मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको साधारणसभा स्थगित भएकाे छ । महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन प्रति महासंघले शोक व्यक्त गर्दै १७ औं साधारणसभा स्थगित गरिएको हो ।
महासंघ मकवानपुरकाे साधारणसभा कात्तिक १९ गते शनिबार हुने गरी कार्यक्रम तय गरिएकाे थियो । महासंघ मकवानपुरको बुधबार बसेकाे कार्यसमिति बैठकले पूर्व अध्यक्ष पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेकाे हाे । साथै बैठकले शाेकका कारण कात्तिक १९ गते तय भएकाे साधारणसभा स्थगित गर्दै यही कात्तिक २५ गते साधारणसभा गर्ने गरी निर्णय समेत गरेको छ। शोककै कारण कात्तिक २१ गतेलाई निर्धारण गरिएको एडभान्स पत्रकारिता तालिमसमेत स्थगित गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
पाण्डेको निधनको शोकमा महासंघ मकवानपुरले बुधबार श्रद्धाञ्जलीसभाको समेत आयोजना गरेको छ । श्रद्धाञ्जली सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट र नवराज शर्माले पाण्डेको व्यक्तित्व र पत्रकारितामा गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, महासंघ मकवानपुरका अध्यक्ष गौतम, महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी नेपाल बागमती प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष अन्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार), स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतकाको उपस्थिति रहेको थियो ।
महासंघ मकवानपुरका पूर्व अध्यक्ष पाण्डेको ७५ वर्षको उमेरमा गत कात्तिक १० गते निधन भएको थियो । महासंघको नेतृत्वमा बुधबार नै पाण्डेको परिवारलाई भेट गरी समवेदनासमेत प्रकट गरेको छ ।

