मकवानपुर । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे लागि मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको थपलियाले बताएका हुन् ।
‘गत बैशाखमा भएकाे स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा मंसिर ४ गते हुने मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य बनाइएकाे छ’– थपलियाले भने । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शकरूपमा ग्रहण गर्ने बताए । निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरूपमा पर्यवेक्षण गरिदिन समेत उनले आग्रह गरे ।
थपलियाले आयोगको क्षमताकाे आधारमा मतदान स्थल र केन्द्रलाई मतदाताका लागि कम दूरीमा पार्ने गरी व्यवस्था गरिएको बताए । उनले भने ‘मतदाता नामावलीलाई सकेसम्म शुद्ध बनाइएको छ ।’ प्रमुख आयुक्त थपलियाले यस पटकबाट आवधिक निर्वाचन कहिले हुन्छ भन्ने खालको अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने समेत बताए ।

