फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनपछी पहिलाे पटक आज विहीबारबाट संघीय अधिवेशन हुदैछ । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन हुन लागेकाे हो । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुबै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।
शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ । त्यसपछि सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।
त्यसपछि अधिवेशन आरम्भ भएको विषयमा राजनीतिक दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले तय गरेको छ । बुधबार भएको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि तय गरेको छ । जसअनुसार आगामी आइतबार सभामुखका लागि निर्वाचन हुनेछ ।
संविधानको धारा ९१ मा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने’ व्यवस्था छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधानमा लेखिएको छ, ‘तर प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन । सभामुखको निर्वाचन गर्ने दिन तोकेपछि बिहीबारकै बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्ने कार्यसूची छ ।
जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश छन् । त्यसपछि ज्येष्ठ सदस्य केसीले पूर्वसांसदहरू ऋषिकेश गौतम, मोहम्मद अफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी, नेकपाबाट वर्षमान पुन, श्रम संस्कृति पार्टीबाट आरेन राई र राप्रपाबाट खुस्बु ओली सहभागी थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् ।
सत्तापक्षविहीन राष्ट्रिय सभा राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन बनेको छ । प्रतिनिधिसभामा करिब दुईतिहाइ सिट जितेर सरकार गठन गरेको रास्वपाको प्रतिनिधित्व राष्ट्रिय सभामा छैन । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सत्तापक्ष नभएको अवस्थामा सिट कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको थियो ।
राष्ट्रिय सभा उपाध्यक्ष बस्ने लहरमा मन्त्रीहरू बस्ने र बाँकी लहरमा दलीय हैसियतअनुसार सिट व्यवस्थापन गर्ने सहमति भएको छ । राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रिय सभा अध्यक्षसहित) छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडा बजार तर्फबाट रातमाटे तर्फ जाँदै गरेको बा प्र. ३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र रातमाटे तर्फबाट हेटौंडातर्फ आउदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा बा. प्र.०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल पछाडि सवार हेटौंडा ९ प्रगतिशील टोल बस्ने १८ वर्षीय एकता वैधको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा हेटौंडातर्फबाट रातमाटे तर्फ जाँदै गरेको ना ६ प ३१४५ नम्बरको ट्रकमा वैद्य ठोक्किएकी थिइन् ।
७६८३ नम्बरको मोटरसाइकल चालक हेटौंडा ४ कर्रा बस्ने १८ वर्षीय रोनित कार्की र अर्को मोटरसाइकल चालक चितवन इच्छाकामना ५ घर भइ हाल हेटौंडा ४ शितलमहल चोक बस्ने २२ वर्षीय पुष्पलाल गुरुङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको हेटौंडा अस्पताल उपचार भइ रहेको छ भने मोटरसाइकल, ट्रक र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मकवानपुर । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।
मङ्सिरमा भएको एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका बादल पूर्वमाओवादी नेता हुन् । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष केपी ओली सहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि दलको नेता बन्ने अवसर उनले पाए । यो पटक बादल समानुपातिक बन्दसूचीमा रहेका थिए ।
- को हुन् बादल ?
वि.सं. २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका उनी २०३१ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय सहभागी भएका थिए । चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी-एजी अध्ययनका क्रममा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि बादल माओवादी आन्दोलनलाई अगाडि बढाउन सक्रिय भए । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र आन्दोलन गर्दा उनी सैन्य योजनाकार थिए । पुराना कम्युनिस्ट नेता अमिक शेरचनबाट बादलले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
२०७८ सालमा चितवनको सौराहमा भएको १०औँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेका थिए । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई तिहाइ नेतृत्वको सरकार बनाएको बेला पार्टीको तर्फबाट संसद्मा प्रभावकारी भूमिका निर्वाचन गर्नुपर्ने चुनौती बादललाई रहेको छ ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठक एक हप्ता भित्र सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
काग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बैठकले एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसैगरी प्रदेशसभाको रिक्त सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, प्रदेश उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले पेश गरेको मस्यौदामा छलफल गरेको छ । सोही मस्यौदाअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने विषयलाई सरकारमा सहभागी दुई दलबीच छलफल गरी पारित गर्न सरकारलाई अनुरोध गरिएको छ । मस्यौदाको सुझावमा हाल कायम १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने, ७ निर्देशनालयलाई २ मा झार्ने तथा ५ वटा खारेज गर्ने प्रस्ताव गरिएको थियो ।
बैठकले पार्टीभित्र देखिएका आन्तरिक समस्या सहमति र संवादमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सफल बनाउन दुवै पक्षलाई आग्रह गरेको छ । यसैगरी कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना दिएको छ ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, सदस्य तथा शुभेच्छुकहरूलाई प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न मन्त्रालयमा जम्मा नहुन निर्देशन दिएको छ।
रास्वपाले सोमबार जारी गरेको विज्ञप्तिमा अनावश्यक भेटघाट, खादा-फुलमाला लगाउने र फोटो खिच्ने गतिविधिहरू पार्टी अनुशासन विपरीत र भड्किलो हुने भएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिएको उल्लेख छ। केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नागरिक सेवा प्रवाह र सरकारको द्रुत कार्यसम्पादन सुनिश्चित गर्न आवश्यक समय खर्च हुने हुँदा, अनावश्यक जमघट र भिडभाडले कार्यसम्पादनमा ढिलाइ, गुणस्तरमा असर र समग्र सरकारी प्रणालीमा कठिनाइ सिर्जना गर्न सक्छ।”
पार्टीले सम्पूर्ण पदाधिकारी र सदस्यलाई उक्त निर्देशन कडाइका साथ पालना गर्न भनेकाे छ ।