मकवानपुर । मकवानपुर प्रहरीले बुधबार ७९ किलो लागूऔषध गाँजा सहित भारतीय ट्रकलाई नियन्त्रणमा लिएकाे छ । जिल्लाको मनहरी गाउँपालिकामा भारतीय ट्रकबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हाे ।
भारतीय ट्रकलाई लागुऔषध गाजाँ लोड गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिएको हाे । मनहरी गाउँपालिका–६ कत्लेखोलास्थित पुर्वपश्चिम सडक खण्डमा डब्लु बि ५९सि६७३५ नम्बरको भारतीय ट्रकलाई उक्त परिणामकाे लागुऔषध गाँजा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त गाँजा ईलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । लागुऔषध लोड गर्ने र ओसारपसारमा संलग्न ब्यक्तिको नाम प्रहरीले खुलाएको छैन ।
मकवानपुर । लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तरगत हेटौंडाको बसपार्कमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएकाे छ । मकवानपुर महिला समूह हेटौडाकाे आयाेजना र सामुदायिक प्रहरी उपकेन्द्र हेटौडा १० वसपार्ककाे साझेदारीमा मगलबार सडक नाटक प्रदर्शन भएकाे हाे ।
मकवानपुर महिला समूहले गठन गरेको समूहको कलाकारहरुद्वारा सडक नाटक प्रदर्शन गरिएकाे हाे । कलाकारहरु पलक लामा, युगल लामा, सुरज अधिकारी, विविका रेग्मी, सरस्वती पुडासैनी, सविना थापा मगर, ज्याेती महर्जन नेपालीकाे समूहले लागुऔषध दुर्व्यसनीको प्रयोगमा किशोर किशोरीहरू फस्नुको कारण, रोकथाममा सरोकारवालाको भूमिका, दुर्व्यसनीले पर्ने ब्यक्तिगत तथा सामाजिक असरबारेका सन्देश समेटिएको सडक नाटक प्रदर्शन गरेका थिए ।
मकवानपुर महिला समूह सचिव सावित्री लामिछानेकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा १० नम्बर वडा अध्यक्ष फुर्वा दाेर्जे तामाङ प्रमुख अतिथि, सामुदायिक सेवा केन्द्र बसपार्क अध्यक्ष प्रदिप कडेल तथा वडा प्रहरी कार्यालय प्रमुख केशर कुमार न्यौपानेकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
हरेक वर्ष नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान मनाइदै आएकाे छ । यस वर्ष ‘सभ्य समाजको पहिचान, लैंङ्गिक हिंसा बिरुद्धको अभियान’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइदै छ । कार्यक्रम हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाइबालगायत सन्जालका सदस्य संस्थाहरूको उपस्थिती रहेको समूहकी कार्यक्रम संयोजक निशा लामाले बताइन् ।






मकवानपुर । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई खर्च विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने आयोगले जनाएको छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नु पर्नेछ।
विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ ।
निर्वाचन प्रचार–प्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधि सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ ।
राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने जानकारी गराउन सूचना प्रकाशन गर्ने र सोही बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन खर्चको विवरण संकलन गरी आयोगको IEIMS प्रणालीमा अभिलेख राखी सो सम्बन्धी कागजात सुरक्षित राख्न सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन समेत दिएको छ ।
मकवानपुर । मकवानपुरे साहित्यकार तुल्सी थापालाई हेटौडामा अभिनन्दन गरिने भएकाे सम्मानित हुने भएका छन् । बुढ्यौली साहित्य समाज, मकवानपुरले थापालाई अभिनन्दन सहित सम्मानित गर्ने भएकाे हाे ।
समाजकाे दोस्रो वार्षिक उत्सवको अवसर पारेर थापालाई पल्पसा सदनमा हुने कार्यक्रममा अभिनन्दन सहित सम्मान गर्न लागिएकाे समाजका अध्यक्ष आरसी रिजालले जनाकारी दिए । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा समाजले मंसिर १७ गते शनिबार अभिनन्दन सहित, कृति विमोचन तथा रचना वाचन कार्यक्रम समेत गर्ने बताइएकाे छ ।

मकवानपुर । मंसिर ४ गते भएकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा तर्फ बागमती प्रदेशमा ५ जना महिला उम्मेदवार विजयी भएका छन् । प्रदेश सभाकाे पहिलाे हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फ ५ जना मात्रै महिला निर्वाचित भएका हुन । बागमती प्रदेश सभाकाे प्रत्यक्ष तर्फ ६६ निर्वाचन क्षेत्र रहेकाेमा ७ दशमलब ५ प्रतिशत महिला प्रत्यक्षमा विजयी भएका हुन् ।
प्रदेशकाे दाेलखा बाहेक १२ जिल्लाकाे हालसम्मकाे नतिजा अनुसार ५ विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २/२ जना रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट १ उम्मेदवार विजयी भएका छन् । ५ जना विजयी उम्मेदवार गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए । ५ जनाकाे प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग मात्र भएकाे हाे ।
हालसम्म बाग्मती प्रदेशमा नेपाली कांग्रेसले २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट र नेकपा एमालले १२ सिट जितेको छ । एकीकृत समाजवादीले ५ सिट जितेको छ । सत्ता गठबन्धनका दलले ४३ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा उनीहरूकै सरकार बन्ने सम्भावना छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सिट जितेको छ । मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ । बागमती प्रदेशमा दोलखाको १० वटा विवादित निर्वाचन केन्दमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन । ती दुवै प्रदेशसभाको क्षेत्रमा महिला उम्मेदवार छैनन् ।
बागमती प्रदेश सभामा प्रत्यक्ष तर्फ प्रतिनिधित्व गर्ने महिलाहरुमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ काे १ बाट नेकपा माओवादी केन्द्री कुमारी मुक्तानले जित हासिल गरिन् । उनले एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २ मतान्तरले हराइन् । उनले १९ हजार ८ सय ७३ मत ल्याइन् भने ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए । मुक्तान प्रदेशकाे वहालवाला सामाजिक मन्त्री हुन् । यस्तै माओवादी केन्द्रकी राधिका तामाङ नुवाकोट क्षेत्र नम्बर १ काे १ बाट विजयी भइन् । उनले १६ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३ सय ५० मत पाए ।
यसैगरी सिन्धुपाल्चोलकको निर्वाचन क्षेत्र १ (१) बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हात पारिन् । उनले १४ हजार ६ सय ५२ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४ सय ९० मत ल्याए । यो क्षेत्रमा राप्रपाकी महिला उम्मेदवार निर्मला श्रेष्ठले २ हजार ६७ मत ल्याइन् ।
काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ (१) बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हुन् । उनले पनि एमालेका निरेशलाल सिंह महर्जनलाई हराइन् । उनले ४ हजार ६ सय ५६ मत ल्याउँदा महर्जनले ३ हजार ९ सय ३६ मत पाए ।
यस्तै काठमाडौं १० (२) बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण ओल मगरलाई पछि पार्दै जित हासिल गरेकी छिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएकी थिइन् । उनले ५ हजार ८ सय १८ मत ल्याइन् भने एमालेका उम्मेदवारले ५ हजार १ सय ८८ मत ल्याए ।
महिलालाई समानुपातिकमा राख्ने तर प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाकाे प्रत्यक्ष तर्फ महिला उम्मेदवार कम रहेकाले पनि जित हासिल गर्ने महिलाको संख्या कम हुन पुगेको बताइन्छ ।
