मकवानपुर । मकवानपुरमा वर्ड फ्लु राेग नियन्त्रणकाे पूर्व तयारी थालिएकाे छ । विहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा जिल्ला वर्ड फ्लु राेग नियन्त्रण प्राविधिक समितिकाे वैठक बसी आवश्यक तयारी थालिएकाे हाे ।
बैठकलाई नियमित गराउदै पुर्व तयारी सधै तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे निर्देशन दिए । चिसाे माैसम सुरु भएसँगै पंक्षी तथा पंक्षीजन्य पदार्थबाट सर्ने संक्रामक राेग वर्ड फ्लु संक्रमण फैलिने भएकाेले पूर्व तयारी थालिएकाे भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरले जनाएकाे छ । केन्द्रका अनुसार मंसिरपछि पंक्षी फार्महरूमा नियमित अनुगमन गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने प्राविधिक समितिकाे वैठकले संक्रामक राेग वर्ड फ्लुबाट बच्नकाे लागि कुखुरा व्यवसायी संघसँगकाे सहकार्यमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनचेतनाकाे काम अघि बढाउने निर्णय गरेकाे छ । यसैगरी, वर्ड फ्लु भई नष्ट गरिएका पंक्षी तथा पंक्षीजन्य पदार्थकाे राहत उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने समेत निर्णय बैठकले गरेकाे भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका पशु चिकित्सक डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
मकवानपुर जिल्लामा मात्रै ५ लाखको हाराहारीमा पंक्षी ब्यवसायी रहेको बताइएको छ । कुखुरा व्यवसायी संघका गाेकुलनाथ पाैडेलका अनुसार दानाको मुल्य बढेपछि व्यवसायी बिस्थापित हुँदै गएका छन । व्यबसायीलाई राज्यले यसबर्ष मात्रै ५७ करोड ६४ लाख राहत प्रदान गरेको पौडेलले बताए । पाउनु पर्ने सबै राहत अझै उपलब्ध गराइसकेको छैन । राहत भन्दा खोप सस्तो हुने भएपनी नेपालमा कुखुरामा लगाउने खोप सरकारले उपलव्ध गराएको छैन ।
वर्ड फ्लु राेग नियन्त्रण पूर्व तयारी बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डे,सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कडेंल, पशु चिकित्सक ठाकुर, प्रहरी उपरीक्षक वामदेव गौतम, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निरीक्षक पप्पु शर्मा पौडेल, प्रमुख सेनानी सुभाष चन्द्र महत, गणपती सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की, हेटौडा अस्पतालका अस्पताल व्यवस्थापक सुरेन्द्र देव वडु, जिल्ला समन्वय समितिका शाखा अधिकृत सुनिता गजुरेल, नेपाल रेडक्रस साेसाइटीका रामजी प्रसाद खतिवडा, कुखुरा व्यवसायी संघका गाेकुलनाथ पाैडेललगायतका सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरमा २९ जना डेंगु संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा जिल्लामा २९ जनामा डेंगु संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ५ हजार ९ सय ६५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार उक्त संख्या गत साउन महिनादेखिको हो । संक्रमित मध्ये २ हजार ९ सय ६ जना पुरुष र २ हजार ३ सय ५९ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । उपमहानगरपालिकामा २ हजार २ सय ५२ जना पुरुष र १ हजार ८ सय १६ जना महिला गरी ४ हजार ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ४ सय २२ जना पुरुष र ३ सय ७४ जना महिला गरी ७ सय ९६ जना, थाहानगरपालिकामा १ सय ३ जना पुरुष र ६४ जना महिला गरी १ सय ६७ जना, मकवानपुरगढी गाउँपालिकामा ४३ जना पुरुष र २८ जना महिला गरी ७१ जना, भीमफेदी गाउँपालिकामा १८ जना पुरुष र २२ जना महिला गरी ४० जना रहेका छन् ।
यसैगरी, बकैया गाउँपालिकामा १५ जना पुरुष र २५ जना पुरुष गरी ४० जना, राक्सिराङ गाउँपालिकमा १६ जना पुरुष र ४ जना महिला गरी २० जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ३ जना महिला गरी ७, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र १९ जना महिला गरी २९, अन्य जिल्लाका १२ जना पुरुष र ४ जना महिला गरी १६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, जिल्लामा संक्रमणका कारण हालसम्म हेटौंडा उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको छ ।
मकवानपुर । मकवानपुरकाे प्रदेश सभा सदस्य पदका उम्मेदबारले आजबाट आफ्नाे क्षेत्रमा घरदैलाे अभियान सुरु गरेकी छिन् । मकवानपुरकाे क्षेत्र नम्बर २ काे कका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी मोक्तानले गरेकाे घर दैलाे अभियानमा हेटौंडा ११ सिमलटार स्थानीयले जग्गाकाे लालपूर्जा उपलब्ध गराइदिन आग्रह गरेका थिए ।
