मकवानवुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआइडीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २५ वर्षीया श्रृजना बिक रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्वरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा श्रृजनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रृजनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलका चालक पर्सा ठोरी गाउँपालिका–२ घर भई नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २९ वर्षीय आदर्श बिक र उनका ५ वर्षीय छोेरा आशिक बिक घाइते भएको उनले बताए ।
प्रहरीका अनुसार, मृतक श्रृजना र आदर्श श्रीमान् श्रीमती हुन् । घाइते आदर्श र आशिकको हेटौंडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । ट्रक तथा चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले पार्टी परित्याग गरेका छन् । विवेकशील साझा पार्टीबाट प्रदेश सभा सदस्य बनेका श्रेष्ठले पार्टी भित्र अपारदर्शी गतिविधि बढेको भन्दै प्रदेशसभा सदस्य राजिनामा दिएका हुन् ।
पार्टी पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको भन्दै उनीसँगै उक्त पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रुपमा विज्ञप्ति निकालेर राजिनामा दिएका हुन्। राजिनामा दिनेहरुमा प्रदेश सांसद् श्रेष्ठसहित केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।
‘सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक संवृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास सहित हामीले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजिनामा दिने निर्णय गरेका हौं” बिज्ञप्तिमा भनिएको छ । पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै विवेकशील साझा पार्टीको स्थापना भएको भएपनि पार्टी भित्र सो कायम नभएको भन्दै उनीहरुले पार्टीबाट संयुक्त रुपमा विज्ञप्ती जारी गरी राजिनामा दिएका हुन्।
२०७४ सालको सङ्घीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमतको सम्मान गरेर आम नागरिकहरूको समस्याहरूलाई सम्बोधन गर्दै सङ्गठन विस्तार गर्नुभन्दा पनि आन्तरिक कलहमा फस्दै, सम्भावनामा भन्दा बढि अरूको आलोचनामा अल्झिनु पर्ने बाध्यात्मक परिस्थिती सृजना भएको विज्ञप्तीमा उल्लेख छ । पटक पटक पत्रहरू पठाएर, औपचारिक र अनौपचारिक बैठकहरूमा इमानदारीपूर्वक सार्वभौम सदस्यहरूलाई प्रतिनिधित्व गर्दै उठाएका विषयहरू पनि पार्टी नेतृत्वले कहिल्यै पनि सम्बोधन गर्न नसकेको र पार्टीले न्यूनतम लोकतान्त्रिक अभ्यासको पालना गरेको आभाष सम्म पनि हुन सकेका उनीहरुको भनाई रहेको छ ।
उनीहरुले पार्टी स्थापना भएको लगभग पाँच वर्षसम्म पनि नयाँ सङ्गठन त बनाउन नसक्नु र भएका सङ्गठनहरू पनि भङ्ग गर्ने काम पार्टी नेतृत्वबाटै भएको आरोप लगाएका छन् । स्थापना कालदेखि नै अनवरत रूपमा सुसंस्कृत राजनीति स्थापना गर्न लागेका धेरै सदस्यहरू, नेताहरू र केही प्रदेश संयोजकहरूले प्रदेश समिति सहित पार्टी परित्याग गर्दै गएका कारण परिणामतः पार्टीले गत स्थानीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्न पुगेको विज्ञप्तीमा उल्लेख छ ।
