मकवानपुर । संघीय सरकारको गठनको लागि राष्ट्रपतिबाट आव्हान भएको छ । निर्वाचन आयोगले निर्वाचन परिणाम बुझाए लगत्तै केन्द्रीय सरकार गठन प्रक्रिया अघि बढे पनि बागमती प्रदेशमा सरकार गठनको लागि केन्द्रीय सत्तासमीकरणको प्रतीक्षा गरिएको छ ।
केन्द्रीय सत्तासमीकरणको प्रतिक्षामा रहेको बागमती प्रदेशमा सरकार गठनको प्रक्रिया तत्काल सुरु नहुने भएको छ । राष्ट्रपतिबाट पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरे पनि प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले प्रदेश सरकार गठन प्रक्रिया सुरु गर्ने तयारी गरेको छैन । कार्यालयले पहिले संसदलाई सपथ गराएर मात्र सरकार गठन गर्ने गरी तयारी थालेको छ । संघीय सरकार गठन पछि मात्रै प्रदेश सरकार गठन हुने भएकोले सरकार गठन प्रक्रिया सुरु हुनै एक साता भन्दा बढि लाग्नेछ ।
निर्वाचन आयोगले शनिबार प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाए संगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको थियो । आयोगको प्रतिवेदन प्राप्त भएसँगै सरकार गठन प्रक्रियाको बाटो खुला भएपनि प्रदेश प्रमुखले सबैसंग परामर्शपछि मात्र सरकार गठनका लागि आह्वान गर्ने गरि छलफलमा रहेको बताइएको छ । आयोगले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सो अवधिभित्र प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि आह्वान गरी सबै प्रक्रिया पुरा हुनेछ।
प्रदेशमा पहिले सर्वदलीय बैठक
केन्द्रीय सरकार गठन प्रक्रिया अघि बढे पनि प्रदेशमा सरकार गठनको लागि केन्द्रीय सत्ता समीकरणको प्रतीक्षामा रहेको बागमती प्रदेश सर्वदलीय बैंठकको तयारीमा छ ।
बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण मिति र समय निर्धारण गर्न प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । पुस ८ गते बिहान ११ बजे प्रदेशसभा सचिवलायमा बैठक आह्वान गरिएको हो । सर्वदलीय बैठकको लागि सूचनाको पठाइएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसैगरी बागमती प्रदेशसभाबाट सभामुख चयन नभएसम्म प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुङ्गानाले जेष्ठ सदस्यको हैसियतले सभा संचालन गर्ने भएका छन । संवैधानिक प्राबधान अनुसार सभामुखको चयन नभएसम्म सभाका जेष्ठ सदस्यको अध्यक्षतामा बैठक संचालन हुनेछ । नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य भएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचित हुन ।
बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई उनले नै शपथ गराउने प्रदेशसभाका सचिव खड्काले बताए । सदस्यहरूको सपथ पछि सभाको बैठक बस्ने बताइएको छ ।
सांसदहरुको शपथग्रहण पछि संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखमार्फत सरकार गठनको लागि आह्वान हुने हुँदा प्रदेश सभा संचालनको लागि संसद् सचिवालय जेष्ठ सदस्यको शपथ ग्रहणको तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालय बागमतीले जनाएको छ ।
प्रदेशमा कुनै पनि दलले एकल बहुमत प्राप्त नगरेकोले नेपालको संविधानको धारा १६८ बमोजिमको सरकार गठन हुने छैन । कुनै एक दलको बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा (२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन पाउने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बन्न सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार बहुमत जुटाउन सक्ने दल वा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
११० प्रदेश सभा सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसले ३७, नेकपा एमालेले २७, नेकपा माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, नेकपा एकीकृत समाजवादीले ७, नेपाल किसान मजदुर पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन् । बागमती प्रदेशमा बहुमतको सरकार गठनको लागि ५६ सदस्य चाहिन्छ ।
अंक गणित अनुसार केन्द्रीय सरकार सत्ता गठबन्धनबाट बन्ने देखिएको छ । सोही अनुसार केन्द्रीय सरकार गठन भए बागमती प्रदेशमा पनि गठबन्धनकै सरकार बन्ने छ । तर मुख्यमन्त्रीको भन्ने सबालमा सत्ता गठन्धनका संसदीय दलको नेता चुनिए पछि टुंगो लगाउन बाकी छ । यद्यपि दलहरुले मुख्यमन्त्रीमा आआफ्नै दाबी गर्दै आएका छन ।

