मकवानपुर । खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारीता तालिम र खेलकुद प्रतियोगिता गर्ने भएको छ । जिल्लामा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नका लागि तालिम सँगै प्रतियोगिता गर्न लागिंएकाे हाे ।
मञ्च अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारीतामा चासो राख्ने पत्रकारहरुका लागि २ दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । मञ्चले २०८० बैशाख १५ र १६ गते पत्रकारीता तालिम सञ्चालन गर्ने भएको छ । बैशाख महिनाकै २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने निर्णय भएकाे मञ्च सचिब गणेश दर्पण अधिकारीले बताए ।
मञ्चले गर्ने तालिमको संयोजन सचिब अधिकारीले गर्ने छन् भने फुटसल प्रतियोगिताको संयोजन सहसचिव नबिन तिमल्सिनाले गर्ने छन् । दुबै कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकाे आर्थिक सहयोग गरिने भएकाे छ । त्यसकाे लागि उपमहानगरपालिकाकाले बजेट व्यवस्थापन समेत गरेकाे बताइएकाे छ ।
फुटसल प्रतियोगिता विजेतालाई ३० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी उपविजेताले २० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने दाहालले जानकारी दिए ।
बैठक कोषाध्यक्ष सुदिप शिवाकोटी रोजगारीको शिलशिलामा बिदेश रहेकाले कार्यसमिति सदस्य पुष्पराज अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
मकवानपुर । आज मन्त्री मण्डल बिस्तार गरिने तयारी रहेपनि कांग्रेस भित्र आकाक्षिमध्येमा सहमति गराउन सकिएको छैन ।
बागमती प्रदेशमा नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुङ्गो नलगाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ ।
कांग्रेसको केन्द्रमा मन्त्रीहरु पठाउन किचलो भएसंगै बागमती प्रदेशमा पनि मन्त्रीहरुका आकांक्षिहरु धेरै भएपछी मन्त्रीहरुको नाम टुङ्गो लगाउनका लागि ढिलाई भएको हो । अब छिट्टै मन्त्रीहरुको नाम टुङ्गो लगाएर पठाउने तयारी भएको नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामाले बताए ।
केन्द्रको कारण प्रदेशमा पनि मन्त्रीहरुको टुङ्गो लगाउन समस्या भएको उनले बताए । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै बागमती प्रदेशमा भएको सत्ता समीकरणपछि सरकार विस्तारमा ढिलाइ भएको छ। फेरिएको गठबन्धनमा रहेका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा केही दिन ढिलाइ हुने भएको छ।
सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । एक महिनाभन्दा लामो समयदेखि चारवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलमाथि गत शुक्रबार थप चारवटा मन्त्रालयको बोझ पनि थपिएको छ । यो सहित मुख्यमन्त्रीको नेतृत्वमा आठवटा मन्त्रालय छ ।
प्रदेशमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा भएको ढिलाइबारे एक–अर्काका कारण भन्दै आरोप लगाउँदै आएका छन्। माओवादी केन्द्रका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कांग्रेसले मन्त्री बनाउनेको नाम दिन ढिलाइ गरेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताए ।
मन्त्री दुलालले भन्नुभयो, “कांग्रेसले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम दिन ढिलाइ गरेको छ, आन्तरिक समस्या वा कसलाई पठाउने भन्नेबारे सहमति नभएकाले हुन सक्छ। केन्द्रमा भागबन्डामा सहमति भएपछि यहाँ पनि मन्त्रिमण्डल विस्तारमा सहज होला जस्तो छ।” गत पुस २५ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित प्रदेशमा रहेका पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा सरकारबाट बाहिरिएको थियो।
गत फागुन १३ गते राप्रपाले सरकार छाडेपछि राप्रपाले पाएको तीनवटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले कै जिम्मेवारीमा छ । यस्तै गत शुक्रबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि एमालेले सत्ता भागबन्डामा पाएको मन्त्रालयको जिम्मेवारीसमेत पछिल्लो समय मुख्यमन्त्री जम्कट्टेल अरूलाई दिएका छैनन् ।
