काठमाडौं–४ बाट नेपाली काँग्रेसका गगन थापा विजयी भएका छन् । थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
नेपाली कांग्रेसका महामन्त्री थापाले काठमाण्डाै ४ मा ह्याट्रिक जित हात पारेका हुन् । २०६४ मा थापा समानुपातिक सांसद थिए । २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए ।
२०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।
मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रता लिएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै बर्तौलाले अग्रता लिएका हुन ।
८ हजार ७९६ मतगणना हुदाँ बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गर्दा खतिवडाले ४ हजार ४४३ मत प्राप्त गरेका छन् ।
खतिवडा दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले भने १ हजार १८७ मत प्राप्त गरेका छन् ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– १ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । हाल सम्म यस क्षेत्रमा ११ हजार ५४ मतगणना भएको छ ।
जसमा डिनाले ५ हजार २१७ मत पाएकी छिन् । त्यस्तै सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३ हजार ६९३ मत पाएका छन् । थापा भन्दा डिना १ हजार ५२४ मतले अगाडि छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले १ हजार १० मत पाएका छन् । मतगणना जारी छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै विजयी भएका हुन्।
सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।
आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको बताइएको छ।
मकवानपुर–२ मा नेकपा एमालेले अग्रता लिएको छ । यस अघि नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडाले अग्रता लिएका थिए । ६ हजार ५१८ मत गणना हुँदा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका हुन । उनले २ हजार ७३३ मत पाएका छन् भने समाजवादीका खतिवडाले २ हजार ६८६ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए ।
