मकवानपुर । नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलाकाे निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित जीत हात पारेकाे छ । शुक्रबार नेपालले त्रिवि क्रिकेट घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखकाे मद्दतले नेपालले जीत निकालेकाे हाे ।
एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०-१ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित दूरी पार गरेको थियो । नेपालको जीतमा दुई खेलाडीले अर्धसतक बनाए । आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए । आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहित ६४ रन बनाए । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु परेका थिए । दोस्रो
यसअघि ओपनर अर्जुनले ३३ बलमा ९ रनमात्रै बनाएका थिए । कप्तान रोहितकुमार पौडेलले १० रनको योगदान गरे । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो ।
आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए । रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।
नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए । यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो । अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ ।
मकवानपुर । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे लागि मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको थपलियाले बताएका हुन् ।
‘गत बैशाखमा भएकाे स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा मंसिर ४ गते हुने मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य बनाइएकाे छ’– थपलियाले भने । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शकरूपमा ग्रहण गर्ने बताए । निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरूपमा पर्यवेक्षण गरिदिन समेत उनले आग्रह गरे ।
थपलियाले आयोगको क्षमताकाे आधारमा मतदान स्थल र केन्द्रलाई मतदाताका लागि कम दूरीमा पार्ने गरी व्यवस्था गरिएको बताए । उनले भने ‘मतदाता नामावलीलाई सकेसम्म शुद्ध बनाइएको छ ।’ प्रमुख आयुक्त थपलियाले यस पटकबाट आवधिक निर्वाचन कहिले हुन्छ भन्ने खालको अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने समेत बताए ।
मकवानपुर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम बिज्ञान बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातको पनि आकलन गरिएकोले महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन भनेको छ ।
मकवानपुर । मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचनमा देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले आफ्नाे मताधिकार प्रयाेग गर्ने भएका छन् । उनीहरुले १० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने आयाेगले जानकारी दिएकाे छ ।
यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने निर्वाचन आयाेगले विहीबार गरेका पत्रकार सम्मेलनमा बताएकाे छ । निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको आयाेगले बताएकाे छ ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाेमा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम रहेकाे बताइएकाे छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाेमा प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कूल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र सम्बन्धित जिल्जामा पठाइसेकाे आयाेगले जनाएकाे हाे ।
मंसिर ४ काे निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २ सय १९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराएकाे जनाएकाे छ । पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने छन् ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेकाे आयाेगकाे दावी छ । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भंग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँडन वा प्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी विहीबारबाटै सुरु गर्ने समेत आयाेगले पत्रकार सम्मेलनमा जनाएकाे हाे ।
त्यसैगरी आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको छ । मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको आयाेग बताउँछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार पसार तथा सेवन गर्ने/गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयाेगले जनाएकाे छ ।
त्यसैगरी यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।
कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानून बमोजिम कारवाही गर्न विशेष निर्देशन समेत आयाेगले दिइएको छ ।
मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको समेत जनाएकाे छ । सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील रहेकाे बताइएकाे छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएकाे छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको आयाेगले जनाएकाे छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको आयाेगले जानकारी दिएकाे छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
‘आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको छ’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ‘आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदाताहरूलाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु ।’
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीले लामालाई लागूऔषध नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुलसहित हेटौडा १५ राताेमाटेबाट पक्राउ गरेको हो । विहीबार बिहान ११ बजेको समयमा हेटौंडा-१५ रातोमाटेस्थित पुर्व–पश्चिम राजमार्गमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट नारायणघाटतर्फ जादैं गरेकाे ना ५ ख १७५८ नम्वरको बसलाई रोकि चेक जाँच गर्दा बसमा सवार लामाको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
लागूऔषध र लामालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।
