मकवानपुर । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी पहिलो चरणमा विभिन्न क्षेत्रबाट पुरस्कृत हुने ६ जना व्यक्तिको नाम र प्रादेशिक पुरस्कर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका ब्यक्तिलाई पुष ९ गते शनिबार एक समारोहकाबीच पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव केशवलाल श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरे साहित्यकार भावना सापकोटालाई पुरस्कृत गर्ने भएको छ । सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने भएको छ । सरकारी शिक्षक पेशामा आवद्ध रही साहित्य सिर्जनामा क्रियाशील सापकोटा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष समेत हुन ।
यस्तै भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदी पुरस्कृत हुने भएकी छिन । बालसाहित्यमा सक्रिय सुवेदीलाई प्रदान गर्न लागिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ रहेको छ ।
यसैगरी विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार मकवानपुरका लोक गायक रविन्द्रकुमार चेपाङलाई प्रदान गरिने भएको छ । सरिखेत पलासेका स्थायी बासिन्दा चेपाङ रेडियो नेपालबाट ५० को दसकमा लिइएको स्वर परिक्षामा समेत सफल गायक हुन । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने भएको हो । यता चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार साहित्यकार बासुदेव गुरागाईँलाई प्रदान गरिने भएको छ । साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ । गुरागाई हेटौंडा १८ हर्नामाडीका स्थायी बासिन्दा रहि नेपाल सरकारको सह सचिबबाट सेवा निवृत कर्मचारी हुन । हाल काठमाडौ गोंगबु निवासी गुरागाईका लघुकथा कबिता हास्यब्यङ्य सग्रह प्रकशित छन।
यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिदैछ । बैद्यलाइ पुरस्कृत गरिन लागेको पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । बैद्य स्वास्थ्य सेवामा स्थायी कर्मचारीको रुपमा कार्यरत रही सेवा निवृत कर्मचारी तथा हेटौंडाकी सफल स्वास्थ्य ब्यबसायी समेत हुन ।
अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कारबाट हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा कार्यरत दृष्टिविहिन शिक्षक विदुर अधिकारीलाई पुरस्कृत गरिने भएको छ । दृष्टिविहिन विद्यार्थीलाई नै पढाउँदै आउनुभएका अधिकारीलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ ।
स्थापनाकालदेखि नै साहित्य, संगीत, सँस्कृति र कलाका क्षेत्रमा १२ वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको प्रतिष्ठानले दोस्रो चरणको ६ वटा पुरस्कार आगामी माघ महिनामा दिइने बताइएको छ । पुरस्कृत ब्यक्तित्व र पुरस्कार सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, निवर्तमान अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, सहयोगी मुक्तिगोविन्द वैद्यको उपस्थिति थियो ।
मकवानपुर । प्रतिक्षा कार्की, उनी आफैं किशोरी हुन्, तर अन्य किशोरी र युवा महिलाहरुको बिचमा उनी ‘अभिभावक’ बनेकी छिन् । विभिन्न प्रकारको हिंसाबाट आफू कसरी संरक्षित हुने भन्नेबारे राम्रो ज्ञान भएकी प्रतिक्षा साथी समूहमा यसैबारे जानकारी प्रदान गर्छिन । “पढाइ, सिप तथा व्यक्तित्व विकाससँगै आफू र आफ्ना सार्थीहरुबिचमा जानेको कुराहरु शेयरिङलाई महत्व दिने गरेको छु” उनले भनिन् ।
