मकवानपुर । नेकपा एमाले मकवानपुरले पार्टी सुदृढीकरण तथा विस्तार(मिसन ग्रासरुट) अभियान अन्तर्गत हेटाैडा उपमहानगरपालिका भित्रका एक हजार अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने भएकाे छ ।
आगामी २ बैशाखमा हेटाैडामा पार्टी महासचिव शंकर पाेखरेलले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने भएका हुन् । एमाले हेटाैडा नगरकमिटीले विहीबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएकाे हाे ।
प्रशिक्षणकाे लागि एमाले केन्द्रीय महासचिव पाेखरेलले बन्द प्रशिक्षणसंगै कार्यकर्तालाई पार्टी प्रवेश समेत गराउने कार्यतक्रम रहेकाे छ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको गत माघ २६ गतेको बैठकले पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेकाे थियाे ।
पार्टीकाे निर्णय बमोजिम अभियानको उद्देश्य, कार्यादेश र कार्यायोजना र जिम्मेवारी तोकी बागमती प्रदेश संगठन कमिटी, जिल्ला कमिटी मकवानपुरले अभियानका विषयवस्तुहरुलाई थप एकिकृत र एकताबद्ध गराउन हेटौडाको पालिकादेखि वडातहसम्म जिम्मेवारी दिईएको नगर अध्यक्ष शालिक पुडासैनीले बताए ।
पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत् आधारभूत तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्याङ्क उनीहरुको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र आधारभूत तहमा पार्टीको अवस्थाकाे यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त गर्ने मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९ काे उदेश्य रहेकाे पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।
मिसन ग्रासरुट अभियानबाट पार्टीको आधारभूत पङ्क्ति पार्टीका आधार भूत सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित हुने, स्थानीय तहमा उत्पन्न हुन सक्ने या भएका अन्तरविरोधको पहिचान र तिनको समाधानका ठोस विकल्प प्राप्त हुने, पार्टी कमिटी र जनप्रतिनिधिहरुबीचको सम्बन्धबारे वैचारिक राजनीतिक र संरचनागत स्पष्टता हासिल हुनुका साथै स्थानीयतहका जनप्रतिनिधिहरुको भूमिका थप प्रभावकारी हुने पार्टी जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले बताए ।
यसैगरी अभियानले पार्टी संभावनायुक्त नयाँपुस्ताको पहिचान हुनुका साथै पार्टीलाई जनसरोकारका विषयलगायत समाजका विभिन्न क्षेत्रका रचनात्मक सुझावहरु हासिल हुने, नेता र कार्यकर्ताबीच एवं पार्टी र जनताबीचको सम्बन्ध थप घनिष्ट हुने, अभियान पश्चात पार्टीको प्रभाव विस्तार हुने, पार्टी अनुशासित र एकताबद्ध हुने, पार्टीको सङ्गठनात्मक अवस्था सुदृढ हुने उदेश्य समेत लिएकाे पार्टी सचिव नविन सिग्देलले बताए ।
एमाले हेटौडा उपमहानगर कमिटीमा पार्टी सदस्य संख्या ३ हजार ७ सय ४ , नयाँ सदस्य सिफारिस संख्या ८ सय ७१ तथा नविकरण भएकाे संख्या २ हजार ५ सय १६ रहेकाे जनाएकाे छ । यसैगरी हेटौडा उपमहानगरपालिकाकाे १९ वटै वडामा वडा कमिटी गठन भएकाे पार्टीकाे टाेल कमिटी गठन भएकाे संख्या २ सय ३ रहेकाे छ ।
मकवानपुर । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले विकास मानवकाे लागि भएकाेले मानवीय विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छ ।
हेटाैँडा उपमहानगरपालिकाद्वारा आयाेजित लागू औषत दुर्व्यसनी न्यूनीकरण जनचेतना अभिवृद्वि कार्यक्रममा बाेल्दै सिग्देलले उक्त कुरा बताएका हुन । ‘आधुनिक समाजकाे विकासक्रममा देखिने विभिन्न चुनाैती मध्ये दुर्व्यसनी एक हो’ सिग्देलले भने- ‘शैक्षिक, स्वास्थ्य, सामाजिक, आर्थिक विकाससंगै सामाजिक विभेद, विकृति र विसंगति हटाउन समुदाय परिचालनबाट मात्र सम्भव छ ।’
२ दिनसम्म सञ्चालित कार्यक्रममा अमर मावि, बालजागृति ईङ्गलिस बाेडिर्ङ्ग, आाधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि , सिद्वार्थ शिशु सदन, जीएस निकेतन, नवाेदय मावि, श्रमिक मावि, रिलायन्स ईङ्लिस बाेर्डिङ्ग स्कुल र हेटाैँडा क्याम्पसका १ सय ७ जना विध्यार्थी सहभागी थिए ।
कार्यक्रममा टाेल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी , हेटाैँडा क्याम्पसका स्ववियु सभापती अभि मैनालीकाे अथित्यता रहेकाे कार्यक्रममा हेटाैँडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालकाे सभाध्यक्षतामा भएकाे थियाे ।
