मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा भएको निःशुल्क आँखा शिविरमा २ सय १० जनाको आँखा परीक्षण गरिएको छ ।
राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपाल, नेपाल नेत्र ज्योति संघको संयुक्त आयोजनामा भएको आँखा शिविरमा नेत्र रोग बिशेषज्ञ डाक्टरहरुले सेवा दिएका हुन् । प्रस्तावित श्री कृपालु अस्पताल हटिया १७ वडा कार्यालय नजिकै जुरेथुममा भएको शिविरमा नेपाल आँखा अस्पताल सिमराको प्राविधिक सहयोग रहेको थियो ।
नेपाल आँखा अस्पताल सिमराका डाक्टर कल्याण ढुङ्गाना, डाक्टर मुकेश दराई, आँखा स्वास्थ्य सहयोगी साजन प्रसाद यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्वास्थ्यकर्मी अस्मिता काफ्ले, भक्तपुर अस्पतालकाकी स्वास्थ्यकर्मी अस्मिता पौडेलद्वारा बिरामीको आँखा परिक्षण गरिनुका साथै निशुल्क औषधि समेत वितरण गरेका थिए । प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिदै आएको निरोज निरौंलाले जानकारी दिए ।
मकवानपुर । काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले ५ हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।
काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए ।
च्याम्पियनशीपका शिर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए ।
रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथी जीत दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् । पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ ।
गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ । नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडी हरुलाई मध्येनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनशीपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्ड समेत प्रयोगमा ल्याएको छ ।
सातै प्रदेशका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पिनशीपको कुल पुरस्कार राशी १ लाख ७४ हजार रुपैंया रहेको छ । स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्र्तगत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनशीप अन्तरगत आईतबार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।
मोरङ (बिराटचोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका छन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए ।
रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् ‘धेरै पटक अरूलाई हेर्यौं अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो । हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हेरौँ भनेर हो ।’
चौधरीले महिला प्रतिनिधि आउँदा आफ्नो समस्या गुनासो सुनाउन समेत सहज हुने जिकिर गर्दै भनिन् ‘पुरुष प्रतिनिधि आउँदा के भन्ने के बोल्ने भन्ने हुन्थ्यो । महिला नै प्रतिनिधि हुँदा समस्या सुनाउन समेत सहज हुने रहेछ ।’ मोरङ ३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कङ्ग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यश क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा चिन्ताजनक अवस्थामा रहे पनि थापालाई महिला तथा युवाहरूले बलियो साथ दिएका छन् ।
यस अघि शुक्रवार समेत घरदैलोका क्रममा थापालाई पथरीशनिश्चरेका स्थानीय महिलाहरूले फुल माला र अबिरसहित उत्साहजनक ठंगले स्वागत गरेका थिए । त्यस्तै बेलबारी, कानेपोखरी र पथरीका सुकुम्वासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए । जस कारण पनि थापाको उपस्थिति कङ्ग्रेस र एमालेको लागि चिन्ताजनक बन्दै गएको छ ।
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदबार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्प सार्वजनिक गरेकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डिनाले सार्वजनिक गरेकाे संकल्पमा सबल महिला, अवसरमा पहिला भन्दै महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेकी छिन् ।
नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी उनले संकल्पमा युवा रोजगारलाई प्राथमिकता दिएकी छिन् । हेटौंडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिएकी छिन् । विद्यार्थी राजनीति हुँदै संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले संकल्पमा समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान गर्ने उल्लेख गरेकी छिन् ।
त्यसैगरी उनले शान्ति र समृद्धिको पहिचान, गठबन्धनको सरकार निर्माणमा जोड दिएकी छिन् । डिनाले सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाबाट रोजगारी दिने आधारहरु प्रस्तुत गरेकी छिन् । सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, विकट भेगमा समेत आवश्यक भौतिक संरचनाको निर्माणमा डिनाले प्रतिबद्धता जनाएकी छिन् । पूर्व राज्यमन्त्री भएर समेत काम गरिसकेकी उनले सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान र सरोकार रहने उल्लेख गरेकी छिन् ।
विद्यार्थी र महिला नेतृ हुँदै कुशल सहकारीकर्मीको परिचय समेत बनाइसकेकी उनले शिक्षाको क्षेत्रमा समेत योगदान पु¥याएकी छिन् । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवम् सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेसको सिफारिसमा सत्तारुढ गठबन्धनले आफूलाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको उनको दाबी रहेकाे छ ।
प्रत्यक्ष जनताको सुखदुःखमा रहेर काम गर्न र महिला नेतृत्वका लागि भन्दै समानुपातिकतर्फको पहिलो नम्बरमा रहेको आफ्नो नाम छोडेर प्रत्यक्षतर्फ चुनावमा आफू होमिएकाे डिना बताउँछिन ।
