मकवानपुर । बागमती प्रदेश सरकारले आज मन्त्री परिषद् बिस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा आज प्रदेश प्रमुख यादबचन्द्र शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गङ्गा नारायण श्रेष्ठ,वन तथा वातावरण मन्त्रीमा राजु बिष्ट, पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीमा उद्दब थापा, भौतिक पूर्वाधार विकास मन्त्रीमा युवाराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशव पोख्रेललाई सपथ खुवाएका हुन् ।
यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, सामाजिक बिकास मन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त गरिएको हो । सबै मन्त्रीहरूले सपथ लिएका छन् ।
प्रदेश सरकारमा सहभागी ५ मध्ये ३ दलले मन्त्रालयहरू पाएका छन् । १७ दिन अघि मन्त्रालय घटाउन गठित कार्यदलले दिएको सुझाव अनुसार बागमतीमा १४ बाट घटाएर ११ मन्त्रालय बनाईएको हो ।
यससंग बागमती प्रदेशमा सरकारले पुर्णता पाएको छ । सरकारमा सहभागी एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी भने मन्त्रालयको दाबिबाट पछि हटेका छन् । प्रदेशमा एमाले र माओवादी केन्द्रले ४/४ र राप्रपाले ३ मन्त्रालय पाएका हुन । प्रदेशमा सभामुख राप्रपाले र उपसभामुख एमालेले यस अघि नै पाईसकेको छ ।
मकवानपुर । बागमती प्रदेशमा आज मन्त्री परिषद विस्तार हुँदै छ । ५ दलको सहभागीता रहेको बागमतीमा ३ दलबाट मन्त्रीहरु सहभागी हुनेछन् । २ दलले भने मन्त्रालयको दाबि छाडेको छ । प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मन्त्रालय पाएनन् ।
मुख्यमन्त्री, आर्थिक योजना मन्त्री र अर्को एक मन्त्रालयको लागि ३ सदसिय मान्त्री परिषद हाल रहेको छ । अब आज ८ जना मन्त्रीहरु नियुक्त हुनेछन् ।
जसको अन्तिम टुङ्गो लगाइ सकिएको छ । तीन दलको सहभागिता रहने यस प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा गरेर लिएका छन् ।
सरकारमा रहेको सबैभन्दा ठुलो दल नेकपा एमालेले पाउने मन्त्रालयमा मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यसैगरी एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका अर्का सांसद केशब पोख्रेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रले सांसद युवराज दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिने भएको छ । माओबादीकी सांसद कुमारी मोक्तानलाई फेरी पनि सामाजिक विकास मन्त्री बनाउने तयारी भएको छ ।
यसैगरी माओबादी केन्द्रले आन्तरिक मामिला मन्त्री पाउने भएको छ । आन्तरिक मामिला मन्त्रीमा माओबादीका गंगानारायण श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरिएको छ ।
यस अघि नै मन्त्री भएका राप्रपाका उद्धब थापाले खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय पाएका छन् । त्यसैगरी पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएको छ । राप्रपाले भने मन्त्री हुने अन्यको नाम सार्वजनिक गरेको छैन ।
विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी तीनै पार्टीले एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल थालेका छन् । तीनै पार्टीले एकअर्काको दस्तावेज लिएर अध्ययनसमेत गरिरहेका छन् ।
जसपासँग एकीकरणका लागि छलफल गरेको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पनि छलफल थालेको छ । तीनै पार्टीबीच छुटाछुटै छलफल भएको छ ।
जसपा र एकीकृत समाजवादीबीच विभिन्न चरणमा छलफल भइसकेको छ । अहिले दुवै पार्टीको वार्ता टोलीमा रहेका नेताले एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छन् ।
उता, एकीकृत समाजवादी माओवादी केन्द्रसँग समेत एकीकरणका लागि दस्तावेज अध्ययन गरिरहेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय निर्वाचनपछि एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल भएको थियो । तर, संघीय र प्रदेशसभा निर्वाचनमा जुटेकाले एकीकरण प्रक्रिया रोकिएको थियो ।
नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, आजपा र नेसपा प्रतिनिधिसभा ५५ सिटसहित शक्तिशाली दल बन्ने रणनीतिमा
निर्वाचनअघि नै माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबीच एकीकरण सहमति भइसकेको छ । सो सहमतिअनुसार नेसपाका नेता माओवादी केन्द्रको चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा सहभागी भए । केही दिनभित्रै दुवै पार्टी एकीकरणको औपचारिक घोषणा तयारीमा छन् ।
तर, सो एकीकरणअघि अन्य दलबीचसमेत सहमति जुटाएर एकै चरणमा एकीकरण घोषणा तयारीमा शीर्षनेता छन् । विभिन्न चरणमा पार्टी एकताका लागि जुटेका दलले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)लाई समेत एकीकरण प्रक्रियामा सहभागिता लागि पहल थालेका छन् ।
एकीकृत समाजवादी उपमहासचिव एवं वार्ताटोली सदस्य प्रकाश ज्वाला पार्टी एकीकरणका लागि भइरहेको छलफल सकारात्मक रूपमा अगाडि बढेको बताउँछन् । विभिन्न चरणमा छलफल भएको बताउँदै उनले धेरै विषयमा सहमति जुटिसकेको दावी गरे ।
‘अहिले हामी एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छौं । यसबीच पटकपटक छलफल भयो, साझा विषय त्यतिकै सहमति हुने नै भयो, सहमति हुन नसकेको विषयमा शीर्षनेता बसेर टुंगो लगाउनुहुन्छ,’ ज्वालाले राजधानीसँग भने ।
एकीकृत समाजवादीबाट वार्ता टोली संयोजकमा महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव ज्वालासहित अर्का उपमहासचिव डा. विजय पौडेल वार्ता टोली सदस्य छन् ।
यसैबीच, मंगलबार एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान संयोजक वामदेव गौतमबीच एकता छलफल भएको छ ।
एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलमा अध्यक्ष नेपालले एकीकृत समाजवादीमा प्रवेश गरी एकताबद्ध तरिकाले अगाडि बढ्न प्रस्ताव गरेको ज्वाला बताउँछन् । नेपालको प्रस्तावमा गौतमले छिट्टै निर्णय गरेर जवाफ दिने बताएका छन् ।
माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा नेता उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको वार्ता टोली गठन गरेको छ ।
यसैगरी, जसपाबाट वार्ताटोली संयोजकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन् ।
टोलीमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र
जसपा अध्यक्ष उपेन्द्र यादवबीच ‘गोप्य छलफल’पछि पार्टी एकीकरणका लागि वार्ता टोलीले आन्तरिक गृहकार्य तीव्र पारेको हो ।
‘राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकीकरण गर्नेगरी गृहकार्य भइरहेको छ । यदि कुनै कारण एकीकरण नभए कार्यगत एकता’मा समेत छलफल भएको छ,’ ती सदस्यले भने, ‘तीनै पार्टीका अध्यक्ष एकताका लागि सकारात्मक छन् । त्यसअनुसार हामीले पनि छलफल थालेका छौं, केही दिन केही हुन्छ ।’
गत साता एकीकृत समाजवादी र जसपाका वार्ता टोलीबीच छलफल भएको थियो । तीनै पार्टीका अध्यक्षको संयुक्त छलफलपश्चात् शनिबार र आइतबार गरी वार्ता टोलीबीच सघन छलफल भयो । सोमबारसमेत आन्तरिक छलफल गर्दै एकीकरण कार्य टुंगो लगाउने’ कुराकानी भएको छ ।
स्रोतका अनुसार मुख्यत वैचारिक र सैद्धान्तिक विषयमा मिलनविन्दु खोजी जारी छ । अरु विषय मिले पनि वैचारिक र सैद्धान्तिक मिलाउन वार्ताटोलीलाई सकस परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारलाई एकीकृत समाजवादी र जसपाले समेत विश्वासको मत दिएका छन् ।
मन्त्रिपरिषद विस्तारअघि भएको भागबन्डाप्रति असन्तुष्टि जनाउँदै जसपा सरकारमा सहभागी छैन । एकीकृत समाजवादी कांगेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा थियो । सिट बाँडफाँटमा सहमति नजुटेपछि जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागि भयो ।
पछिल्लो समय सरकार निर्माणअघि माओवादी केन्द्रसमेत एमाले गठबन्धनमा सहभागी भयो । तर, एकीकृत समाजवादी अझै कांग्रेस नेतृत्वकै गठबन्धनतर्फ छ । राजधानी दैनिकबाट
