मकवानपुर । डिजिटल युगलाई सम्बाेधन गर्नकाे लागि पत्रकारिता पनि डिजिटलाइज्ड हुनु अपरिहार्य जस्तै भएकाे छ । छिटाे छरिताे र प्रविधियुक्त पत्रकारिताकाे लागि प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रेस इन्ष्टिच्यूट डिजिटल पत्रकारिता तालिममार्फत पत्रकारहरुकाे क्षमता अभिवृद्धिमा लागि परेका छन् ।
पत्रकारकाे क्षमता विकासकाे पाटाेलाई मुख्य कामकाे रुपमा लिदै आएकाे नेपाल प्रेस इन्ष्टिच्यूटले प्रेस काउन्सिल नेपालको सहयोगमा आजबाट डिजिटल पत्रकारिता तालिम सुरु गरेकाे छ । डिजिटल पत्रकारिता गर्दै आएका र पत्रकारितामा रुचि भएका ८० जनालाई एकसाता लामो पत्रकारिता तालिम दिन लागिएकाे हाे ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिमकाे उद्घाटन गरे । अनलाइन न्यूज पोर्टल, यूट्युब सञ्चालन, मोबाइल जर्नलिजम (मोजो) पत्रकारिता तथा डिजिटल मिडियाका लागि समाचार लेखन सीपसँगै आचारसंहिताका विषयमा प्रशिक्षण दिइने नेपाल प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले जानकारी दिए ।
नेपालमा मात्र नभई विश्वमा मूलधारका सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारिताको ज्ञान नभए प्रतिस्पर्धामा आउन नै नसक्ने अवस्था आएको उल्लेख गर्दै मुलुकका पत्रकारको आवश्यकतालाई सम्बोधन गर्न काउन्सिल सधै तत्पर रहेको बस्नेतले बताए ।
दूरशिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षणमा मकवानपुर, काभ्रेपचाल्चाेक, उदयपुर, बाँके, कैलाली, रुकुम,साेलुखुम्बु, नवलपरासी, धनुषा, सुनसरी, नुवाकाेटलागयतका जिल्लाका पत्रकार तथा पत्रकारितामा रुची भएका सहभागी छन् । तालिमकाे पहिलो दिन न्यू मिडिया विज्ञ करुण थापाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमकाे सहजिकरण नेपाल प्रेस इन्ष्टिच्यूटका प्रशिक्षक कपिल काफ्लेले गरेका थिए । तालिमकाे लागि १ सय ५० भन्दा बढी निवेदन प्राप्त भएकोमा ८० जना छनौट गरिएकाे प्रशिक्षक काफ्ले बताए । प्रशिक्षण उद्घाटनमा प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहभागीहरुलाई स्वागत गरेका थिए ।
जुनु घिमिरे
हिजो मेरी आमासँग
सपनाहरू थिएनन्
तर
जीवन थियो
आज मसँग सपनाहरू छन्
तर
भने जस्तो जीवन छैन ।
यस्तो लाग्थ्यो
आमालाई हेर्दा
सपना बेगरका जीवन के जीवन ?
जहाँ पुग्नुको उद्देश्य हुँदैन
उद्देश्य प्राप्ति गर्दाको
खुसी के हो थाहा छैन
फगत आमाको जिन्दगी
चलिरहयो चलिरहयो ।
आज मसँग
धेरै सपनाहरू छन्
उँचाइको भोक लागेको छ
प्राप्तिको प्यासले सताएको छ
त्यसैले जीवनका भोकहरू
अव्यवस्थित छन्
जिन्दगीका तिर्खाहरू
पानी पानी भन्दैछन्
तर मसँग
न पिउने फुर्सद छ
न खाने फुर्सद ।
मात्र मलाई पछ्याउँदै आउँने
जीवनका उद्देश्यहरू छन्
जिन्दगीका सपनाहरू छन्
तिनै सपनाहरूले
मलाई कुदाइ रहन्छन्
म कुदिरहन्छु
थाहा छैन
मेरो जीत कहाँ पुगेर हुन्छ ?
पुग्ने कुनै स्थान तोकिएको छैन
तर म कुदिरहन्छु
जिन्दगीको म्याराथनमा
सफलताको आश बोकेर ।
जब मेरा आँखाले
सपनाहरू खेलाउन थाले
त्यसबेला मेरी आमा
मलाई बिचरा लाग्थ्यो
मेरो हातहरुले योग्यताका
प्रमाणपत्रहरू बटुलेका थिए
आमाको त
प्रमाणपत्र भनुँ वा तक्मा
तिनै खस्रा हातहरू थिए
खडेरीले धाजा पारेका
खेतहरू जस्तै पैताला थिए
अनि
उसिनेर फुटेको
आलु जस्तै आमाका कुर्कुचाहरू ।
दुःख,अभाव,थिचोमिचो आँसु
धेरै थरिका निशानी
देख्थेँ म आमाको जीवनमा
अनि मलाई लाग्थ्यो
के यो पनि जीवन हो ?