मकवानपुर । हेटौडामा ७ दिने सेल्फ मेकअप (स्वश्रृङ्गार) तालिम भएकाे छ । नेपाल विवेकशील पार्टी मकवानपुर र कृष्मा ब्यूटि पार्लर एण्ड अप स्टुडियोकाे संयुक्त आयोजनामा संचालित ७ दिने सेल्फ मेकअप (स्वश्रृङ्गार) तालिम भएको हाे।
साउन २२ गतेदेखि तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल विवेकशील पार्टी बागमती प्रदेश समितिका सदस्य सुमन आचार्यले सुन्दरताले मानिसको व्यक्तित्वमा निखार ल्याउँने बताए। ‘सुन्दरताले मानिसलाई स्मार्ट देखाउँछ; मानिसमा आत्मविश्वास बढाउँछ। आत्मविश्वासी मानिस जीवनमा सफल हुन्छ’ उनले सहभागीहरुलाई लक्षित गर्दै भने– ‘अहिले टोलटोलमा व्युटिपार्लर खुलेका छन्। श्रृंगार आधारभूत आवश्यकता भैसकेको छ। तपाईंहरू थप तालिम लिएर व्यवसायिक ब्युटिसियन बन्नुहोस्।’
कृष्मा ब्युटिपार्लर एण्ड मेकअप स्टुडियोका संचालक एवम् प्रशिक्षक कमला विश्वकर्माको अध्यक्षतामा भएकाे समापन कार्यक्रममा कार्यक्रममा नेपाल विवेकशील पार्टी बागमती प्रदेश समितिका सदस्य सुमन आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।
मकवानपुर । साहित्यकार प्रीति आत्रेय ज्ञवालीकाे कविता संग्रह अनुभूतिकाे ईन्द्रेणी सार्वजनिक भएकाे छ । भाद्र ११ गते शनिबार ज्ञवालीको कविता संग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर दुर्गाप्रसाद अर्याललगायत अतिथिहरुले “अनुभूतिको इन्द्रेनी” विमाेचन गरेका हुन् ।
शब्दार्थ प्रकाशनबाट प्रकाशित ‘अनुभूतिको इन्द्रेनी’ प्राध्यापक डाक्टर विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानको आयोजनामामा शनिबार कुशे औँसी तथा पिता सम्मान दिवसको दिन काठमाडाैंमा विमाेचन गरिएकाे हाे । साहित्यकार आत्रेयले आफ्ना कीर्ति स्वर्गिय पिता विष्णुराज आत्रेय लाटोसाथीलाई समर्पण गर्दै सम्झनामा प्रकाशन गरिएकाे बताइन् ।
नेपाल वेद विद्याश्रमका पाँच वटुकहरूको स्वस्ति वाचनबाट शुरू भएको कार्यक्रममा आज्ञा आत्रेय न्यौपानेले आफ्नै पिताको संस्कृत महाकाव्य“हनूमदयनम्” बाट केही संस्कृत श्लोकहरू वाचन गरी मंगलाचरण गरेकी थिइन् । प्रमुख अतिथि अर्यालबाट दीप प्रज्वलन एवं कार्यक्रमको निमन्त्रणा पढी कार्यक्रमको उद्घाटन गरिएको थियो । प्राध्यापक रामप्रसाद ज्ञवाली र डाक्टर यज्ञेश्वर निरौलाले समीक्षात्मक शुभकामना दिनु भएकाे कृति विमाेचन कार्यक्रममा आयोजक संस्थाका संरक्षक एवं कृतिकारकी आमा आर्या आत्रेयले सबैलाई धन्यवाद मन्तव्य राखेकी थिइन ।
कार्यक्रममा साइनोकार बालकुमार क्षेत्रीबाट शुभकामना कविताका साथै सार्वजनिक कृतिबाट कविता वाचन, प्राप्ति अर्यालबाट सार्वजनिक कृतिबाट कविता वाचन, आज्ञा आत्रेयबाट पिताको सम्मानमा आफ्नै कविता वाचन, टुक्का अभियन्ता ताराप्रसाद चापागाईँबाट पितासम्बन्धी टुक्का वाचन प्रस्तुत गरिएको थियो । कार्यक्रम आयोजकका तर्फबाट साहित्यकार पार्वती शर्माले शुभकामना मन्तव्यसहित धन्यवाद ज्ञापन गरेकी थिइन् । शेखर अर्यालले मधुर लयका साथ शुभकामना प्रकट गर्दै तीज गीतका टुक्का वाचन गरेका थिए ।