एमाले र राप्रपा सत्ताबाट बाहिरिएसँगै सत्तामा सहभागी हुन लागेको कांग्रेसमा मन्त्री हुनेको सङ्ख्या बढेपछि कांग्रेसलाई व्यवस्थापनमा समस्या भएको देखिएको छ। कांग्रेसभित्रको समूह र गुट मिलाउन समस्या भएपछि कांग्रेसले प्रदेश सभा सदस्यको सङ्ख्याका आधारमा मन्त्री पाउनुपर्ने भन्दै धेरै मन्त्रालयको दाबी गर्दै आएको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले कांग्रेसले मन्त्री भागबन्डा गर्दा छवटा पाउनुपर्ने दाबी गरेको जानकारी दिए । माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, कांग्रेसले छवटा माग गरेको, नेकपा ९एकीकृत समाजवादी०ले दुईवटा र हाम्रो नेपाली पार्टीले एउटा माग गरेअनुसार भागबन्डा गर्दा अहिले रहेको मन्त्रालय पुग्ने देखिँदैन।
प्रदेशमा रहेको ११ वटा मन्त्रालयलाई भागबन्डाका लागि मन्त्रालय फुटाएर विवादमा आउने पक्षमा मुख्यमन्त्री जम्कट्टेल नदेखिएपछि सरकार विस्तारमा सकस भएको हो।
मन्त्रालय भागबन्डामा सकस भएपछि सहमति निर्माण गर्न कार्यदल गठन गरिएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।
उपनेता चित्रकारका अनुसार कार्यदलमा उनीसँगै कांग्रेसका ३ जना, माओवादी केन्द्रका २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका १/१ जना रहेका छन्। उपनेता चित्रकारले भने “कांग्रेसका कारण सरकार विस्तारमा ढिलाइ भएको होइन, छवटा मन्त्रालय माग गरेका छौँ। माओवादी केन्द्रसमेत सुरुमा सहमत थियो। सहमति जुट्नेबित्तिकै सरकारले पूर्णता पाउनेछ।”
मन्त्रिमण्डल विस्तारमा सहमति जुट्न नसकेपछि काठमाडौँमा मुख्यमन्त्री जम्कट्टेल, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामासहितका नेता बसेर सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो।
कांग्रेसले केन्द्रमा सत्ता गठबन्धनमा हुने सहमतिलाई कुर्दासमेत सरकार निर्माणमा ढिलाइ भएको हो। सातै प्रदेशको एकमुष्ट भागबन्डा हुने र केन्द्रमा समेत मन्त्रिमण्डल विस्तारमा हुने सहमतिलाई प्रदेशमा कांग्रेसले कुरेर बसेको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा केन्द्रमा सातै प्रदेशको भागबन्डाबारे छलफल भएर सहमति भएपछि प्रदेशमा सरकारको काम हुने बताए ।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले गत शुक्रबार प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका थिए । मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।
मकवानपुर । चर्च ब्वाइज युनाइटेड क्लबले १३औं संस्करणको जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।
चैत १८ गते शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० गोल अन्तरले हराउदै चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागितामै उपाधि चुमेको हो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पारेको छ । त्यस्तै उपविजेता हिमालयन शेर्पाले ५ लाख नगद प्राप्त गरि चित्त बुझाएको छ ।
चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको १३ औ संस्करणको उपाधि दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे ।
खेलको छैठौं मिनेटमा दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीए पछि हिमालयन शेर्पा १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म चुनौती दिएको थियो ।
तर, खेलको ३५औं मिनेटमा चर्च ब्वाइजका मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै उपाधि दिलाए ।
विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रहृयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका यूएस प्रिसो, डिफेण्डर फ्रयांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं घोषित भए उनीहरूले समान २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित हुदा उनलेे २० हजार प्राप्त गरेका छन । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए । उनले २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए । उनले नगद १५ हहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर-११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्रयांकलीन टाला घोषित भएका थिए ।
