मकवानपुर । चर्च ब्वाइज युनाइटेड क्लबले १३औं संस्करणको जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।
चैत १८ गते शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० गोल अन्तरले हराउदै चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागितामै उपाधि चुमेको हो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पारेको छ । त्यस्तै उपविजेता हिमालयन शेर्पाले ५ लाख नगद प्राप्त गरि चित्त बुझाएको छ ।
चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको १३ औ संस्करणको उपाधि दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे ।
खेलको छैठौं मिनेटमा दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीए पछि हिमालयन शेर्पा १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म चुनौती दिएको थियो ।
तर, खेलको ३५औं मिनेटमा चर्च ब्वाइजका मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै उपाधि दिलाए ।
विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रहृयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका यूएस प्रिसो, डिफेण्डर फ्रयांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं घोषित भए उनीहरूले समान २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित हुदा उनलेे २० हजार प्राप्त गरेका छन । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए । उनले २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए । उनले नगद १५ हहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर-११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्रयांकलीन टाला घोषित भएका थिए ।
यस अघि जीतपुर सिमरा गोल्ड कप उपाधि २०६६ सालमा मजदुर शहीद स्मृति क्लब २०६७ सालमा हिमालयन शेर्पा क्लब, २०६८ र २०६९ सालमा मनाङ मर्स्याङ्दी क्लब, २०७० मा नव जनजागृति युवा क्लब सिमरा, २०७१ त्रिभुवन आर्मी क्लब, २०७२ मा विजय युथ क्लब हेटौंडा, २०७३ मा संकटा क्लब, २०७४ मा त्रिभूवन आर्मी, २०७५ मा थ्रीस्टार क्लब, २०७७ मा संकटा क्लब र २०७८ मा न्युरोड टिम एनआरटी बिजेता भएका छन ।