उनले विहीबार बिहान हेटाैडा ११ सिमलटारमा अभियान सुरु गर्दै सिमलटारबासीको समस्या, गुनासो र अपेक्षाहरु सुनेका थिए ।आफ्नो टोलमा मत माग्दै आइपुगेका मोक्तानसँग स्थानीयहरुले बसोबास गर्दै आएको जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदन आग्रह गरेका हुन् । मोक्तानसँगको भेटमा एकसय छ वर्षीय धनमाया पाख्रिनले भनिन्, ‘यो बस्तीमा बाटो, बिजुली ल्याइदिनुभयो । अब एउटा पूर्जा दिनुहोला जमिनको ।’ अघिल्लो पटक पनि मोक्तनलाई आफुहरुले जिताएर पठाएको बताउँदै उनले फेरि मत दिन पाउने भएपछि खुशी लागेको बताइन् ।
घरदैलो अभियान पछि काेणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफुले सकेको पहल गर्ने बताईन् । ‘तपाईहरुले तटबन्धन र सडक स्ल्याप माग्नुभयो, त्यो पुरा भएको छ, अब जग्गधनी लालपूर्जाको लागि पनि म तपाईहरुसँगै रहेर पहल गर्नेछु’, मोक्तानले भनिन्, ‘गठबन्धनलाई विजयी गराइदिनुहोला । हाम्रो सरकार बनेपछि तपाईहरुका धेरै अपेक्षा हामी पुरा गर्नेछौं ।’
सिमलटारमा मकवानपुरको बिभिन्न क्षेत्रबाट आएर बसोबास गरेका करिब दुई हजार परिवार रहेको छ ।
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको साधारणसभा स्थगित भएकाे छ । महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन प्रति महासंघले शोक व्यक्त गर्दै १७ औं साधारणसभा स्थगित गरिएको हो ।
महासंघ मकवानपुरकाे साधारणसभा कात्तिक १९ गते शनिबार हुने गरी कार्यक्रम तय गरिएकाे थियो । महासंघ मकवानपुरको बुधबार बसेकाे कार्यसमिति बैठकले पूर्व अध्यक्ष पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेकाे हाे । साथै बैठकले शाेकका कारण कात्तिक १९ गते तय भएकाे साधारणसभा स्थगित गर्दै यही कात्तिक २५ गते साधारणसभा गर्ने गरी निर्णय समेत गरेको छ। शोककै कारण कात्तिक २१ गतेलाई निर्धारण गरिएको एडभान्स पत्रकारिता तालिमसमेत स्थगित गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
पाण्डेको निधनको शोकमा महासंघ मकवानपुरले बुधबार श्रद्धाञ्जलीसभाको समेत आयोजना गरेको छ । श्रद्धाञ्जली सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट र नवराज शर्माले पाण्डेको व्यक्तित्व र पत्रकारितामा गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, महासंघ मकवानपुरका अध्यक्ष गौतम, महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी नेपाल बागमती प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष अन्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार), स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतकाको उपस्थिति रहेको थियो ।
महासंघ मकवानपुरका पूर्व अध्यक्ष पाण्डेको ७५ वर्षको उमेरमा गत कात्तिक १० गते निधन भएको थियो । महासंघको नेतृत्वमा बुधबार नै पाण्डेको परिवारलाई भेट गरी समवेदनासमेत प्रकट गरेको छ ।
मकवानपुर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा निर्वाचन खर्चको सिमा कायम गरेकाे छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा निर्वाचन खर्चको अधिकतम हद आयाेगले कायम गरेको हाे ।
राजनीतिक दलको तर्फबाट हुने निर्वाचन सम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्न, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा दलको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण १० दिनभित्र आयोगमा पठाउनु पर्ने निर्णय पनि आयोगले गरेको छ ।
निर्वाचन प्रचारप्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (१) बमोजिम त्यस्तो दलले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्ने व्यवस्था छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने प्रत्येक राजनीतिक दलले मिति २०७९-०६-३१ को नेपाल राजपत्रमा प्रकाशित निर्वाचन खर्चको हद सम्बन्धी सूचना बमोजिम मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यम (समाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शीर्षकमा खर्च गरेको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोगमा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

