पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । पाठक झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लड्ने गरी तयारी गरिरहेका छन् ।
उनले चुनावका लागि घोषणापत्र लेखिरहेका छन् । त्यो केही दिनमै सार्वजनिक हुँदैछ । तर, पाठकले उक्त दस्तावेजलाई सामान्य घोषणापत्र मात्र भनेका छैनन्, ‘दार्शनिक ग्रन्थ’ भनेका छन् । ‘यो सामान्य चुनावी घोषणापत्र होइन । दार्शनिक ग्रन्थ नै हो । ग्रन्थमार्फत नेपाली समाज र संसारलाई एउटा दार्शनिक प्रस्तावना दिने मेरो कोसिस हो,’ इकागजसँग उनले भने ।
‘उर्गेनको घोडा’, ‘माङ्गेना नेपाल मन्थन’का लेखक पाठक तत्कालीन प्रधानमन्त्री ओलीले ५ मंसिर २०७७ मा संसद् विघटन गरेपछि त्यसलाई असंवैधानिक कदमको संज्ञा दिँदै ओलीविरुद्ध सडकमा उत्रिएका थिए । नेपाली, अंग्रेजीलगायतका भाषामा प्रकाशित हुने उक्त ग्रन्थ केही दिनपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उनको तयारी छ । सम्पूर्ण बाल्यकाल झापामा बिताएका पाठक झापासँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउँछन् । ‘म त्यहाँ हुर्केँ, बढेँ । झापाको सामाजिक संरचना, उहाँहरूको बोलीचाली, सोच्ने र भाेग्ने तरिका आदी मलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘त्यसैले त्यहाँबाट एउटा दार्शनिक अभियानको सुरुवात गर्दैछु ।’
आफ्ना अभियानमा झापालीहरूले साथ दिनेमा उनी आशावादी छन् । उनको उम्मेदवारी र चुनावी तयारीका सन्दर्भमा इकागजका कमल विष्टले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंशः
तपाईंको उम्मेदवारीले धेरै सरप्राइज्ड भएका छन् । यो आकस्मिक हो कि पहिलेदेखि नै तयारीमा हुनुहुन्थ्यो ?
आकस्मिक होइन । मैले लामो समयदेखि एउटा अध्ययन तथा बहस गरिरहेको थिएँ, विभिन्न कोणबाट । नेपालमा धेरै राजनीतिक आन्दोलन भए, तिनले परिवर्तन ल्याए । तर, ती परिवर्तनपछि पनि पार्टी र नेताहरू सधैँ असफल मात्र भइरहे । यसले नागरिकमा निराशा ल्यायो । तर, यो नेता वा पार्टीको समस्या होइन । बरु राजनीतिक दर्शनको समस्या हो । समस्या दर्शनमै हो र यसो भएपछि नेताहरूको केही लाग्दैन भन्ने बहस मैले केही वर्षदेखि उठाइरहेकै हो । तर, यो संकटको कारण र उपाय के हो भन्ने चाहिँ थाहा पाउन सकेको थिइनँ । लामो अध्ययन तथा बहसपछि अहिले चाहिँ यसबाट बाहिर निस्कने उपाय पत्ता लगाएँ ।
हामीसँग जे जति दर्शनहरू छन्, तिनले हामीलाई मात्र होइन, संसारलाई नै आशा दिन नसक्ने अवस्थामा पुगिसकेका छन् । त्यो विचारहीनताको जञ्जालबाट बाहिर निस्किएर एउटा नयाँ विचारको आलोकमा राजनीति र समाजलाई रिकन्सट्रक्ट गर्नुपर्छ भन्ने लाग्यो ।
नेपालमात्र युरोप, चीनलगायत सारा संसार संकटमा छ । यो समस्यालाई चिर्न र संसारलाई नयाँ ढंगबाट अगाडि लैजानका निम्ति पछिल्लो २० वर्षदेखि विश्वभर विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेका छन् ।
यही विचारहीनताकाे अवस्थालाई केन्द्रमा राखेर मैले दार्शनिक ग्रन्थ तयार पारिरहेको छु । यो सामान्य चुनावी घोषणापत्र मात्र होइन । दार्शनिक प्रस्ताव हो । यो प्रस्तावमार्फत नेपाली समाज र संसारलाई एउटा नयाँ दार्शनिक प्रस्तावना दिने एउटा कोसिस हो । ग्रन्थउपर थप बहस हुँदै जाँदा सीमारेखाहरू देखा पर्दै जान्छन् । ती सीमाहरूलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ । समाज तथा मानिसको मनमा नयाँ आशाको उत्पादन गर्ने र हामी आफैँ गर्न सक्छौँ भनेर मनोवैज्ञानिक राजनीतिक शक्ति उत्पादन गर्ने यसको मुख्य उद्देश्य हो । र, त्यो उद्देश्यको प्राप्तिका लागि मेरो उम्मेदवारी सानो औजार मात्र हो ।
ओलीको संसद् विघटनको कदमलाई असंवैधानिक करार गरेर तपाईंलगायत नेतृत्वको बृहत नागरिक आन्दोलन सडकमा आयो । ओलीको खरो आलोचक तपाईं अहिले उनीविरुद्ध चुनावमा जाँदै हुनुहुन्छ । यो संयोग मात्र हो कि नियोजित ?
