मकवानपुर । यसियन हाइवेको सवाल बेला बेलामा तात्ने र ओझेल पर्ने गरेको छ । मकवानपुरमा २ सातायता फेरी यसबारे दिनदिनै दबाब सुरु भएको छ ।
गत असार १० गते संघीय सरकार अन्तरगतको डिभिजन सडक कार्यालय मकवानपुरले राजमार्ग विस्तारबारे ३५ दिने सूचना जारी गरेपछि यो सवाल फेरी तातेको हो ।
सर्बोच्च अदालतको आदेश बमोजिम क्षति पुर्तिको ग्यारेण्टी गर्नुपर्ने, जनता शुकुम्बासी नहुने बिकल्पको खोजी गर्नुपर्ने, सर्बोच्च अदालतको निर्णय बमोजिम जाँचबुझ सहित विवरण यकिन गर्नुपर्ने माग सहित बसोबास संरक्षण समिति संघर्षमा छ ।
हेटौंडा बसोबास संरक्षण समितिले जनतालाई शुकुमबासी बनाउन नपाइने भन्दै व्यक्तिगत सम्पती माथिको मौलिक हक सुनिश्चित गर्न माग गरेको हो । यस बारे स्थानीय सरकार हेटौंडा उपमहानगरपालिकाले आफूहरुलाई सहयोग नगरेको भन्दै स्थानीयहरु हेटौंडाको जनप्रतितिनिधि विरुद्ध खनिन थालेका छन् ।
आज पनि मकवानपुर उद्योग बाविज्य संघ, हेटौडा बसोबास संरक्षण मुलसमितीले स्थानीय सरकार विरुद्ध नारावाजी गरेका छन् । संघीय सरकारले यसियन हाइवे विस्तार गर्ने कार्यको विरोधमा रहेका उनीहरुले हेटौंडाको मेयर उपमेयर विरुद्ध नारावाजी गरेका हुन् ।
३५ दिने सूचना गरेपछि हेटौंडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाले हेटौंडाको एक सार्जवनिक कार्यक्रममा भाषणको क्रममा आफू सडक विस्तार गर्न रेडी रहेको बताएपछि यहाँका स्थानीयहरु जुर्मुराएका हुन् ।
आज मेयरलाई भेटेर ध्यानाकषर्ण गराउन आएका स्थानीयहरु मेयर उपमपेर दुबैले समय नदिएपछि प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंलाई संघर्ष समिति अध्यक्ष कृष्णकुमार गुप्ताले ज्ञापनपत्र बुझाईएका थिए ।
मेयर लामा र उपमेयर राजेश बानियाँ दुबैले आफूहरुलाई नटेरेको भन्दै उनीहरुले मेयर र उपमेयरविरुद्ध नै नारावाजी गरेका थिए । राजमार्ग विस्तारको समयमा आफूहरु मेयरसँग भिड्न तयार रहेको र यसको भौतिक क्षेतिको जिम्मेवार स्थानीय सरकार हुने धम्की उनीहरुले दिनएका छन् ।
आजको बिरोध र्यालीले बजार परिक्रमा गरि हेटौडा उपमहानगर पालिका कार्यालय र सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाएको हेटौंडा बसोबास सरक्षणा मुल समिती संयोजक गुप्ताले बताए ।
मउवासंघका उपाअध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष अरुणराज सुमार्गी, बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, पिडित उद्योगी, घरधनीहरु, व्यवसायीहरुले आ आफ्नो पसल ब्यवसाय बन्द गरी विरोध कार्यक्रममा सहभागी भएका थिए ।
चार दशकदेखि विवादको अवस्थामा रहेको राजमार्ग विस्तारको सवाल मेयरकै कारण आगोमा ध्यु थपेजस्तो भएको हेटौडा ४ का वडा अध्यक्ष नविन सिग्देलले बताए । ‘मेयर चुप बसेर संघीय सरकारलाई सहयोग गर्ने पर्थ्यो म तयार छु भनेर मासमा किन बोल्नु परेको’ अध्यक्ष सिग्देलले भने ‘यो केटाकेटी खेलाई जस्तो भयो अवस्था बुझेर बोल्नु पर्थ्यो।’
मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले १० असारमा सूचना प्रकाशित गरेको थियो ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि पत्रिकामा सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन गर्ने र काम गर्न नसक्ने कारण यो पाटो विवादमै अल्झिदै आएको छ ।
यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भएपनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।