रेजिना ढकाल पनि किशोरी हुन् तर उनलाई किताबि शिक्षासँगै संघीय नेपालको कुन कार्यालयको काम कर्तव्य र अधिकार के कस्तो छ भन्ने बारे राम्रो ज्ञान छ । गल्स टेक ओभर कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको प्रमुखको पदभार ग्रहण गरेपछि रेजिनाको समग्र जिल्लामा सुधार गर्नुपर्ने अवस्थाबारे मन्तव्य दिइन् । आफ्नो मन्तव्यमा रेजिनाले जिल्लाको सबै स्थानीय तहहरुमा पूर्णखोप, पूर्ण सरसफाई, पालिका स्तरीय बालउद्यान, युवा खेल मैदान, नेतृत्व विकास, बालश्रमदेखि बालअधिकारको सवाल उठाइन् । रेजिना र प्रतिक्षा उदाहरण मात्रै हुन् ।

मकवानपुर जिल्लाका १५८ जना यस्ता रोल मोडेल युवाहरु तयार गरिएको छ । जसले अन्य सयाैलाई आफ्नाे शिकाइ अरुलाई बाड्छन् । बालबालिकाहरुलाई भविष्यको राष्ट्रिय नेतृत्वमा सक्षम बनाउने लक्ष्यका साथ राडो नेपाल मकवानपुरले बाल संरक्षणको अभियान सशक्त पार्दै ल्याएको हो । सबै प्रकारका हिंसा तथा बालविवाह, लैङ्गिक हिंसा,परम्परागत हानीकारक अभ्यासहरुबाट आफ्नो संरक्षण आफैं गर्न बालिका तथा युवा महिलाहरु सुसूचित र सक्षम बनाउने लक्ष्यका साथ बाल संरक्षण कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए ।
विद्यालयमा आधारित बालबालिकाको सशक्तिकरणका लागि स्टिक्स एण्ड स्टोन्स तालिम निर्देशिका कार्यान्वयन गरेर हाल जिल्लाको ५८ वटा विद्यालयको कक्षा ६ देखि १० सम्मका झण्डै १८ सय विद्यार्थीलाइ सक्षम बनाउने अभियान जारी छ । विद्यालयका शिक्षकहरुका लागि स्टिक्स एण्ड स्टोन्स प्रशिक्षक प्रशिक्षण तथा पुनरावलोकन बैठकपछि हाल नियमित कक्षा सञ्चालन भइरहेको कार्यक्रम संयोजक पाठकले बताए ।
“विद्यालयका बालबालिकाहरुमाझ स्टिक्स र स्टोन्स कार्यक्रम सत्र सञ्चालन संगसंगै किशोरी क्लबको सशक्तिकरण, संलग्नता र परिचालन गरी सबै प्रकारका हिंसाहरुको रोकथाम तथा अन्त्यमा लागि परेका छौं” पाठकले भने । राडो नेपालले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जोखिममा परेका तथा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई तत्काल आवश्यक सहयोग समेत गर्दै आएका छ । साथै लैङ्गिक रुपान्तरणमुखी बाल संरक्षण प्रणालीका लागि संयन्त्र,संरचना सम्बन्धित नीतिगत व्यवस्था, कार्यक्रम, बजेट विनियोजन कार्य योजनाहरुको व्यवस्थामा सरकारसँग समन्वय र सहकार्य समेत गर्दै आएको छ ।
बालबालिका विशेषगरी किशोरी तथा युवा महिलाहरुको क्षमता विकास, हिंसाबाट आफैं संरक्षित हुने र रिपोटिङ गर्ने बारे सिप र ज्ञान सिक्ने अवसर पाएको विद्यार्थी प्रतिक्षा कार्कीले बताइन् । “हामीले आफ्नो क्षमता विकाससँगै साथी र आफूभन्दा कम उमेरका बहिनीहरुको कुरा सुन्ने र समस्या भएमा सवालको रुपमा उठाउन सक्ने भएका छौ” कार्कीले भनिन् । संस्थाले सकारात्मक अभिभावकत्वको लागि अभिभावकहरुलाई समेत तालिम दिंदै आएको छ । “अभिभावकको सोच सकारात्मक भएमात्रै बालबालिकाको राम्रो विकास हुनेछ भन्ने हाम्रो बुझाइ हो” कार्यक्रम संयोजक पाठकले भने । राडो नेपालले पालिकाबाट बालसंरक्षण प्रणालीको विकास गर्ने काममा भएका र कामको निगरानी र बाँकी कामहरुमा सहकार्य र समन्वय गर्दै आएको छ ।