मैले झापा ५ राेज्नुका मूलतः दुई कारण छन् । पहिलो कारण, म त्यहाँ हुर्केँ, बढेँ । झापाको सामाजिक संरचना, झापालीको जनजीवन, ती जीवनले भाेग्ने र बुझ्ने तरिका मलाई राम्रोसँग थाहा छ । त्यसमा म भिजेको छु । त्यहाँबाट मैले दार्शनिक अभियान गर्न पाएँ नागरिकले साथ दिन्छन् भन्ने लागेको छ ।
कसैको आशाबाट नभइ आफ्नै शक्ति तथा ढंगबाट समाज र देशको विकास गरौँ भन्ने हुटहुटीले झापा रोजेको हुँ । उहाँहरूले पनि त्यसलाई आफ्नो ठानेर अगाडि बढ्नु हुन्छ र एउटा निराशाको खाडलबाट निस्कन सकिन्छ भन्ने विश्वास छ ।
अब अर्को कारणबारे भन्छु । झापा ५ नै राेज्नुकाे यो वा त्यो कारण छैन । हामीसँग भएका सबै दार्शनिक अवधारणा, चाहे त्यो उदार लोकतन्त्र होस् वा मार्क्सवाद वा कुनै अरु । कुनै पनि अवधारणाले अब दुनियाँलाई अगाडि बढाउन सक्ने अवस्था छैन । यी तमाम अवधारणाका एकजना जबरदस्त नेता हुन् ओली । उहाँ त्यहाँबाट लड्नुभयो भने उहाँसँगै लड्ने निधो गरेको हुँ । ओलीसँग लड्ने भनेको भनेको चाहिँ एउटा दार्शनिक अवधारणालाई एउटा नयाँ उचाइमा पुर्याउन र बहस सिर्जना गर्न सजिलो होस् भनेर हो ।
केही गरी ओली त्यहाँबाट उठेनन् भने ?
त्यहाँबाट उठ्नुभएन भने उहाँ आफ्नो तरिकाले जानुहुन्छ । म आफ्नै तरिकाले जान्छु ।
तपाईंको चुनावी अभियान कस्तो भइरहेको छ ?
मैले तपाईंलाई भनिसकेँ कि म अहिले जनतामा विचार हुनुपर्छ भनेर लागिरहेको छु । हाम्रो राजनीतिमा अहिले विचारशून्यताको अवस्था छ । राजनीतिमा विचारै छैन । यो ठूलो चोर हो कि त्यो ठूलो चोर भन्ने खालको राजनीति भइरहेको छ । त्यसैले, मैले अहिलेसम्म विचारमा काम गरिरहेँ । अब प्रत्यक्ष–परोक्ष रुपमा विभिन्न भागमा पुग्ने, सहभागी हुने, साथीहरूसँग अन्तरक्रिया गर्ने आदि कार्य त लामो समयदेखि चलिरहेको छ । चुनावकै लागि भनेर अब म बल्ल जाने हो ।
२०७४ को निर्वाचन परिणाम हेर्दा झापा ५ मा एमाले बलियो देखिन्छ । ओलीलाई पराजित गर्ने तपाईंको आधार के हो ?
यो कुरा विचार कति नागरिकमाझ पुग्न सक्यो भन्ने कुराले निर्धारण गर्छ । विचारलाई जति धेरै नागरिकमाझ लान सकियो र उहाँहरूलाई अनुभूति गराउन सकियो त्यति नै नागरिकले जित्ने सम्भावना हुन्छ । यहाँ मेरो जित वा हारको कुरा छैन । नागरिकहरूले आफैँलाई सक्रिय बनाउने र जिताउने विचारधारा निर्माण गर्ने हो ।
तपाईं नागरिक आन्दोलनका अगुवामध्येको एक । तपाईं राजनीतिमा लागेपछि यो कसरी अगाडि बढ्छ भन्ने धेरैको संशय छ । के भन्नुहुन्छ ?