मकवानपुर । संविधानबिरोधी शक्तिको भ्रममा कोही पर्न नहुने बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताएका छन् ।
संविधान बिरोधी शक्तिहरूको अराजक हर्कत बढ्दै गए राज्य मुकदर्शक भएर नबस्ने चेतावनी समेत उनले दिएका छन् ।
बागमती प्रदेस सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध शक्ति सदन र सडकमा सक्रिय भइरहेको बताए ।
मन्त्रालयले आज बुधबार सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आयोजना गरेको सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कतिपय हिजोका पञ्चायतकालीन ऐन, कानून अनुसार काम गर्नुपर्दा समस्या भैरहेको कुरा बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार ऐन, कानून बनाउन पहल गर्ने प्रतिबद्धता गरे ।
प्रदेशका अधिकांस सुरक्षा चुनौतीको रूपमा सवारी दुर्घटना, आत्महत्या, प्राकृतिक विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागू औषध नियन्त्रण, महिला हिंसा जस्ता समस्याहरू रहेको तर्फ सजग रहनुपर्ने भन्दै जिल्लाजिल्लामा यस्ता समस्याहरु सुरक्षा चुनौतीको रुपमा रहेको मन्त्री श्रेष्ठले जानकारी गराए ।
मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भए अनुसार सङ्घीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार दिन कन्जुस्याइँ गरेकाले प्रदेश सरकारले परिणाममुखी काम गर्न अप्ठ्यारो परिरहेको कुरा बताउँदै उनले प्रहरी समायोजन तुरुन्तै हुनुपर्ने कुरामा जोड दिए ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, अत्याधुनिक प्रविधि (सीसी क्यामेरा लगायत) जडान गर्ने, विपदको जोखिम कम गर्न र विपदमा परेकाहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयले प्रदेश विपद व्यवस्थापन प्राधिकरण बनाउने, नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरि कानूनको प्रभावकारी कार्यान्वयन गर्ने पनि उनले बताए ।
त्यस्तै साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतीय सामाग्रीको स्वनियमन, नियमन गर्ने कानुन चाँडै बनाउने साथै महिला हिंसा र आत्महत्या हुनबाट जोगाउन समुदायलाई सचेत गराउन सचेतनामूलक कार्यक्रमहरू गर्नुका साथै, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने मन्त्री श्रेष्ठले बताए ।
बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रमुख जिल्ला अधिकारीहरू रमेश न्यौपाने, कोमल प्रसाद धमला र अनिता निरौलाले जानकारी गराएका थिए ।
सचिव ध्रुव गैंडाको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयको तर्फबाट शान्ति सुरक्षा तथा कारागार महाशाखाका प्रमुख सुरेन्द्र कार्कीले प्रदेशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारीसहित सहजिकरण गरेका थिए ।
बसन्त हरियाली
तिमी कस्तो छौ, तिम्रो बानीले पनि देखाउँछ।
ऐनाले देखाउने आकृति पानीले पनि देखाउँछ।
माटोको गाग्रोमा भरेको पानी हुँ भन्ने बिर्सिएर
एक समयमा औकात जवानीले पनि देखाउँछ।
मध्य रात सपनीमा पैशाले चिमोट्नेहरुलाई
मध्य दिनमा तारा जिन्दगानीले पनि देखाउँछ।
माया गर्छु भन्नेलाई म कसरी विश्वास गरूँ खै?
दुधको जस्तै रङ्ग त चौलानीले पनि देखाउँछ।
पहिले खाडी मुलुक पस्दा सत्र अठारको थिएँ
ऐले उमेर ढल्केको राहदानीले पनि देखाउँछ।
अछाम हाल किर्तिपुर
मकवानपुर । अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय कमिटिमा मकवानपुरका तीनजना चयन भएका छन् ।
नेकपा एमाले निकट अनेमसंघको काठमाडौंमा सम्पन्न सातौ राष्ट्रिय अधिवेशनबाट मकवानपुरका २ जना चयन भएका हुन । त्यस्तै अधिवेशनपछिको पहिलो बैठकले १ जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेसँगै केन्द्रीय कमिटिमा मकवानपुरबाट ३ जनाको प्रतिनिधित्व भएको हो ।
अधिवेशनले मकवानपुरबाट पदमा पौडेल तथा मेनुका दाहाललाई केन्द्रीय सदस्यमा चयन भएका हुन । केन्द्रीय अधिवेशनपछिको पहिलो बैठकले पार्वती रानालाई केन्द्रीय सदस्य मनोनित गरेको नेकपा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठले बताईन् ।