यस अन्तरगत सरकारी सिस्टमलाई बलियो र चलायमान बनाउने, सहकार्य गर्ने, क्षमता विकास गर्ने, पालिकाहरुमा बाल अधिकार समिति गठन, पुनर्गठन, क्षमता विकासमा स्थानीय सरकारसंग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । बालसंरक्षण प्रणालीको सुदृढीकरणको लागी बालबालिकाको सवालमा संवेदनशीन बनाउन समन्वय, समिति गठन र बालसवाल उठाउने काम वडातहसम्म गर्दै आएको छ ।
पाठकका अनुसार हिंसाबाट संरक्षित हुँदै सहयोगी भावनाको विकास गर्ने, विद्यालयलाई मर्यादीत बनाउन तर्फ प्रेरित गर्ने, मानसिका रुपमा सवल बनाउन यो सेसनमा अतिरीक्त कोर्षको रुपमा पढाइ हुने गरेको छ । यसको लागि संस्थाले सबै विद्यालयहरुमा पाठ्यक्रम नै दिएको छ, जुन हप्ताको १ दिन पठाइ हुन्छ । यस कक्षमा सहभागी भएपछि बालिबालिका धेरै सचेत भएको पाइएको उनले बताए । मकवानपुरको जनता माविको विद्यार्थीमाथि भएको यौन दुव्र्यवहारको घटना यही कक्षमा सहभागीबाट बाहिरीएको थियो । “यो कक्षामा ६ देखि १० का विद्यार्थीहरु सहभागी हुन्छन्, तर उनीहरुले विद्यालयको बालक्लब मार्फत साना कक्षाका नानीहरुको कुरा सुनिदिन्छन् । जनता माविको घटना यसैको उदाहरण यही हो” पाठकले भने ।

यसैगरी संस्थाले सामाजिक कुरीति र विसंगती विरुद्ध बाल विवाह, महिनावरी विभेद विरुद्धका सचेताका कार्यक्रम गर्दै आएको छ । यस्ता मान्यता विरुद्ध धर्मगुरुहरुलाई सचेतना कार्यक्रम गछौं, बालसंरक्षण नीति, कानुन बनाउन पालिकाहरुसँग सहकार्य गर्छौ, हेटौंडा उपमहानगरपालिकाको नीति बनाउँदैछौ” पाठकले भने । गुणस्तरीय सेवा प्रवाहमा संस्थाले समन्वयकारी भूमिका खेल्दै आएको कार्यक्रम अधिकृत राजेन्द्र लामाले बताए । आर्थिक रुपमा विपन्न भएकै कारण विभिन्न प्रकारको जोखिममा पर्ने संभावना उच्च रहेका युवा किशोरीहरुलाई आपतकालीन आर्थिक सहयोग पनि संस्थाले गर्दै आएको छ ।
गाउँगाउँमा साथी शिक्षा प्रभावकारी बन्दै
राडो नेपालले किशोरकिशोरी तथा अभिभावकहरुलाई प्रदान गर्दै आएको सचेतना तथा सिकाइका शिक्षाहरु साथी समूहमा प्रभावकारी बन्दै आएका छ । समाजमा व्याप्त सबै प्रकारका हिंसा विरुद्ध, गलत संस्कारको रुपमा रहेको बालविवाह महिनावारी विभेद जस्ता परम्परागत हानीकारक अभ्यासहरुबाट बच्न साथी शिक्षा प्रभावकारी बन्दै आएको संस्थाका कार्यक्रम अधिकृत सुनिल चिमरियाले बताए ।

संस्थाले विशेषगरी बालिका तथा युवा महिलाहरु सुसूचित र सक्षम बनाउने उदेश्यका साथ सुरु गरेको बाल संरक्षण कार्यक्रमको प्रभावकारीता ग्रामिण भेगमा राम्रो देखिएको चिमरियाले बताए । बालबालिकालाई भेदभावबीना, त्रास तथा कुनै पनि प्रकारका हिंसा विशेषगरी बालविवाह विना जोखिम र बहिष्कारमा परेका बालिकाहरुले उचित महत्व र हेरचाह प्रदान गर्न कार्यक्रम प्रभावकारी देखिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए । राडो नेपालले स्टीक एण्ड स्टोन क्लास, सकारात्मक अभिभावक कक्षाबाट साथी शिक्षा अभियान चलाएको छ र सकारात्मक अभिभावक कक्षमा जिल्लामा २१ वटा समूह छन् ।
