मकवानपुर । हिन्दुहरुकाे प्रमुख चाड महाशिवरात्री पर्व आज आइतबार मनाइदैछ । महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। महाशिवरात्री पर्व आइतबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ ।
देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न पशुपतिमा आउने गरेका छन् । महाशिवरात्री पर्वमा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्रा्ष्ट्रिय मेला नै हो । यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।
यस पर्वका दिन उपवास गरी ” ॐ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ।
यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र दूध, भाङ आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन्। शिव लिङ्गमा बेल-पत्र चढाउनु, उपवास तथा रात्री जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ। सबै पौराणिक कथामा नीलकन्ठको कथा सबैभन्दा चर्चित छ । महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो भनिन्छ । भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि स्वयम्ले ति सबै विष पिएका थिए । त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो । त्यसैले भगवान शिवलाई नीलकण्ड पनि भनिन्छ ।
यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपितापरमात्माले सृष्टोलीा अवतरित भएको स्मृति पर्व हो। यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन/सङ्केत गर्छ। परमात्मा नै ज्ञानको सागर हो, जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन्। यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुद्ध भएर उपवास गर्ने गरिन्छ।
यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजिकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ। राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ। व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।
महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो। यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-
॥शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥
चतुर्दशी तिथिका स्वामी भगवान शिव हुन्। अत: ज्योतिषशास्त्रमा यस तिथिलाई परम् शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्री प्रत्येक महिनाको चतुर्दशीका दिन पर्दछ। तर फागुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रि मध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अत: महाशिवरात्रिमा सरल उपाय गर्दा मात्र पनि इच्छित सुखको प्राप्ति हुन्छ।
ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चन्द्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ। जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन्। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापना अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ।
शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दुधले स्नान गराइन्छ। सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ।
महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किराँतेश्वर, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनको भीड लाग्दछ। यस अवसरमा भारत लगायत विश्वको विभिन्न स्थानहरूबाट जोगी, योगी एवं भक्तजन पशुपति मन्दिरमा आउँछन्।
- रमादेवी अधिकारी
सबै महिलाहरूले भोग्ने साझा विषय ।
कसैले वास्ता गर्दैन समाधानको उपाय ।
चिटचिट पसिना, तनाव, रिस उठ्छ ।
भावना बुझ्ने भए केही सहज हुन्छ ।
दु:ख पिएर बसे कहेनन् आमा,दिदीहरू ।
सम्बन्ध जोगाउन धेरै सहे कठिनाईहरू ।
श्रीमान् सोच्छन् कमि भयो मायामा ।
छोराछोरी भन्छन् गनगन गर्छिन् आमा।
बढ्दो उमेरले बच्चामा हर्मोन गडबढी ।
आमालाई पनि समस्या हुन्छ झन् बढी ।
समस्या नबुझ्दा आमाहरू परे एकल ।
भएका छन् कति परिवार अलमल ।
आजसम्म पनि धेरैले बुझेका छैनन् हेर ।
त्यसैले त यसमा परेन कसैको नजर ।
महिनावारी सुक्ने सक्ने बेला हुन्छ सबैमा ।
यसमा व्यापक छलफल गरौँ घरघरमा ।
चितवन । गैंडाकोटका निर्दोष जीवनको प्रेमको सुगन्ध सार्वजनिक गरिएको छ । गजल मञ्च चितवन प्रकाशक रहेको उक्त कृतिको शुक्रबार गैंडाकोटमा विमोचन गरिएको हो ।
काव्य काफिया र वि फाइभको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैंडाकोट नगरपालिका -१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले कृति विमोचन गरेका हुन् ।
गैंडाकोट – १ का वडाध्यक्ष रेग्मीले प्रेमले सबैलाई एकताको सूत्रमा बाँधने बताए । ‘प्रेमले मानिसलाई एकताको सूत्रमा जोड्छ । प्रेम दिवसको अवसरमा आएको यो कृतिले सबैलाई प्रेममा समाहित हुन प्रेरित गर्ने विश्वास लिएको छु’ रेग्मीले भने ।
साहित्यकार शेरचनले साहित्य सिर्जनामा सक्रिय निर्दोष जीवनका मुक्तकहरू साँच्चिकै सुन्दर रहेको बताइन् । ‘प्रेमको सुगन्धमा मुक्तकहरूको विविधता छ’ शेरचनले भनिन् ‘संरचनाका हिसाबले सबै मुक्तक उत्कृष्ट छन् ।’
‘प्रेमको सुगन्ध’ केवल कृति होइन, अनुभूति हो । मुक्तक विधा नेपाली साहित्यमा संक्षिप्त तर गहिरो भाव अभिव्यक्तिको सशक्त माध्यम हो’ उनले भनिन् ।
