चितवन । गैंडाकोटका निर्दोष जीवनको प्रेमको सुगन्ध सार्वजनिक गरिएको छ । गजल मञ्च चितवन प्रकाशक रहेको उक्त कृतिको शुक्रबार गैंडाकोटमा विमोचन गरिएको हो ।
काव्य काफिया र वि फाइभको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैंडाकोट नगरपालिका -१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले कृति विमोचन गरेका हुन् ।
गैंडाकोट – १ का वडाध्यक्ष रेग्मीले प्रेमले सबैलाई एकताको सूत्रमा बाँधने बताए । ‘प्रेमले मानिसलाई एकताको सूत्रमा जोड्छ । प्रेम दिवसको अवसरमा आएको यो कृतिले सबैलाई प्रेममा समाहित हुन प्रेरित गर्ने विश्वास लिएको छु’ रेग्मीले भने ।
साहित्यकार शेरचनले साहित्य सिर्जनामा सक्रिय निर्दोष जीवनका मुक्तकहरू साँच्चिकै सुन्दर रहेको बताइन् । ‘प्रेमको सुगन्धमा मुक्तकहरूको विविधता छ’ शेरचनले भनिन् ‘संरचनाका हिसाबले सबै मुक्तक उत्कृष्ट छन् ।’
‘प्रेमको सुगन्ध’ केवल कृति होइन, अनुभूति हो । मुक्तक विधा नेपाली साहित्यमा संक्षिप्त तर गहिरो भाव अभिव्यक्तिको सशक्त माध्यम हो’ उनले भनिन् ।
‘निर्दोष जीवनका मुक्तकहरूमा प्रेमको सुगन्ध, स्मृतिको मिठास, जीवनको पीडा, र मानवीय संवेदनाको सूक्ष्म कम्पन एकैसाथ अनुभूत गर्न सकिन्छ’ उनले भनिन् ‘कृति केवल प्रेमको बयान होइन यो जीवनप्रतिको दृष्टि, स्मृतिप्रतिको श्रद्धा, र भावनाप्रतिको निष्ठा हो यसले पाठकको मन छुनेछ, मुक्तक विधालाई अझ सशक्त बनाउनेछ, र नेपाली साहित्यिक चेतनालाई नयाँ उचाइ दिनेछ भन्ने विश्वास छ ।’
त्यसैगरी अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले निर्दोष जीवनका मुक्तकहरू सरल र लयबद्ध भएको बताए । ‘सङ्ग्रहमा प्रेमिल मुक्तकहरू यथेष्ट छन् । सामाजिक विषयवस्तुका मुक्तक पनि छन्’ उनले भने । सापकोटाले सङ्ग्रहबाट केही मुक्तक प्रस्तुत गर्दै साहित्यिक सक्रियताको चर्चा गरे ।
मुक्तककार निर्दोष जीवनले आफ्नो पुस्तकमा प्रेमको विषयमा खुलेर लेखेको बताउदै हृदयदेखि मनन गर्न अनि जीवनमा लागू गर्न सकियो भने साँच्चै जीवनमा प्रेमको सुगन्ध रहिरहने छ । ‘प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन’ निर्दोषले भने ‘प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको कहिल्यै अन्त्य हुँदैन ।’
साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय स्रष्टा हुन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोषको ‘आशीर्वाद’ (गजल, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । ‘नयाँ जीवन’ ‘प्रार्थना’ ‘मैयाँ’ ‘कोर्राको चोट’ ‘फस्ट लभ’ ‘प्रिय साथी’ ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् ।
कठोर बनी विधाताले ठगेपछि रोएको हुँ ।
प्राणभन्दा प्यारो मान्छे लगेपछि रोएको हुँ ।
कसका लागि जिउनु अब के भनेर मन बुझाउँ,
सारा खुसी आँखाबाट बगेपछि रोएको हुँ । निर्दोष जीवन

