके : दिपक गिरी
बर्दिया : गेहेन्द्र गिरी
कर्णाली प्रदेश
रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे
सल्यान : सीता देवकोटा
जुम्ला : रंगमति शाही
मुगु : कान्तिका सेजुवाल
कालिकोट : जानकी सिंह
जाजरकोट : सिताकुमारी राना
दैलेख : राजीवविक्रम शाह
सुर्खेत : सञ्जयकुमार गौतम
सुदुरपश्चिम प्रदेश
बाजुरा : अर्जुनजंगबहादुर सिंह
बझाङ : गोविन्दबहादुर शाह
डोटी : नृपबहादुर वड
अछाम : रणबहादुर रावल
दार्चुला : यज्ञराज जोशी
बैतडी : रमेश लेखक
डडेलधुरा : ईश्वरी न्यौपाने
कञ्चनपुर : रामजनम चौधरी
कैलाली : एनपी साउद
मकवानपुरका बिर्खेलाई युवा बर्ष मोती पुरस्कार
Tags: No Comments
मकवानपुर – मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशिल बिर्खे अञ्जानले २०७९ सालको युवा बर्ष मोती पुरस्कार पाउने भएका छन् । उनले साहित्यमा गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार समर्पित गर्ने निर्णय गरिएको युवा सेवा कोषका सदस्य सचिव डा . बिष्णुबहादुर भण्डारीले बताए।
अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना ( कविता सङ्ग्रह २०७२ ) शल्यक्रिया ( समालोचना सङ्ग्रह २०७२ ) कठघरामा देश ( मुक्तक सङ्ग्रह २०७९ ) , मकवानपुरका काव्य : अवलोकन र अध्ययन ( समालोचना सङ्ग्रह २०७९ ) एकल कृति प्रकाशित छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो सबल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत हुन् ।
नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याए बापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ समर्पित गर्न लागिएको युवा सेवा कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशी ४० हजार रूपैयाँ रहेको छ। उक्त पुरस्कार भाद्र ११ गते मोती जयन्तीको अवसर पारी लेखनाथ सदन काठमाडौंमा एक समारोहबीच प्रदान गरिनेछ ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको भन्दा मगलबारको सङक्रमितको सङ्ख्या बढेको हो ।
सोमबार २ सय ८८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको मन्त्रालयकाे तथ्याङ्कले देखाँउछ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ४ सय ५ जना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा २ सय ५३ जना गरी ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ९३ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ९६ पुगेको छ ।