मकवानपुर । नेकपा एमाले मकवानपुरको छैटौ पूर्ण कमिटी बैठकले सिंगाे पार्टी पंक्ति संगठन निर्माणमा परिचालित गर्ने निर्णय गरेकाे छ ।
जिल्ला कमिटी बठैक्ले माघ देखि चैत्रसम्म पार्टी नयाँ सदस्यता सिफारिस, पार्टी सदस्य नवीकरण गर्ने, पार्टीकाे पालिका, वडा र टाेलसम्म, जनसंगठनकाे जिल्ला, पालिका र वडासम्म संगठन व्यवस्थित बनाउने निर्णय गरेकाे पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।
जनप्रतिनिधि र सामाजिक तथा सामुदायिक संगठनहरूलाई जनहितमा प्रभावकारी रूपमा परिचालन गर्ने समेत निर्णय बैठकले गरेकाे सिग्देलले जानकारी दिए ।
बैठकमा प्रमुख अतिथि पार्टी स्थायी कमिटीका सदस्य काशिनाथ अधिकारीले संघ र प्रदेशकाे निर्वाचनले एमाले मुलुककै लाेकप्रिय र बलियाे पार्टी भएकाे प्रमाणित गरेकाेले एमालेप्रति लगाईएका आराेपहरू जनमतले नै असत्य सावित गरेकाे बताए । अधिकारीले बैचारिक स्पष्टता, संगठननत्मक चुस्तता, जनमूखी कार्यशैली र जनसराेकारका विषयहरू पार्टी र कमिटीकाे प्रमुख कार्य भएकाेले यसलाई अनुशरण गर्न बैठक मार्फत पार्टी पंक्तिमा अनुराेध समेत गरेका थिए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य रामेश्वर रानाले संगठनलाई सुदृढ गर्दै राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरणमा ध्यान केन्द्रीत गर्नुपर्ने भनाई राखेका थिए । जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले मकवानपुरमा एमाले जनमतले पहिलाे र सशक्त पार्टी पुन:सावित भईसकेकाेले यसलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताए ।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक तथा प्रदेश कमिटीका सदस्यहरूकाे उपस्थिति रहेकाे थियो ।
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय घटाउन गठित कार्यदलले मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको कार्यदलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री जम्कट्टेलसमक्ष प्रतिवेदन पेश गरेको हो ।
उक्त प्रतिवेदनमा बागमती प्रदेशमा मन्त्रालय संख्या बढीमा ११ कायम रहने उल्लेख गरिएको बताइएको छ । मंगलबार मुख्यमन्त्री जम्कट्टेल समक्ष पेश गरिएको प्रतिवेदन कार्यान्वयनमा आए प्रदेशको मन्त्रालय संख्या ११ कायम हुनेछ ।
कार्यदलका सदस्य आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यले मुख्यमन्त्री जम्कट्टेललाई बुझाइएको प्रतिवेदनमा प्रदेशको कुल सांसदको १० प्रतिशत मन्त्रालय रहने गरी बढीमा११ मन्त्रालयको प्रस्ताव प्रतिवेदनमा गरिएको बताए ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषदको बैठकमा पेश गरिने बताए । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि कार्यदल गठन गरेका थिए ।
प्रदेशमा यसअघिको १४ मन्त्रालय कायम रहदा मन्त्रालयको संख्या बढी भएको भन्दै चौतर्फी बिरोध भएको थियो । प्रदेशमा यसअघिको सरकारमा दुई पटक मन्त्री रहेका जम्कट्टेलले मुख्यमन्त्रीको सपथ लिए लगत्तै मुख्य सचिव निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलको सदस्यमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव सदस्य रहेका थिए।
कार्यदलले बुझाएको प्रतिवेदनअनुसार बागमती प्रदेशका रहने मन्त्रालय
१. मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
२. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३. आर्थिक मामिला तथा योजना मन्त्रालय
४. वन तथा वातावरण मन्त्रालय
५. पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
६. खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
७. भौतिक पूर्वाधार विकास मन्त्रालय
८. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९ श्रम रोजगार तथा यातायात मन्त्रालय
१०. स्वास्थ्य मन्त्रालय
११. सामजिक विकास मन्त्रालय
