मकवानपुर । केही समय अघि नेपाली सेना डोजर लगाएर आवास भत्काएपछि सुकुम्बासी बनेकाहरु माझ पुगेका छन् संघीय सांसद महेशकुमार बतौला ।
संघीय सांसदको लागि मकवानपुर निर्वाचन क्षेत्र २ बाट निर्वाचित बर्तौला मकवानपुरको लोथरमा सेनाद्वारा भत्काईएको सुकुम्बासी बस्ती अनुगमनमा पुगेका हुन् । नेकपा एमालेको संसदीय दलको सचेतक समेत रहेका बर्तौला चितवन राष्ट्रिय निकुञ्ज कसरामा बनेको २२ घर टहरामा नेपाली सेनाले डोजर लगाएर भत्काएपछि स्थलगत अनुगमनमा पुगेका हुन ।
घर टहरा आधा रातमा डोजरले भत्काएको प्रती स्थानीयले सांसद बर्तौलासंग दुखेको पोखेका थिए । २०४९ सालकी वडा अध्यक्ष सरिता बिकका अनुसार उक्त स्थान २०४० सालमा तत्कालीन सांसद रुपचन्द्र बिष्टको पहलमा बाढिपिडित १४ घरधुरीलाई राखिएको हो ।

हाल त्यो १४ घरधुरीका मानिसको संङ्ख्या २२ घरमा बसोबास गर्दै आएको थियो । पूर्व वडा अध्यक्ष गोपि मुक्तानका अनुसार उक्त भुमिहिन सुकुम्बासीका नाममा नापी भइ सुकुम्बासी आयोगले कित्ता काट गरिसकेर लालपुर्जा बितरणको तयारी हुँदा काम रोकिएको छ ।
जग्गा उनीहरुकै नाममा भएकोले घर टहरा बनाउन पाउनुपर्ने माग उनीहरुको छ । स्थानीय भूमिहिनहरु आफ्नो नाममा नापी नक्सा भैइसकेकोले टहरा बनाउन पाउनुपर्ने तर्क गर्छन् ।
बर्तौलाले फिल्डबाट राष्ट्रिय निकुञ्जको वार्डेन हरिभद्र आचार्यलाई फोन गरेर निकुञ्जले आधा रातमा टहरामा डोजर लगाउन पर्ने अवस्था बारे जानकारी मागेका थिए ।
वार्डेन आचार्यले आफूले नियमानुसार टहरा भत्काइ सरकारी जग्गाको संरक्षण गर्न लागिपरेको बताए । आफूले कतै नियम मिचेको भए कारवाहिको प्रक्रिया अगाडि बढाउन समेत वार्डेनले बर्तौलालाई चुनौती दिएका छन् ।
भूमिहिनसंग सांसद बर्तौलाले आफू संधै जनताको पक्षमा काम गर्ने र आफूले यो समस्यालाई सदनमा राख्ने र सदनबाटै लड्ने आश्वासन दिएको स्थानीयले बताए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले ६७ मत पाएका हुन् । उनले आफ्नो कार्यकालमा दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
विश्वासको मतका लागि भएको मत बिभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने बिपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको वागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए ।
जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।
एमालेका चार मन्त्री आजै राजिनामा दिएका छन् । प्रदेश सभा बैठकमा आफूहरूको धारण राख्दै एमाले सरकारबाट बाहिरिएको हो ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । ८ गते लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि आजलाई प्रदेश सभा बैठक बोलाइएको छ ।
आज १ बजे बस्ने भनेको बैठकमा काँग्रेसका सांसदहरु उपस्थित हुने जनाइएको छ । अघिल्लो बैठक काँग्रेसका सांसदहरु सबै उपस्थित नभएकै कारण सारिएको थियो । प्रदेश सभा सचिवालयले बुधबार बस्ने भनिएको बैठक विशेष कारणवश भन्दै २ दिनपछि बैठक सरेकाे सूचना टाँसिएकाे थियाे।
आज १ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा वागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
यता नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । संघीय सरकारमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाको तयारी गरेको बुझिएको छ । आज बस्ने प्रदेश सभा बैठकमा एमालेले आफ्नो धारणा राखेर राजिनामा दिने तयारी गरेको छ ।
आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले यस अघि नै बताएका छन् । बागमती प्रदेश सरकारमा नेकपा एमालेका ४ जना मन्त्रीहरु सहभागी छन् ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत दिने र अन्य प्रक्रिया अघि बढाउन दबाब दिएको बुझिएको छ ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय एमाले बागमती प्रदेश संसदीय दलले गरेको थियो । यद्यपि आजको बैठकमा एमालेले उपस्थिती जनाउने स्रोतको दाबि छ ।
जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
ऐन बमोजिम छैनन् बालकल्याण अधिकारी
Tags: No Comments
- गोपिनी दाहाल
मकवानपुर । ऐनले भने अनुसार बाल कल्याण अधिकारी स्थानीय तहमा नहुँदा बालबालिकाहरुको समस्या छिटो छरीतो तरीकाले सम्बोधनमा समस्या हुने गरेको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७८ ले “बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहनेछ” भन्ने व्यवस्था गरेको छ, तर मकवानपुर जिल्लाको १० मध्ये कुनै पनि स्थानीय तहले यो ऐन तथा नियमावलीको पालना गरेका छैनन् ।
कानुनको अक्षरस पालना नहुदा बालबालिकाको पक्षमा स्थानीय तहहरुबाटै बालबालिकाहरुको समस्यालाई अनुकरणीय ढंगले सम्बोधन हुन सकेको छैन । देश बालमैत्री स्थानीय शासन प्रणाली लागु गराउने अभियानमा रहदा नीति, नियम, कानुन तथा निर्देशिकाहरुले भने बमोजिमको कार्यान्वन त परको कुरा अभ्यास समेत हुन सकेको छैन ।
ऐन तथा नियमावलीले प्रत्येक स्थानीय तहमा बालकल्याण अधिकारीको नियुक्त गरी उनीहरुले गर्नुपर्ने काम कर्तव्य र अधिकार तथा सेवाको शर्तको व्यवस्था गरिएको छ, तर व्यवहारमा यस्तो छैन ।
बालमैत्री स्थानीय शासन लागु भएको घोषणा भैसकेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा बाल कल्याण अधिकारी नै छैनन् । जसले गर्दा बालबालिको सवाललाई संस्थागत रुपमा सम्बोधन गर्न समस्या भएको सरोकारवालहरुको गुनासो छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका, कैलाश, बकैया, मकवानपुरगढी गाउँपालकाहरुलगायतमा बाल कल्याण अधिकारी तोकिएका छन् । तर उनीहरुलाई बाल कल्याण अधिकारीको जिम्मेवारी दिइनु भन्दा थपिएको हो । महिला तथा बालबालिका शाखाको कर्मचारीलाई नै बालकल्याण अधिकारी नियुक्त गर्दा कार्यबोझ मात्रै थपिने र काम नहुने समस्या रहेको सरोकारवालहरुले बताएका छन् ।
महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीलाई बालकल्याण अधिकारी तोकिएपछि उनीहरुलाई कामको बोझ मात्रै थपिएको छ ।
ऐनले नयाँ नियुक्त गर्नुपर्ने भनेको भएपछि तत्काललाई झारो टार्ने हेतुले पुरानै कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिदा जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यसरी नभएको बाल अधिकार परिषद बागमती प्रदेश सदस्य तथा सिविन बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञावलीले बताए ।
“पुराना कर्मचारीहरुलाई नयाँ जिम्मेवारी तोकिदा उहाँहरुको कार्यबोझ बढ्ने समस्या हुन्छ, इच्छा भएर पनि उहाँहरुले कार्य समय बाँड्नुपर्ने हुन्छ, जसले गर्दा बालबालिकाको केस प्राथमिकतामा नपर्न सक्छन्” ज्ञवलीले भने । तोकिएका कर्मचारीहरुलाई पनि उनीहरुको काम कर्तव्य र अधिकारबारे जानकारी छैन, उनीहरुलाई तालिम र प्रशिक्षण छैन ।
यसैगरी प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिमा गठन गरेर बालबालिकाको पक्षमा हुनुपर्ने काम तथा निर्णयमाथि निगरानी गर्दै बालबालिकाको संरक्षण, उद्धार जस्ता कार्यमा लाग्नु पर्ने मार्गदर्शन छ । तर यो पनि सबैतिर कार्यान्वयन भएको छैन । बालबालिकाहरुको विभिन्न अवस्थाको अध्ययनपछि उनीहरुलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्नको लागि स्थानीय तहहरुमा बाल कोषको समेत स्थापना गर्नुपर्नेमा धेरैजसो स्थानीय तहहरु यसबारे बेखबर छन् ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त रकमको व्यवस्था गरेर काम कार्य गर्नुपर्ने हुन्छ ।