“सकारत्मक र सचेत अभिभावकबाट बालसंरक्षण पनि राम्रो हुदै भविष्यमा कुसल नेतृत्व जन्माउने हाम्रो लक्ष्य हो” राडो नेपालका अध्यक्ष कृष्ण धितालले भने । इन्टरनेतको दुरुपयोगले अहिले सबैलाई पिरोलेको छ, सही तरीकाले इन्टरनेटमा के के खोज्ने, भन्नेबारे बुझाउन पनि साथी शिक्षा प्रभावकारी भएको छ । युवा किशोर÷किशोरीहरुले यसबारे ट्याबलेटको भिडियोबाट सिक्ने र सिकाउने गर्दछन् । राडो नेपालले बाल संरक्षण कार्यक्रमा मकवानपुर जिल्लाको सबै स्थानीय तहमा र बिशेषगरी बागमती, मकवानपुरगढी, मनहरी, कैलाश गाउँपालिका र हेटौंडा उपाहानगरपालिकाको १२,१३,१४,१५ वडामा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बालिकालाई, अवसर प्रदान गरेर नेतृत्वदायी भूमिका निर्वाहा गर्न सिकाउने कार्यक्रम अन्तरगत संस्थाले रोल मोडलको रुपमा १५८ जना किशोरीहरु तयार गरेको छ । रोल मोडलको रुपमा प्रस्तुत हुँदा धेरै जानकारीहरु लिन सफल भएको मकवानपुर मनहरीकी रेजिना ढकालले बताइन् ।

संस्था परिचय
ग्रामीण जागरण तथा विकास संगठन, नेपाल वि.सं. २०५१ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत दर्ता भई नाफा रहित, गैरराजनितिक सामाजिक संस्थाको रुपमा ग्रामीण समुदायको शसक्तिकरण गर्ने अभिप्रायका साथ स्थापना भएको हो । ग्रामीण विकासका लागि सामाजिक सेवा, आर्थिक समुन्नतिका लागि कृषिको आधुनिकिकरण, शिक्षा, स्वास्थ्य, सरसफाइ, पुर्वाधार निर्माणलगायतका कार्यहरु गर्ने लक्ष्यका साथ स्थापित यस संस्थाले समाज कल्याण परिषद तथा गैर सरकारी संस्था महासंघसंगको आवद्धता लिएको अध्यक्ष डा. कृष्ण प्रसाद धितालले बताए ।
संस्थाले स्थापना कालदेनि नै समुदायका हितमा विभिन्न रचनात्मक क्रियाकलाप तथा परियोजना संचालन सुरु गरेको अध्यक्ष डा. धितालले बताए । यस क्रममा सामुदायिक खानेपानी तथा सरसफाई, विद्यालयको भौतिक सुविधा सुधार तथा विस्तार, सामुदायिक झोलुड्डे पुलहरुको निर्माण गर्दै विभिन्न संस्थाहरुको सहयोग र सहकार्यमा विद्यालयहरुमा बालमैत्री सिकाई वातावरणको प्रर्बद्धनमा हातेमालो गर्दै आइरहेको छ ।
वि.सं २०७२ को महाभुकम्प पश्चात पिडितका लागि पुर्नवास, खानेपानी तथा सरसफाई, जिवीकोपार्जन, विपद् जोखिमन्यूनिकरण लगायतका कार्यक्रम समेत सञ्चालन गरेको धितालले बताए ।
संस्थाले समय परिस्थिति अनुसार आवश्यक नीतिनियम बनाउदै र अद्यावधीक गर्दै सामुदायिक सेवाका कामहरुमा अग्रसर रहेको उनले बताए । यस संस्थाले संघीय नेपालको विकास साझेदारका रुपमा स्थानीय तह तथा समुदायहरुसँग मिलेर विकास र समृद्धिका कामगर्ने अठोट लिएको धितालको दाबि छ ।
संस्थाको निर्वाचित कार्य समितिमा सामुहिक दायित्वका लागि व्यवस्थापन, प्रशासनको एउटै गति कायम गरी समन्वय र संस्थागत निर्णय प्रक्रियाका आधारमा कार्यक्रमहरु संचालन गरिएका हुदां समयसापेक्ष कार्य वातावरण बन्नुका साथै समानुपातिक, समावेसी तथा अधिकारमा आधारित सामाजिक विकासमा लाग्न सहयोग भएको उनले बताए । “समाजका सबै लिंग, वर्ग तथा जातजातिलाई अवसर दिई संस्थालाई एक समावेशी संस्थाको रुपमानिर्माण गरिएको छ” अध्यक्ष धितालले भने “सामाजिक काममा पनि हामी यस्तै सामावेशीताको सम्मान होस भन्ने हेतुले लागिपरेका छौं ।”