म आमाभन्दा
धेरै अगाडिको पुग्न चाहन्थें
र
आज
सपनाहरू भरी कसेर
दौडिरहेछु
तर बिडम्बना
मेरी छोरी मलाई भनिरहन्छिन्
अरे मामु,
यो पनि जिन्दगी हो ?
धनकुटा हाल दुवाकोट भक्तपुर
घिमिरेकाे भर्खरै प्रकाशित पसिनाको घर कविता संग्रहबाट
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको छ । हेटौडा ६ चौघडामा रहेकाे सामुदायिक वन समूहले बागमती प्रदेशबाट उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको हाे ।
बागमती प्रदेशभित्रका सामुदायिक वन समूहमध्ये उत्कृष्ट हुँदै समूहले एकलाख पुरस्कार प्राप्त गरेको हाे । बागमती प्रदेश वन निर्देशनालय हेटौडामा भएकाे बैठकले रानी सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको पुरस्कार प्रदान गर्ने निर्णय गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
वन समूहले वनको विकास, समूहको स्वीकृत विधान तथा कार्ययोजना बमोजिमका कामहरु सम्पन्न गरेको, संस्थागत विकास लगायतका काम पारदर्शी ढंगले सम्पन्न गरेकाे सूचकहरुकाे आधारमा पुरस्कार प्रदान गरेको वन निर्देशनालयले जनाएको छ । यसैगरी समयमै साधारणसभा, लेखापरीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन, आयआर्जन, पर्यापर्यटन, प्रचारप्रसार, आर्थिक प्रतिवेदन लगायतका कामहरु समेत समूहले व्यवस्थित राख्ने गरेको लगायतका आधार समेत लिइएकाे निर्देशनालयले जनाएको छ ।
यसअघि समूहले सर्वमान्य गणेशमान सिह वन संरक्षण पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्लास्तरीय पुरस्कारहरु प्राप्त गरिसकेको अध्यक्ष न्यौपानेले बताए ।
मकवानपुर । मकवानपुर जिल्लामा रहेका राजनीतिक दलहरुले हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्न ऐक्यबद्धता जनाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत हेटौडा बजार क्षेत्रमा पर्ने सडक २५ मिटर विस्तार गर्ने विषयमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख सहमत भएका हुन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा जिल्ला क्रियाशील राजनीतिक दलका प्रमुखवीच आयोजित छलफलमा सडक डिभिजन कार्यालय हेटौंडाले जारी गरेको सूचनामा ऐक्यबद्धता जनाउँदै सडक विस्तार गर्ने विषयमा सम्बन्धित सवै निकाय अनुरोध समेत गरेको छ ।
‘सडक विस्तार गर्दा सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार घरधनीहरुको हकमा उचित मुआब्जा तथा क्षतिपूर्ति एवम् व्यवसायीलाई उचित व्यवस्थापनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय दलहरुले गरेका छन् ।
नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको छलफलमा नेकपा एमाले जिल्ला अध्यक्ष एवम् प्रदेश सदस्य एकालाल श्रेष्ठ, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान तथा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समिति संगठन विभाग प्रमुखमा रामचन्द्र अर्याल (माईकल) मनोनित भएका छन् ।आइतबार कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले माइकललाई संगठन विभाग प्रमुखमा मनाेनित गरेकाे हुन् ।
नेपालीका कांग्रेसको विधानको दफा १३ काे उपदफा ६(झ) बमोजिम माईकल संगठन विभाग प्रमुखमा मनोनित भएका हुन् । काँग्रेस मकवानपुरका पूर्व पार्टी सभापति माइकल कांग्रेस महासमिति सदस्यसमेत हुन् ।
त्यसैगरी, सभापति बानियाँले कांग्रेस बागमतीको कार्यसमिति सदस्यमा प्रदीप कोइरालालाई मनोनित गरेका छन् । कांग्रेस मकवानपुरका निवर्तमान प्रवक्तासमेत रहेका उनलाई कांग्रेसको विधानकाे दफा १३ काे उपदफा १०(झ) बमोजिम सदस्यमा मनोनित गरिएको हो ।