नागरिक आन्दोलन लामो समयदेखि विभिन्न ढंगले चल्दै आएको छ । युग पाठक त्यसमा पछिल्लो समय मिसिएको पात्र न हो । युग पाठक हुँदा नहुँदा फरक पर्दैन । अहिले जो साथीहरू हुनुहुन्छ, उहाँहरूले चलाइरहनुहुन्छ । अहिले फेरि थुप्रै नयाँ पुस्ताका साथीहरू आइरहनुभएको छ । उहाँहरूले चलाइरहनुभएको छ, चलाउनुहुनेछ । यो रोकिँदैन । चलि नै रहन्छ ।
अर्को महत्वपूर्ण कुरा, नागरिक आन्दोलनलाई मेरो सदैव साथ र सहयोग भइरहन्छ । सँगै उभिँदा केही फरक पर्दैन । समाजलाई अझ न्यायपूर्ण, अझ राम्रो बनाउने कुरामा हामी सधैँ सँगै त छौँ नि ।
तपाईं कुनै समय कट्टर माओवादी हुनुहुन्थ्यो । तपाईंले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि धेरैले बडो सन्देहसाथ हेरिरहेका छन् नि ?
म विशुद्ध रुपमा स्वतन्त्र उम्मेदवार हुँ । मैले सैद्धान्तिक रुपमै कुनै पार्टीबाट उठ्नै मिल्दैन । म पुराना अथवा चलिआएका विचारधाराले काम गर्न सक्दैन भनिरहेको छु । हामीसँग भएका कुनै पनि पुराना र नयाँ पार्टीले समाजलाई अगाडि लान सक्दैन भन्ने मेरो निष्कर्ष हो । यस्तो निचोडमा पुगेको व्यक्तिले फेरि कुनै दलबाट चुनाव लड्छ होला त ? मैले कुनै पार्टीबाट टिकट माग्ने र उठ्ने कुरै हुँदैन । इकागज डटकमबाट
प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ ।
निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृति मागेको थियो ।
अर्थ मन्त्रालयले गत आइतबार माग भएभन्दा ५ हजार संख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।
– पुरानालाई प्राथमिकता, नपुग नयाँ
– भगौडालाई भर्नाबाट वञ्चित गराइने
गृह मन्त्रालय प्रवक्ता फणीन्द्रमणि पोखरेलले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयबाट स्वीकृति आएको जानकारी दिए ।
‘१ लाख १५ हजार म्यादी भर्नाका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ, स्वीकृति आएसँगै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने म्यादी भर्नाका लागि बाटो खुल्यो,’ गृह मन्त्रालयका प्रवक्ता पोखरेलले भने ।
गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी छनोट प्रक्रियामा प्राथमिकतामा राख्नेगरी तयारी गरेको छ । पुरानाबाट अपुग भएको अवस्थामा नयाँलाई भर्ना गर्ने तयारी छ ।
यसरी भर्ना गरिने म्यादी प्रहरीको कार्यकाल पनि स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुनेछ । स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।
नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले स्थानीय तह निर्वाचनमा जिम्मेवारी पूरा गरेका म्यादीलाई आगामी भर्ना छनोट प्रक्रियामा पहिलो प्राथमिकतामा राखिने जानकारी दिए ।
पूर्वसुरक्षाकर्मी पनि भर्नाका लागि प्राथमिकतामा पर्ने उनको भनाइ छ । ‘पहिले जिम्मेवारी पूरा गरेकासँग अनुभव पनि छ, उनीहरूलाई ल्याउँदा तालिमको आर्थिक भार पनि कम पर्छ,’ प्रहरी प्रवक्ता राईले भने ।
तर, पहिले भर्ना गरिएका म्यादीलाई पुनः भर्ना गर्न भने भर्नासम्बन्धी कार्यविधिमै परिमार्जन गर्नुपर्ने हुन्छ । ‘कार्यविधि तयार छ, केही परिमार्जन गर्नुपर्ने अवस्था पनि हुनसक्छ, पहिलेका म्यादीलाई फेरि भर्ना गर्ने अवस्थामा कार्यविधि परिमार्जन हुन्छ,’ प्रहरी प्रवक्ता राईले भने ।
उनका अनुसार नयाँ भर्ना हुने म्यादीका लागि भगौडामा परेका तथा पूर्वसुरक्षाकर्मी भने ‘अयोग्य’ हुनेछन् । पहिले खटिएका तर अनुशासन कारबाहीमा परेका पूर्वम्यादी पनि नयाँ भर्नाका लागि योग्य मानिनेछैन ।
प्रधान कार्यालयले जिल्लागत रूपमै आफ्नाे संरचनागत तहबाट आवश्यक म्यादी प्रहरीको आँकडा मागिसकेको छ । निर्वाचन आयोगसँगको छलफलपछि जिल्लागत अवस्थाअनुसार म्यादी भर्नाको थप प्रक्रिया अघि बढ्ने बताइएको छ ।