यस अघि जीतपुर सिमरा गोल्ड कप उपाधि २०६६ सालमा मजदुर शहीद स्मृति क्लब २०६७ सालमा हिमालयन शेर्पा क्लब, २०६८ र २०६९ सालमा मनाङ मर्स्याङ्दी क्लब, २०७० मा नव जनजागृति युवा क्लब सिमरा, २०७१ त्रिभुवन आर्मी क्लब, २०७२ मा विजय युथ क्लब हेटौंडा, २०७३ मा संकटा क्लब, २०७४ मा त्रिभूवन आर्मी, २०७५ मा थ्रीस्टार क्लब, २०७७ मा संकटा क्लब र २०७८ मा न्युरोड टिम एनआरटी बिजेता भएका छन ।
मकवानपुर । आइतबार बागमती प्रदेश सरकार बिस्तार हुने भएको छ । बागमती प्रदेशमा आईतबार साँझसम्म मन्त्रीमण्डल बिस्तारको तयारी भएको बताइएको छ ।
बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेको छ । रिक्त रहेको ७ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तयारी सुरु गरेका छन ।
सत्ता गठबन्धन दल बिछ प्रदेशमा नेपाली कांग्रेसलाई ५ मन्त्रालय दिने गरि सहमति हुने भए पछि मन्त्रीपरिषद विस्तार गरिने मुख्यमन्त्री कार्यलयले जनाएको छ ।
कांग्रेसलाई ५, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई १/१ मन्त्रालय दिनेगरि तयारी सुरु गरिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । ११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरि मन्त्रालयको भागवण्डा मिलाउने तयारीमा मुख्यमन्त्रीले पहल गरेपछि कांग्रेसले माग गरेको ६ मन्त्रालयबाट घटाएर ५ दिनेगरि सहमति हुन लागेको हो ।
मन्त्रालय भागवण्डाको लागि निर्माण गरिएको कार्यदलले कुन मन्त्रालय कस्ले पाउने भन्नेबारे आज बेलुका वा भोली बिहानसम्म टुंगो लगाउने तयारी गरेको छ । सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ । सम्भवत लामाले आर्थिक मामिला मन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने छन् ।
काठमाडौ । कवि सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को कविता कृति ‘तिल गङ्गा गोविन्द’ विमोचन गरिएको छ । पौडेलको पहिलो कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ को साहित्यकार तथा पत्रकार रोचक घिमिरेले शुक्रबार काठमाडौमा विमोचन गरेका छन ।
कृति विमोचन कार्यक्रममा साहित्यकार तथा पत्रकार घिमिरेले कवि भीमफेदीयाका रचना सरल, बोधगम्य हुनुकासाथै अनेकौं विम्ब र प्रतिकको बोझबाट मुक्त रहेको बताए । उनले विगतमा कवि भीमफेदीयाको विभिन्न प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरुसँग निकट सम्पर्क रहेकोले त्यसका आधारमा उहाँहरुको संस्मरण लेख्न पनि सुझाव समेत दिएका थिए ।
नेपाल साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले विमोचित कविता सँग्रहमा जीवनपरक कविताहरु रहेको बताउँदै साहित्यिक पत्रकारिताका लागि राज्यले बेग्लै व्यवस्था गर्न जरुरी रहेकोमा जोड दिए ।
‘शब्दपथ’का सम्पादक साहित्यकार किशोर पहाडीले कवि पौडेलसँग आफ्नो करिव पाँच दशक लामो सम्पर्कको चर्चा गर्दै उनका कविताहरु तिख्खर स्वादका हुने बताए ।
लेखक श्रीरामसिंह बस्नेतले प्रस्तुत कविता सङ्ग्रहबाट साहित्यमा कवि भीमफेदीयाको सुखद् पुनरागमन भएको बताउँदै २०३८ देखि २०४२ सम्म प्रकाशित ‘कुरौटे’ साहित्यिक पत्रिका कवि भीमफेदीयाको साहित्यिक पहिचानको एक अभिन्न पक्ष रहेको चर्चा गरेका थिए ।
कृतिकार पौडेल भीमफेदीयाले आफ्नो जीवनका आरोह–अवरोह, संयोग र वियोगलाई कवितामा व्यक्त गर्ने सानो प्रयास स्वरुप सङ्ग्रह प्रकाशित गर्ने जमर्को गरेको बताए ।
तीसको दशकदेखि नै कविता लेखनमा सक्रिय रहेका पौडेल आफ्नो जागिरे जिवनलगायत विभिन्न कारणले साहित्यिक परिदृष्यबाट टाडिएका थिए । जागीरबाट अबकाश पछि कवि पौडेल ‘भीमफेदीया’ पहिलो कविता कृति लिएर पाठकसमक्ष आएका हुन ।
कवि भीमफेदीयाले आफ्नी आमा, फुपू र पिताप्रति समर्पण गरेको यस कृति उहाँहरुकै नामबाट नामाकरण गरिएको छ । पुस्तकमा कविले आफ्नो जीवनका विभिन्न चरणमा लेखेका १ सय २६ वटा कविता समेटिएका छन । पुस्तकमा समाबेस भएका कवितामध्ये ९ वटा अङ्ग्रेजी भाषामा समेत लेखिएका छन् ।
कार्यक्रममा राधेश्याम लेकाली, किशोर पहाडी, मुरारी सिग्देल, विमल भौकाजी, पारु तिमिल्सिना तथा स्वयम् कविले विमोचित पुस्तकबाट कविता वाचन गरेका थिए ।
प्रकाशक वन्दनाकुमारी पौडेल रहेको कविता सङ्ग्रह कुल १८० पृष्ठको रहेको छ ।