‘निर्दोष जीवनका मुक्तकहरूमा प्रेमको सुगन्ध, स्मृतिको मिठास, जीवनको पीडा, र मानवीय संवेदनाको सूक्ष्म कम्पन एकैसाथ अनुभूत गर्न सकिन्छ’ उनले भनिन् ‘कृति केवल प्रेमको बयान होइन यो जीवनप्रतिको दृष्टि, स्मृतिप्रतिको श्रद्धा, र भावनाप्रतिको निष्ठा हो यसले पाठकको मन छुनेछ, मुक्तक विधालाई अझ सशक्त बनाउनेछ, र नेपाली साहित्यिक चेतनालाई नयाँ उचाइ दिनेछ भन्ने विश्वास छ ।’
त्यसैगरी अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले निर्दोष जीवनका मुक्तकहरू सरल र लयबद्ध भएको बताए । ‘सङ्ग्रहमा प्रेमिल मुक्तकहरू यथेष्ट छन् । सामाजिक विषयवस्तुका मुक्तक पनि छन्’ उनले भने । सापकोटाले सङ्ग्रहबाट केही मुक्तक प्रस्तुत गर्दै साहित्यिक सक्रियताको चर्चा गरे ।
मुक्तककार निर्दोष जीवनले आफ्नो पुस्तकमा प्रेमको विषयमा खुलेर लेखेको बताउदै हृदयदेखि मनन गर्न अनि जीवनमा लागू गर्न सकियो भने साँच्चै जीवनमा प्रेमको सुगन्ध रहिरहने छ । ‘प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन’ निर्दोषले भने ‘प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको कहिल्यै अन्त्य हुँदैन ।’
साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय स्रष्टा हुन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोषको ‘आशीर्वाद’ (गजल, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । ‘नयाँ जीवन’ ‘प्रार्थना’ ‘मैयाँ’ ‘कोर्राको चोट’ ‘फस्ट लभ’ ‘प्रिय साथी’ ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् ।
कठोर बनी विधाताले ठगेपछि रोएको हुँ ।
प्राणभन्दा प्यारो मान्छे लगेपछि रोएको हुँ ।
कसका लागि जिउनु अब के भनेर मन बुझाउँ,
सारा खुसी आँखाबाट बगेपछि रोएको हुँ । निर्दोष जीवन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवको उद्घाटन गरिएको छ । हेटौंडा ४ नं. वडा कार्यालयकाे आयाेजनामा भएको महोत्सवको शुक्रबार उद्घाटन गरिएकाे छ ।
४ नम्बर वडा शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा भएकाे तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवकाे अवसरमा र्यालीकाे समेत आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा संविधानसभाका सदस्य अनन्त पाैडेलले ४ नं. वडा कार्यालयले भाैतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिएकाे बताए । ‘यस्ता गतिविधिले विद्यार्थीकाे शारीरिक र मानसिक विकास गर्न हुन्छ’ उनले भने खेलकुद क्षेत्रमा विद्यालय तहबाटै लगानी गर्दा उत्कृष्ट खेलाडि उत्पादनमा सघाउ पुर्याउने छ ।’
हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा, ४ नं. वडाकाे प्राथमिकता रहेकाेले दुबैलाई संगै लैजान कार्यक्रम गरिदै आएको जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार समितिका संयाेजक श्रीराम दाहालले महाेत्सवमा विभिन्न प्रतियाेगितामा १२ विद्यार्थी सहभागी भएकाे र प्रतियाेगिता अन्तर्गत विजेता ३ सयभन्दा बढि विद्यार्थीलाई पुरस्कृत गरिने जानकारी दिए ।
महाेत्सवमा नगरस्तरीय, फुटबल, भलिवल, क्रिकेट, बाँस्केट बल, वडास्तरमा टक अफ वार, एथलेटिक्स, हाजिरी जवाफ, बक्तृत्व, हिज्जे, बादविवाद, कविता, क्वीच प्रतियाेगिता भएकाे खेलकुद संयाेजक राजाराम पाेखरेलले जानकारी दिए ।
प्रतियोगिता अन्तरगतका बिधगत विजेता आगामी फागुन ७ गते प्रजातन्त्र दिवसकाे अवसरमा पुरस्कार वितरण गरिने आयाेजकले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका २ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलको पाँच दिवसीय कार्यक्रम भएको छ । माघ २५ गते आइतबारबाट सुरु वृहत शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सकिएकाे हाे ।
विभिन्न साँस्कृतिक एवम् शैक्षिक प्रदर्शनीकाे अन्तिम दिन बिहीबार विद्यालयले विभिन्न विषयको प्रदर्शनी तथा लोक संस्कृतिको जगेर्नाका लागि रैथाने खाना, साँस्कृतिक पोशाक लगाएर प्रदर्शनी गरेका थिए । प्रदर्शनका क्रममा विज्ञान विषय अन्तर्गत रहेर कारखानाको प्रदर्शनी गरेका थिए । साथै मौलिक संस्कृतिको रुपमा रहेको रहनसहन, खानाका परिकार प्रस्तुती अन्तर्गत लोकसंस्कृतिको जगेर्नाका लागि प्रस्तुत गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए ।
बिहीबार सबै विषयको प्रयोगात्मक प्रर्दशनी गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
कक्षाकोठामा सिकेका ज्ञानलाई हौसला प्रदान गरी अगाडि बढाउन प्रदर्शनीको आयोजना गरिएको सुवेदीले बताए । अभिभावक दिवसको पहिलो दिन आइतबार पूर्वप्राथमिक तहका अभिभावक सहितकाे कार्यक्रम भएकाे थियो । सोमबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अभिभावकसहित साँस्कृतिक कार्यक्रम गरेका थिए । मङ्गलबार ४ र ५ कक्षा र बुधबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको प्रस्तुति रहेकाे थियाे ।
अभिभावक दिवसलाई विद्यालयले वार्षिक रुपमा बृहत साँस्कृतिक तथा शैक्षिक प्रदर्शनीको रूपमा मनाउँदै आएकाे छ । यस वर्षकाे शैक्षिक क्यालेण्डरमा दशैंअघि सञ्चालन हुने गरी ताेकिएकाे कार्यक्रम विविध कारणवश माघ महिनामा गरिएकाे बताइएकाे छ ।