निर्वाचन आयोगले भने स्थानीय तहभन्दा आगामी निर्वाचनमा मतदानस्थल र केन्द्र बढ्ने बताउँदै आएको छ । राजधानी दैनिकबाट
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वार्षिक विवरण सार्वजानिक गरेको छ । आयोगले पत्रकार सम्मेलन गरि आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कामहरुको तथ्याङगत विवरण सार्वजानिक गरेको हाे ।
भ्रष्ट्राचार न्यूनिकरणको लागि सहकार्य सम्वन्धी छलफलमा आयोगका उपसचिव एंव सुचना अधिकारी विष्णुप्रभा सापकोटाले वार्षिक १३ हजार भन्दा बढी उजुरी दर्ता भएकाे जानकारी दिए । सापकोटाले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ, प्रदेशगत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा जानकारी दिएका थिए ।
सापकाेटाका अनुसार आयाेगकाे हेटाैडा कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका उजुरी १३ हजार ५६ तथा आर्थिक वर्ष २०७७/७८ काे फर्छ्यौट हुन नसकी जिम्मेवारी सारिएकाे बाँकी ८ हजार ९३ उजुरी रहेका छन् । आयाेगकाे हेटाैडा कार्यालयमा दर्ता भएका उजुरीमध्ये १३ हजार १ सय ६ उजुरी फर्छ्यौट भएको सापकोटाले बताए ।
‘आयोगले चालु आर्थिक वर्षमा ९० वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेकाे छ’ सापकाेटाले भने– ‘उक्त मुद्दाहरूमा ४ सय ६३ जना व्यक्तिलाई प्रतिवादी बनाईएको छ ।’ विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णयबाट २ अर्ब ५४ करोड ४७ लाख ६ हजार ४४ रुपैयाँ बिगो मागदाबी गरिएकाे उनले बताए । विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेकाे ९० वटा मुद्दा मध्ये राष्ट्रसेवक कर्मचारी २ सय २२ जना, निर्वाचित र मनोनित पदाधिकारी १ सय जना, मतियारहरुमा १ जना पूर्व मन्त्री, व्यवसायी र अन्य गरी १ सय ४० जना रहेका छन् ।
आयोगमा सार्वजनिक खरिद, निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेकाे बताइएकाे छ । सापकाेटाले सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी उजुरी प्रायः दर्ता हुने गरेकाे बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु समेत दर्ता भएको सापकोटाले बताए ।
कार्यक्रममा आयोगका प्रमुख सहसचिव नरहरि घिमिरेले भ्रष्टाचार रोकथामका लागि सञ्चारमाध्यमले पनि नागरिकलाई सचेतना फैलाउन आग्रह गरेका छन् । उनले कानुनी दायरामा रहेर भ्रष्टचारीलाई कारवाही गरि भ्रष्टचारको अन्त्य गर्नतर्फ आयोग लागि रहने बताए ।
मकवानपुर । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे हेटाैडा कार्यालयमा हेटाैडा उपमहानगरपालिकाकाे उजुरी बढी परेकाे छ । मकवानपुरका १० स्थानीय तह मध्ये उपमहानगरपालिकाकाे आर्थिक वर्ष २०७८।०८९ मा धेरै उजुरी परेकाे अख्तियार हेटाैडा कार्यालयले जनाएकाे छ । आर्थिक वर्ष २०७७।०७८ मा भन्दा गत आर्थिक वर्षमा धेरै उजुरी परेका हुन् ।
मकवानपुर अन्य स्थानीय तह मध्ये गत आर्थिक वर्षमा सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले जानकारी दिए । आयोगको हेटौंडा स्थित कार्यालयले पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८।०७९ मा १ सय २४ वटा उजुरी परेका जानकारी गराइएकाे हाे । उपमहानगरपालिका सम्बन्धी आर्थिक वर्ष २०७७।०७८ मा ४५ वटा मात्र उजुरी परेका अख्तियारले जनाएकाे छ ।
यसैगरी विगत २ वर्षमा हेटाैडा पछि धेरै उजुरी परेका स्थानीय तहमा मनहरी गाउँपालिकाको ४२ वटा, बकैया गाउँपालिकाको २१ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा, कैलाश गाउँपालिकाकाे १२ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, थाहा नगरपालिकाकाे ८ वटा बागमती गाउँपालिकाको ६ वटा र इन्द्रसराेवर गाउँपालिकाकाे ४ वटा दर्ता भएकाे सूचना अधिकारी सापकोटाले बता ।
परेका उजुरीहरुको छानविन गर्ने र फच्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिए ।

