सालक स्तनधारी लजालु जनावर हो, यो प्याङ्गोलिनको नामबाट पनि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा फोलिडोटा फाइलमा राखिएको छ । जसको अर्थ खपटा भएको जनावर भन्ने हुन्छ । विश्वभर ८ प्रजातिका सालक पाइन्छ। नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन्: तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन र कालो सालक अर्थात चाइनिज प्याङ्गोलिन ।
झट्ट हेर्दा न्याउरीमुसा जस्तो देखिने यो स्तनधारी जीवको शरीरभरी बाक्लो र कडा खपटा हुन्छ । यो सानो डाइनोसरजस्तो देखिन्छ । सालकलाई विभिन्न स्थान समुदाय अनुसार फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ । सालकले जमिनको प्रांगारिक माटो खनेर जमिन बाहिर निकाल्ने गर्दछ यसले जमिनको उर्वराशक्ति बढ्छ । यसको साथै जमिन भित्रको माटो खुकुलो बनाइ जमिनभित्र बर्षातको पानि छिरेर जमिनको चिस्यान कायम गर्न मदत पु¥याउँदछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पु¥याउँदछ । त्यसैले सालकलाई किसानको साथी भन्ने गरिन्छ ।
हालसम्मको जानकारी अनुसार मकवानपुरमा दुबै प्रकारका कालो र तामे सालक पाइन्छ । मकवानपुरको चुरेको फेद जहाँ सालको जंगलको राम्रो उपस्थिति छ त्यो क्षेत्रमा र माथिल्लो भेगको चित्लांग पालुंगको जंगलमा समेत यसको उपस्थिति देखिन्छ । चितवन र पर्सा दुवै राष्ट्रिय निकुन्जको सिमा जोडिएको स्थानमा सालकको बसोबास छ । मकवानपुरको झण्डै एकसय वटा सामुदायिक वनमा सालक रहेको अनुसन्धानले देखाएको छ । स्थानीय सामुदायिक वनको उपभोक्तामा सालकबारे जानकारी भएपछि यसको संरक्षणमा सहजता हुँदै आएको छ । सालकको बैगुन केही छैनन्,बहुगुणले भरिपुर्ण जीव हो सालक यसको संरक्षण गरौ । जेठ ११ गते सहीखबर साप्ताहिककाे अंकमा प्रकाशित सम्पादकीय ।
मकवानपुर। दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि काठमाडौंले जितेको छ । विहीबार हेटाैडा ६ स्थित गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित गर्दै उपाधी हात पारेकाे हाे ।
काठमाडौंका लागि जीत दिलाउन सुजिता घलानले १० औं मिनेटमा र मनीषा थापा मगरले ५८ औं मिनेटमा गोल गरिन् । काठमाडौंकी सरिता ऐर प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाड घोषित भइन् । अन्य व्यक्तिगत विधातर्फ गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट भए ।
महिला फुटबल तर्फ ९ टिमकाे सहभागिता रहेकाे प्रतियोगिता नकआउट आधारमा खेलाइएकाे थियाे ।
पुरुष फुटबलकाे उपाधीका लागि काठमाडौं र मकवानपुर भिड्ने
बागमती प्रदेश खेलकुद अन्तर्गत पुरुष फुटबलकाे उपाधीकाे लागि मकवानपुर र काठमाडाै भिड्ने भएका छन् । विहीबारकाे समिफाइनल खेलबाट मकवानपुरले काभ्रेलाई र काठमाडाैले ललितपुरलाई हराउँदै फाइनलकाे समिकरण पुरा गरे ।
विहीबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलमा मकवानपुरले काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । यस्तै काठमाडाैले ललितपुरलाई १–० गोलअन्तरले पराजित गरेकाे हाे । मकवानपुरको जितमा कप्तान प्रितम स्याङ्बोले २ गोल गरे भने अर्को एक गोल अभिषेक लामाले गरे ।
काठमाडौंका लागि कब्बु कन्दङ्वाले ५०औं मिनेटमा गोल गरेका थिए । कन्दङ्वाकाे गाेल नै काठमाडाैलाई फाइनल यात्राकाे लागि निर्णायक गाेल भयाे । कन्दङ्वा म्यान अफ द म्याच घोषित भए । पुरुष फुटबलको फाइनल खेल शनिबार पिप्ले–क्याम्पा रंगशालामा हुने आयाेजक बागमती खेलकुद विकास परिषद्ले जनाएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ ।वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको हेटौंडा उपमहानगरपालिका रोजगार संयोजक बिजन श्रेष्ठले बताए । श्रम स्वीकृतिका लागि बैशाख १ गतेबाट अनलाइन प्रणालीको सुरुआत भएसँगै यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले उपमहानगरपालिकाले काम सुरु गरेको उनले जानकारी दिए ।
श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, राहदानीको प्रतिलिपिसहित नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक बिजन श्रेष्ठले बताए बताए ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए । ‘प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ’ संयोजक श्रेष्ठले भने, ‘आवेदन स्वीकृत भएको वा आवश्यक विवरण अपुग भएको जानकारी पनि अनलाइनमार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्ने व्यवस्था छ ।’
श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट उक्त सेवा पाइने भएकाले वैदेशिक रोजगारीमा जान चाहनेलाई सहज भएको छ । हाल सम्म उपमहानगरपालिकाबाट २ जनाले श्रम स्वीकृति लिएका छन ।
मकवानपुर । गाँजा छाडेर फरार रहेका ईमान सिं वाईवालाई मकवानपुर प्रहरीले २५ वर्ष पछि पक्राउ गरेकाे छ । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुर राक्सिराङ गाउँपालिका सरिखेतका वाईबालाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
२०५५ साल असार ३१ गते बिहान ४ बजेर १० मिनेटको समयमा मकवानपुरको साविक मनहरी गाविस–८, खरंगा राप्तीखोला नजिक ४१ वटा बोरामा एक हजार पाँच केजी लागुऔषध गाँजा छाडेर ईमान फरार भएका थिए । बरामद भएको गाँजा नियन्त्रणमा लिए पनि प्रहरीले ईमानलाई पक्राउ गर्न सकेको थिएन ।
प्रहरीले बुधबार राती ८ बजेको समयमा मनहरी बजारबाट ईमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । विहीबार वाईवालाई मकवानपुर जिल्ला अदालतमा पेश गरिएकाेमा अदालताले ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
मकवानपुर । जारी दोस्रो बागमती प्रदेश खेलकुद अन्तरगत भलिबल प्रतियोगितामा काठमाडौंले महिलातर्फ र चितवनले पुरुषतर्फ स्वर्ण जितेका छन् ।
विहीबार हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले फाइनलमा दोलखालाई २५-५, २५-६ र २५-१२ को सोझो सेटमा हराउँदै महिला तर्फ स्वर्ण हात पार्याे । यस्तै चितवनले धादिङलाई २५-१७, २२-२५, २८-२६ र २५-१८ को सेटमा हराउँदै पुरुषतर्फ स्वर्ण जित्यो ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २-१ ले र महिलामा चितवनले धादिङलाई २-० ले हराउँदै कांस्य पदक प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी भए ।
पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।
महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निसा महर उत्कृष्ट भए ।