प्राध्यापक पुरुषोत्तम दाहालकाे सभाध्यक्षता तथा प्राध्यापक डाक्टर अर्यालको प्रमुख आतिथ्यतामा भएकाे कृति विमोचन कार्यक्रममा अतिथिहरु डाक्टर सोमनाथ अर्ज्याल, प्राध्यापक डाक्टर कमला सुवेदी, उमा शर्मा न्यौपाने, अरुणा पोखरेल, प्रवीणराज अर्याल एवं साहित्यकार पार्वती शर्मा रहेका थिए ।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, प्राध्याक गाेविन्दराज खनियाँ, रिएण्डा बिज सर्भिसका अध्यक्ष भरत रिजाल, रिएण्डा बिज सर्भिसका निर्देशक पुरुषोत्तम मैनाली, किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारी, विश्व स्वास्थ्य संघका राष्ट्रिय पेशागत अधिकारी सुदन पन्थीकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी सार्थक कंक्रिट प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक आशिष सुवेदी, नेबिल बैंककी प्रमुख जोखिम अधिकारी, नमिता दीक्षित, अच्युत जोशी, गजलकार एम पी पाण्डे, केशव न्यौपाने, चारु अर्याल, अनिता पाण्डे, चिन्तामणि अधिकारी, कंचन दीक्षित, गरिमा पन्थी, रेखा पाण्डेलगायत साहित्य तथा अन्य संघसंस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियाे ।
पुष्पा नेपाल सुबेदी
एउटा अपरिचित नम्बरबाट कल आयो । उठाऊँ कि नउठाऊँ भयो मलाई । उठाइनँ । पाँच मिनेटपछि फेरि त्यही कल आयो । नजिकै श्रीमान् हुनुहुन्थ्यो । उठाऊँ को हो, को हो ? नउठाऊँ झन् शंका हुने । उठाएँ र केही नसुनी भनिदिएँ, केही सुनिएन, म पछि गर्छु है । घरमा फर्केपछि मनमा खुल्दुली भइरह्यो । को थियो होला अपरिचित नम्बरमा ? फोन काटिदिएकोमा के पो सोच्यो होला ? मिस कल भए त दुई दुईपल्ट कल नआउनु पर्ने । श्रीमान् आफ्नो कोठामा स्कुलका कापीहरु जाँचिरहनु भएको थियो । भान्सामा थिएँ म । कल गरेँ । सम्पर्क हुन सकेन भन्यो । तरकारी ओइरिसकेपछि फेरि एक प्रयास गरेँ । फोन लाग्यो ।
एउटा मधुर पुरुष आवाजले भन्यो, हजुर । कल आएको रहेछ । नम्बर सेभ थिएन । को बोल्नुभयो होला हजुर ? मैले यत्ति सोधेँ । पुरुषले भन्यो, म प्रदीप छेत्री । चिन्नुभयो ? तपाईँको नगरमा आएको थिएँ । फोन उठाउनु भएन । म विस्मित भएँ । जसको किताब मेरो सिरानीमा छ अझै । जसको मुक्तक पढेर म अघाउँदिन । उनको आवाजको सबैभन्दा ठुलो प्रशंसक र प्रेमी हुँ म । त्यो आवाजले मलाई एकान्तमा अपरिमित आनन्द दिन्छ । भनोस् लाग्छ, पुष्पा, हिँड एक कप चिया पिऊँ सँगै । अनि अहिले कहाँ ? मैले सोधेँ । म त इटहरी पुगिसकेँ । उनले भने । किन हिजै भन्नुभएन ? मेरो थकथकी झन् बढ्यो । भान्सा छोडेर बेडरुममा गएँ । शरीर शिथिलजस्तो भयो ।
दिउँसको ३ बजिसकेको थियो । म थिएँ बिर्तामोड । बसमा जाँदा तीन घण्टा लाग्थ्यो । फर्किनु कसरी ? आज त्यतै बस्ने हो ? मैले सोधेँ । उनले भने, पौने पाँचको फ्लाइट छ काठमाडौँको । झन् दिक्क लाग्यो । सन्तोषचाहिँ के लाग्यो भने उनीसँग प्रत्यक्ष बोल्न पाएँ । अर्कै ग्रहको जस्तो कथाकार र मुक्तककार मसँग चिरपरिचित जस्तो बोलिरहेको थियो । मनमा यति धेरै भावनाहरु थिए कि के भन्नु, के भन्नु भयो ।
उनले भने, तपाईँसँग बसेर एक कप चिया खान मन थियो । मेरो थकथकीको कुनै सीमा थिएन । उनले फोन काट्न नपाउँदै भनेँ, पुगेपछि फोन गर्नू ल । उताबाट आवाज आयो हस् ।
पौने छ बजेतिर फेसबुकमा उनको मेसेज आयो । म पुगेँ है, मास्टर्नी माया । मैले त्यो मेसेज सयपल्ट पढेँ ।
इलाम