संस्थाले कार्यक्रम संचालन गर्ने सिलसिलामा प्लान ईन्टरनेशनल, युनिसेफ, रैले ईन्टरनेशनल, हेल्भेटासलगायतका अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु,संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार आदिसँग सहकार्यमा काम गरेको र यसले लक्ष्यित समुदायको जीवनस्तरमा दीगो सुधार ल्याउन योगदान पुगेको धितालले बताए ।
संस्थागत उपलब्धिहरु तथा सिकाईहरु
यस संस्थाको सहयोग तथा समन्वयमा १८० साना तथा मझौला खानेपानी योजनाबाट ८१८८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । महिलाशसक्तिकरणका क्रियाकलापबाट झण्डै ५१०० महिला तथा युवा स्वआर्जनमा लागेका छन् ।
संस्थालाई सहयोग गर्ने साझेदार निकायहरुमा वृद्धि भएको, संस्थाका कर्मचारी र कार्यसमितिका व्यक्तिहरुको क्षमता विकास र संस्थाले भुकम्प प्रभावित नीजि आवास निर्माण अन्तरगत ६०० घर निर्माण सहयोग गरेको घितालले बताए । यसैगरी मकवानपुर जिल्लालाई खुला दिसामुक्त बनाउन सरोकारवालाहरुसँग समन्वय गरी विगतमा नेतृत्व गर्दै पुर्णसरसफाईको अभियानमा सशक्त रुपमा परिचालित भएको थियो । स्थानीय सरकारका जनप्रतिनिधिहरुको क्षमता विकासमा योगदान तथा सहभागीमुलक योजना तर्जुमा प्रक्रिया सम्बन्धी सहजीकरण गर्दै आएको छ । स्थानीयदेखि राष्ट्रियस्तर सम्मखानेपानी सरसफाई र स्वच्छता प्रबर्धनमा राजनितिक ईच्छा शक्ति सहितबहुसरोकारवालाको योगदानकालागि सहजीकरण गर्दै आएको छ ।
बालमैत्री स्थानीयतह घोषणाका लागि सहजीकरण तथा नेतृत्व गर्दै आएको छ । मकवानपुर जिल्ला विपदव्यवस्थापन समितिको विपदपुर्वतयारी प्रतिकार्य योजना निर्माणमा सहजीकरण गरेको छ । स्पोन्स र सिपकार्यक्रममार्फत झण्डै ७५०० भन्दा बढी बालबालिकालाई स्टेशनरी सामान, औषधि सहयोग तथा बालअधिकार सम्बन्धी सचेतना साथै सामुदायिक विकासका गतिविधिहरु प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ ।
समुदायको पहुँच वृद्धि तथा बालबालिकालाई विद्यालय सम्मपुग्न सहज गराउने ६५ वटा झोलुंगे पुलनिर्माणमा सहजीकरण तथा योगदान गरेको छ । १० वटा स्वास्थ्य संस्थालाई वास सेवाहरु तथा शौचालय र हातधुने स्टेशन बनाउन सहयोग र स्कुलका विद्यार्थीहरुलाई संक्रमणकालीन सिकाईका लागि २० वटा ठाउँमा सहयोग गरेको छ । कोभिड संक्रमण विरुद्ध वृहत सचेतना, तथा स्वास्थ्य सामग्रीहरु सहयोग गरेको थियो । शिक्षा तथा सामाजिक जागरणमा आन्तरीक सशक्तिकरणको लागि संस्थाले निरन्तर यि क्षेत्रहरुमा काम गर्ने अध्यक्ष डा.धितालले बताए ।
तस्बिरहरु साैजन्य : राडाे नेपाल मकवानपुर ।
मकवानपुर । संघीय सरकारको गठनको लागि राष्ट्रपतिबाट आव्हान भएको छ । निर्वाचन आयोगले निर्वाचन परिणाम बुझाए लगत्तै केन्द्रीय सरकार गठन प्रक्रिया अघि बढे पनि बागमती प्रदेशमा सरकार गठनको लागि केन्द्रीय सत्तासमीकरणको प्रतीक्षा गरिएको छ ।
केन्द्रीय सत्तासमीकरणको प्रतिक्षामा रहेको बागमती प्रदेशमा सरकार गठनको प्रक्रिया तत्काल सुरु नहुने भएको छ । राष्ट्रपतिबाट पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरे पनि प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले प्रदेश सरकार गठन प्रक्रिया सुरु गर्ने तयारी गरेको छैन । कार्यालयले पहिले संसदलाई सपथ गराएर मात्र सरकार गठन गर्ने गरी तयारी थालेको छ । संघीय सरकार गठन पछि मात्रै प्रदेश सरकार गठन हुने भएकोले सरकार गठन प्रक्रिया सुरु हुनै एक साता भन्दा बढि लाग्नेछ ।