४ दशकदेखि विवादीत र टुङ्गो लाग्न नसकेको विषय हो राजमार्ग २५ मिटर चौडा पार्ने विषय । विभिन्न शहरको राजमार्ग चौडा गरिदा मकवानपुरको हेटौंडा क्षेत्र चौडा पार्ने विषय अन्यौलमा नै रहंदै आएको छ । यो विषयले टुङ्गो नपाउँदा पीडितहरुले आफ्नो घर जग्गाको स्वामित्व नै पूर्ण सदुपयोग गर्न नपाएको भन्दै समय समयमा आन्दोलित हुँदै आएका छन् । साघुँरो सडक र घना बस्तिको रहेको हेटौंडा बजार मानवीय बस्तिको रुपमा विकास गरेर बजारको वाइपासबाट बाटो लैजाने वा बजारको मध्यमा रहेको बाटोलाई चौडा गर्ने भन्ने बारेमा विवाद अझै कायम नै छ ।
पुर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा –१० राप्तिपुलसम्म वाइपास बाटो विस्तार गर्ने विकल्प अघि सारेको थियो । उक्त विकल्पलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले २ वर्ष अघि बजेटको व्यवस्था गरी मुख्य राजमार्गमा जोड्ने गरी ट्याक ओपन गरिसकेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले व्यापारीहरुको हितलाई मध्यनजर गर्दै २५ मिटरको विकल्पमा १५ मिटर भत्काउने सहमति सहितको ज्ञापन पत्र २ वर्ष अगाडि नै संघीय सरकारको भौतिक मन्त्रालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।
विवादमा रहेको कारण आफूहरुले व्यापार व्यवसाय सञ्चालन गर्न, बैंकिङ कारोवार सञ्चालन गर्न समस्या झेल्नु परेको र लामो समयदेखि घरजग्गा विक्रि वितरणमा समेत रोकावट आएको कारण यसको चाँडोभन्दा चाँडो छिनोफानो लगाउन माग गर्दै भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर त्यसको पनि कुनै पहल कदमी अघि बढेन । मकवानपुर उद्योग वाणिज्य संघले नै टोलीको नेतृत्व गरेको थियो ।
सडक दायाँबायाँ २५।२५ मिटर विस्तार गर्ने कार्यका लागि सडक विभागले तथ्याङ्क समेत संकलन गरेर गरेर सार्वजनिक गरिसकेको छ । ३ वर्ष अगाडि मकवानपुरको मनहरी बजार र बारा जिल्लाको सिमानाबाट बाटो चौडा कार्य सुरु गरेको थियो । दुबैतर्फबाट चौडा गर्दै आएको बाटो हेटौंडा बजारको मुख्य क्षेत्र प्रवेश गर्दैगर्दा बजारवासीहरुले अदालतमा रिट हालेपछि अदालतले तत्कालको लागि काम रोक्न आदेश दियो । त्यसपछि सडक चौडा गर्ने काम रोकिएको थियो ।
डिभिजन सडक कार्यालयले बजारको २५ मिटर क्षेत्र भित्र रहेको बैङ्क तथा वित्तिय संस्थाहरुलाई कार्यलय सार्न पत्र काटेपछि बैंकिङ कार्यालयहरु मुख्य राजमार्गबाट अन्यत्र सरिसकेका छन् । डिभिजन सडक कार्यालयका अनुसार हेटौँडाको मेनरोडमा पर्ने डेढदर्जन बैँक र केही सरकारी कार्यालयहरुलाई २५ मिटर क्षेत्रबाट सरेका छन् ।
सडक अतिक्रमण गरिएका चुरियामाईदेखि लोथरसम्म ४० किलोमिटर क्षेत्रमा सयौं घरटहरा भत्काउनुपर्ने सडक कार्यालयले लगत सार्वजनिक गरिसकेको छ । ढिलोचाँडो सडक सबैलाई फराकिलो चाहिन्छ, २५ मिटर नभइ १५ मिटर भत्काउने सहमति व्यवसायीहरुले दिएका छन् ।
मकवानपुर । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
आइतबार राती देशभर आंशिक देखि सामान्य रहनेछ। कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशााखाले जनाएकाे छ ।
हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मकवानपुर । नेपाल फलफुल तथा तरकारी ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद हुमागाई निर्वाचित भएका छन् । शनिबार संघको नयाँ कार्यसमिति चयन अन्तर्गतको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हुमागाईले १ सय ८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धि मनु दहालले ७५ मत प्राप्त गरिन । अध्यक्षका अर्का उम्मेदवार कमलकुमार रौनियारले ३२ मत प्राप्त गर्दा २० मत बदर भएको थियाे । निर्वाचनमा कुल ३ सय ७ मत खसेकाे निर्वाचन अधिकृत कृष्णप्रसाद संजेलले जानकारी दिए । यस्तै संघको कोषाध्यक्षमा ऋषि सापकोटाले १ सय ९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने मनोज खुलालले १ सय ९ मत प्राप्त गरेका छन् । काेषाध्यक्ष पदकाे लागि खसेकाे मध्ये ७ मत बदर भएको छ ।