यसरी पुरानै कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिएपछि उनीहरु नयाँ जिम्मेवारीमा गर्नु पर्ने काम कर्तव्य अधिकारबारे पनि जानकारी छैन । “बाल कल्याण अधिकारी तोकिएको एउटा पत्र पाएको छु, के काम गर्ने, कसरी गर्ने, केही जानकारी छैन” एक बालकल्याण अधिकारीको गुनासो थियो ।
बालबालिकाहरु मध्ये पनि श्रम क्षेत्रमा रहेको बालबालिकाको समस्या सम्बोधन गर्न, उनीहरुको हितको लागि काम गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारले ध्यान नदिएको सरोकारवालाहरुले बताएका छन् ।
बागमती प्रदेशको बालकोषमा ५ करोड बजेट भएको तर, स्थानीय तह मार्फत काम गर्न संरचना नबनेको कारण समस्या भएको ज्ञावलीले बताए । स्थानीय क्षेत्रमा रहेका ढुङ्गा गिट्टी वालुवाको कसरहरुमा बालश्रम बढी हुने गरेको पाइएको छ ।
विहिबार हेटौंडामा भएको श्रममा रहेको बालबालिकाको सहभागीता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले श्रमिक बालबालिकाहरुको सवाल सधैं ओझेलमा परेको गुनासो गरे ।
बालअधिकारकर्मीहरुले श्रमिक बालबालिकाको उद्धार गर्दा अभियानकर्मीलाई श्रम खोसेको आरोप आउँने गरेको बाल कल्याण समाज मकवानपुरका प्रमुख प्रकाश खतिवडाले बताए । श्रमबाट उठाएर उपयुक्त स्थानमा ब्यावस्थापन गर्न नसक्दा बालश्रमिकहरु पुन श्रममा फर्कन बाध्य रहनु सबैभन्दा पीडादायि भएको आस्मान नेपालमा मनिराम आचार्यले बताए ।
नेपालको दीगो विकास योजनाले पनि बालश्रम मुक्त राष्ट्रको कल्पना गरेको छ । तर देशको धेरै बालबालिका आज पनि स्कुलभन्दा बाहिर र श्रममा रहेको सहभागीहरुले बताए ।
श्रममा रहेको बालबालिकाहरुको श्रम शोषणसँगै यौनशोषण समेत हुने गरेको, उनीहरुले समयमा खाना खाने, बिरामी पर्दा औषधि उपचार नपाउने, राति अबेरसम्म काम गर्नु पर्ने, अत्यधिक धुवाँ र धुलोको काम गर्नुपर्दा जटिल स्वास्थ समस्या समेत हुने गरेको कार्यक्रममा कार्यपत्र प्रस्तोता गंगा सुवेदीले बताइन् ।
ति बालबालिकाहरु कुलतको शिकार हुने, अभिभावक नहुदां नागरिकता प्राव्तिमा समेत समस्या हुने गरेको सुवेदीले बताइन् ।
बाल कल्याण समाज मकवानपुरको समन्वय र आस्मान नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले बाल बालिका सम्बन्धी नियमावली २०७८ को नियम ३ उप नियम २र ३ मा बालक्लब वा संस्थाखोल्दा उनीहरुको सहभागिता अनिवार्य भनेको भएपनि व्यवाहारमा यो समेत नभएकोमा गुनासो गरेका थिए ।
कार्यक्रममा गैसस बागमती प्रदेश अध्यक्ष आरती पाठक, इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारीऽ माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ, हिमराइट्स मकवानपुर प्रमुख तथा गैसस मकवानपुरको उपाध्यक्ष कुमारी वाइबा, गैसस मकवानपुर सचिव सन्तोष पौडेललगायतले बाल सराेकारकाे सवालमा धारणा व्यक्त गरेका थिए ।
चेतनाथ दाहाल
१.
मग्मगाउदो सुन्दर फूल पनि ओईलाएर झर्नुपर्छ
आखिर नदीले यहाँ समुद्र संगै समर्पण गर्नुपर्छ
अस्तित्वको सीमा भुलेर व्यर्थै घमण्ड गर्छ मान्छे
थाहा छ नि एकदिन चितामाथि लम्पसार पर्नुपर्छ ।
२.
आत्मीयता बाहेक मित्रता जाच्ने अन्य कुनै कसी हुदैन
भरोसा र बिश्वास बाहेक प्रमाण हुदैन,दसी हुदैन
जात धर्म भुगोल र उमेर सबैभन्दा माथि नै हुन्छ यो
मित्रताको परिभाषा लेख्ने कुनै कलम र मसी हुदैन ।
३.
समयले लुटेको बिगतलाई हत्याउन गार्हो हुने
घुमिरहन्छ दृश्य मस्तिष्कमा लत्याउन गार्हो हुने
ऐना हेर्यो अनी बिगतको तस्वीरसंग दाज्न खोज्यो-
छेउ टुप्पो मिल्दैन,आफ्नै हो भनी पत्याउन गार्हो हुने ।
४.
सुख भन्दा धेरै दु:ख र पिडाको खात आउँछ
आफ्ना भन्नेहरुबाट नै प्रसस्त घात आउँछ
जति सरापे पनि कसैको केही लाग्दैन यहाँ
निद्रा नलाग्नेहरुको लागि पनि रात आउँछ ।
कानेपोखरी २ मोरङ्ग