निर्वाचन आयोगले शनिबार प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाए संगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको थियो । आयोगको प्रतिवेदन प्राप्त भएसँगै सरकार गठन प्रक्रियाको बाटो खुला भएपनि प्रदेश प्रमुखले सबैसंग परामर्शपछि मात्र सरकार गठनका लागि आह्वान गर्ने गरि छलफलमा रहेको बताइएको छ । आयोगले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सो अवधिभित्र प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि आह्वान गरी सबै प्रक्रिया पुरा हुनेछ।
प्रदेशमा पहिले सर्वदलीय बैठक
केन्द्रीय सरकार गठन प्रक्रिया अघि बढे पनि प्रदेशमा सरकार गठनको लागि केन्द्रीय सत्ता समीकरणको प्रतीक्षामा रहेको बागमती प्रदेश सर्वदलीय बैंठकको तयारीमा छ ।
बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण मिति र समय निर्धारण गर्न प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । पुस ८ गते बिहान ११ बजे प्रदेशसभा सचिवलायमा बैठक आह्वान गरिएको हो । सर्वदलीय बैठकको लागि सूचनाको पठाइएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसैगरी बागमती प्रदेशसभाबाट सभामुख चयन नभएसम्म प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गानाले जेष्ठ सदस्यको हैसियतले सभा संचालन गर्ने भएका छन । संवैधानिक प्राबधान अनुसार सभामुखको चयन नभएसम्म सभाका जेष्ठ सदस्यको अध्यक्षतामा बैठक संचालन हुनेछ । नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य भएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचित हुन ।
बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई उनले नै शपथ गराउने प्रदेशसभाका सचिव खड्काले बताए । सदस्यहरूको सपथ पछि सभाको बैठक बस्ने बताइएको छ ।
सांसदहरुको शपथग्रहण पछि संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखमार्फत सरकार गठनको लागि आह्वान हुने हुँदा प्रदेश सभा संचालनको लागि संसद् सचिवालय जेष्ठ सदस्यको शपथ ग्रहणको तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालय बागमतीले जनाएको छ ।
प्रदेशमा कुनै पनि दलले एकल बहुमत प्राप्त नगरेकोले नेपालको संविधानको धारा १६८ बमोजिमको सरकार गठन हुने छैन । कुनै एक दलको बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा (२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन पाउने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बन्न सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार बहुमत जुटाउन सक्ने दल वा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
११० प्रदेश सभा सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसले ३७, नेकपा एमालेले २७, नेकपा माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, नेकपा एकीकृत समाजवादीले ७, नेपाल किसान मजदुर पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन् । बागमती प्रदेशमा बहुमतको सरकार गठनको लागि ५६ सदस्य चाहिन्छ ।