यस्तै संघको महासचिवमा सन्तोषी बर्तौला यसअघि नै निर्विरोध निर्वाचित भईसकेकी छिन । गत असार १६ र १७ गते भएको संघको १६ औ वार्सिक साधारणसभाबाट संघको उपाध्यक्षहरुमा आशिष रौनियार र बिमल पौडेल, सचिवमा नवराज शर्मा पौडेल र सहसचिवमा कृष्ण साह कानु निर्विरोध चयन भएका थिए ।
यसैगरी सदस्यहरुमा राम बहादुर ब्लोन, उमा खुलाल खड्का, क्षेत्रबहादुर खड्का, रेणु महत्तो सुडी, रामशरण बजगाई र आईत सिह घलान सर्वसम्मत चयन भएका छन् ।
मकवानपुर । हेटौडाकाे किताबघरमा उत्सव चौलागाईका कविता सुनिएकाे छ । हेटौंडाका कवि चौलागाईंको एकल कविता वाचन हेटौडा ४ भैरवरोड स्थित किताबघरमा शनिबार भएको हाे ।
किताबघरको आयोजनामा शनिबार भएकाे कविता वाचनमा चौलागाईंले एक दर्जन कविता सुनाएका थिए । चौलागाईले आमा, बा, मट्याइला हातहरु, तिमी बाहिर निस्क, सम्झनाहरुमा, आधा, ऊ कुनै अपराधी हैन, मैले आँखा खोलिसकेँ, सत्ता र कान्छा, मालिक मनोविज्ञान र पार्लियामेन्ट शीर्षकको कविता सुनाएका थिए । कवि चौलागाईका कवितामा नारीवादी चेतना, प्रेम, वर्गीय चेतनासम्म भाव थियाे ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कविताको विश्लेषण गर्दै उत्सवले कर्मयोगी किसानदेखि जन्मदाता बाआमाप्रति समर्पण भाव व्यक्त गरेको बताए । कविता वाचन कार्यक्रममा मकवानपुरका साहित्यिक स्रष्ट्राहरुकाे उपस्थिति रहेकाे थियाे ।
किताबघरका संचालक मकवानपुरका शैक्षिक व्यक्तित्व छिव अनित्यले किताबघरले व्यवसायीक काराेबार मात्र नगरी साहित्यमा फरक स्वाद पस्कने जमर्काे गर्दै आएकाेमा पहिलाे पटक एकल वाचन कार्यक्रम गरिएकाे बताए । यस खालकाे कार्यक्रम निरन्तर रुपमा गरिरहने समेत उनले बताए ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलकाे सभाध्यक्षता तथा हेटौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट रामचन्द्र सापकाेटाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

उत्सव चौलागाईं
विज्ञानले भन्यो, यो मुटुभित्र चारकोठा छन्
तर ती सबै जीर्ण छन् इसिजिले भन्यो
भत्किन सक्छ ओखती खाऊ
डाक्टरको प्रेस्क्रिप्सनले भन्यो
मैले भनेँ, असीम आनन्द छ सम्झना
र ओखती खोज्न तिम्रो देशमा आइपुगेँ
प्रियतमा !
तिम्रो अभावले लखेटिएको
एक बेपत्ता योद्धा हुँ मायाको
तिम्रो तस्विरभित्र हराउन थालेको
आजकै दिनबाट हो
शब्दमा तिम्रो आवाज बोकेर
तिम्रै देशभित्र तिमीलाई खोजिरहेको छु
मेरो हातमा घडी छैन
तर हरेक पल तिमी मेरो समय बनेकी छौ
सुर्योदयदेखि सुर्यास्तसम्म ।
परेवाका कुरकुर आवाज सुनेपछि
परेवालाई पनि सोधेँ तिम्रो ठेगाना
कोइलीको कुहुकुहु सुनेपछि
कोइलीलाई पनि सोधेँ तिम्रो सञ्चोविसञ्चो
उनीहरू सबै अनभिज्ञ रहेछन्
सितल हावाको स्पर्श पनि
तिम्रै नरम हत्केलाजस्तै लाग्दो छ
जरुवाको चिसो पानी पनि
तिम्रै भिजेकाे ओठजस्तै छ
मैले पधेँरोलाई पनि सोधेँ तिम्रो ठेगाना
उसले भन्यो, पानी ओबाउँदा
अचेल सुनिँदैन तिमीलाई पर्खिबसेको गीत
उकालोओरालोले पनि
तिम्रो पाउजुको आवाज नसुनेको धेरै भएछ
प्रियतमा !
तिमी आफ्नै देशभित्र हराइरहेकी छौ
तिमी घरभित्रै छौ ग्यासच्याम्बरमा जस्तै
तिमी अपरिचित छौ तिम्रै देशमा
तिम्रो पहिचान तिम्रै देशभित्र छैन
तिम्री आमा तिम्रो परिचय दिन अक्षम छिन्
तिम्रो देशलाई आमा चाहिन्छ
तर तिमीलाई चिनाउन तिम्रा बा जरुरी छ
मैले तिमीलाई तिम्रै देशभित्र भेटाउन सकिनँ प्रियतमा !
मलाई माफ गर
तिमी जालो तोडेर बाहिर निस्क
मलाई तिम्रो महत्व अचाक्ली छ
एउटा बिरामी मन बोकेर
म बिद्रोहको बाटो कुरिरहेको छु
तिमी हिम्मत गरेर
मसाल बोकेर बाहिर निस्क
र झोस यो पितृसत्ताको अँध्यारोमा ।
हेटौडा ६ मकवानपुर ।