अंक गणित अनुसार केन्द्रीय सरकार सत्ता गठबन्धनबाट बन्ने देखिएको छ । सोही अनुसार केन्द्रीय सरकार गठन भए बागमती प्रदेशमा पनि गठबन्धनकै सरकार बन्ने छ । तर मुख्यमन्त्रीको भन्ने सबालमा सत्ता गठन्धनका संसदीय दलको नेता चुनिए पछि टुंगो लगाउन बाकी छ । यद्यपि दलहरुले मुख्यमन्त्रीमा आआफ्नै दाबी गर्दै आएका छन ।
मकवानपुर । नेपाल विवेकशील पार्टीको अध्यक्षमा सन्तोष घिमिरे चयन भएका छ्न । पौष २ गते नेपाल विवेकशील पार्टीको संघीय समिति वैठकले नीति सचिवको जिम्मेवारीमा रहेका घिमिरेलाई अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष चयन पछि घिमिरेले उज्वल थापाले वैकल्पिक राजनीति सुरु गरेको विवेकशील नेपाली दलको निरन्तरताको रूपमा पार्टीको रूपमा अगाडि बढाउने बताएका छन्। निष्ठा र मूल्यमा आधारित पार्टीलाई समाधानमा आधारित सार्वजनिक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने घिमिरेले बताए। विद्यमान समस्याको समाधानको लागि कोठे बैठकहरूमा मात्र सीमित नगरी सार्वजनिक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको धारणा थियो।
नवनिर्वाचित अध्यक्ष घिमिरेले बेलायतस्थित इष्ट लण्डन युनिभर्सिटीबाट Innovative Technology मा MSc. र Oxford University बाट Generative Leadership को कोर्स पुरा गरेका छन ।
मकवानपुर । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा पुगेर पीडित भएका परिवारलाई शैक्षिक सामग्री बितरण गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसमा वैदेशिक रोजगारमा रहदा वेपत्ता भएका, ज्यान गुमाएका र शारीरिक अशक्त परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
रोजगारीको शिलशिलामा बिभिन्न मुलुकमा पुगे पनि कामको शिलशिलामा बिदेशमा हराएका र अशक्त भएकाहरुको परिवारलाई सरकारको मातहत रहेको बैदेशीक रोजगार बिभाग र बोर्डबाट आर्थिक सहायता र राहतको सुचिमा नपरेका परिवारलाई हेटौंडा उपमहानगरको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले ९ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका भित्रका बिभिन्न बिद्यालयमा अध्ययनमा रहेका छात्रछात्रालाई अध्ययनमा सहयोगका लागि झोला सहित कापी कलम, कलर बक्स, जुत्ता सहितको सामग्री हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले बितारण गरेकी हुन । सामीले विद्यार्थीको आवश्यताको आधामा सामग्रीहरु बितरण गरेको बताइएको छ ।
सामग्री हस्तान्तरण गर्दै प्रमुख लामाले देशको आर्थिक श्रोतलाई बलियो बनाउँनका लागि वैदेशिक रोजगारीमा गएका परिवारका वालबालिकालाई सहयोग गर्दा उनीहरुको शैक्षिक गुणस्तरमा मद्दत पुग्ने बताइन् । वैदेशिक रोजगारीको शिलशिलामा बेपत्ता भएका र शारीरिक रुपमा अशक्त भई काम गर्न नसक्ने अवस्थाका व्यक्तीको लागि सहयोगी बन्न उपमहानगर तयार रहेको उनले बताइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजना रामकृष्ण कोइराला, सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना सामी परियोजनाकी कार्यक्रम अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
