मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले पत्रकारहरुलाई पत्रकार सम्मेलनमा निमन्त्रणा गरेर बन्धक बनाएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकारमाथी भएकाे घटनाप्रति महासंघसँगै प्रेस चाैतारी मकवानपुर, प्रेस सन्टर मकवानपुरले पनि ध्यानाकर्षण जनाएकाे छ । आज मकवानपुरकाे मनहरी गाउँपालिकाको कार्यालयले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धन बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेस माथि धावा बोल्ने लगायतका दुर्व्यवहार गर्नाले मकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको महासंघ मकवानपुरले जनाएको छ । विज्ञप्ती जारी गर्दै महासंघले गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार नै असुरक्षित हुँदा समेत जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको दाबी गरेको छ ।
पत्रकार सम्मेलनमा बाहिरी युवाहरुलाई प्रवेश गराइएकाे र गेट बन्द गरिएछी आफूहरु असुरक्षित भएकाे आभाष गर्दै पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनुभन्दा विडम्बना अरु नहुने विज्ञप्तीमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यममा ‘राजश्व हिनामिना’को विषयमा समाचार सम्प्रेषण भएपछि गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुसँग गाउँपालिका अध्यक्ष कालाखेती, ८ नं वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सी शाखा प्रमुख डिल्लीराम रेग्मी लगायतले सवाल जवाफ गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश सभाको शनिबारकाे बैठक विशेष समयमात्रै बसेकाे छ । सभामुख भुवनकुमार पाठकले सभाकाे सुरुवात मै शुन्य समय नभएकाेले विशेष समय सुरु गरेकाे जानकारी गराएका थिए ।
विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका गरी २२ सांसदले आफ्नाे धारणा राखेका थिए । विशेष समयकाे सुरुवातमै नेकपा एमालेका जगन्नाथ थपलियाले समिति बनाएरै मन्त्रालयको टुङ्गो लगाइएकोमा सरकार मन्त्रालय थप्ने तिर लागेको आराेप लगाए । सरकारले गाडी किन्दै रहने र मन्त्री थपरिहने काम गरिरहेकाे तर अन्य पक्ष कमजोर अवस्थामा रहेकोमा विकास निर्माण अलपत्र रहेकाे बताए । ‘ठेकेदारहरुले भुक्तानी पाएका छैनन सरकारको ध्यानाकर्षण गराउँछु’ थपलियाले भने ।
उपचारको क्रममा लापरवाही भएको भन्दै हेटौडामा भएको डाक्टर कुटपिट घटना सरकारलाई थाहा छ की छैन प्रश्न गर्दै थपलियाले भने अस्पलातबाट हुने लापरवाही रोकिनु पर्ने बताए । ‘कानूनी कारवाहीको लागि मार्ग प्रसस्त रहेकाे अवस्थामा सरकार बेखबर जस्तै छ र डाक्टर मौन छन्’ थपलियाले भने ‘स्वास्थ्यकर्मीले काम गर्ने वातावरणकाे लागि प्रदेश सभा घेरेका छन् ।’ कुटपिट गर्नेलाई कानुनको दायरामा कारवाहीमा ल्याउनु पर्ने उनले भने ।
थपलियाले कमसेकम प्रदेशस्तरमा संचालित अस्पतालमा स्वास्थ्य सुविधाकाे वातावरण वनाउन सरकारको ध्यानाकर्षण गराए । ‘प्रदेश सभा अन्तर्गतका समितिहरुको सभापति ९ महिनाको अवधीमा समेत चयन नहुँदा सदनका काम कारवाही संचालनमा समस्या परेको छ’ थपलियाले भने ‘मिनि संसदको रुपमा रहने समितिहरुको सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गर्दछु ।’
यसैगरी प्रदेश सभा सदस्य बसन्त मानन्धरले बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा तय गरेको कार्ययोजना कार्यान्वयनका क्रममा विचौलियाका कारण चुनौती रहेको बताए । ‘उपभोक्ताले गर्नुपर्ने कामलाई केही सांसद तथा स्थानीय जनप्रतिनिधिहरुले ठेकेदार मार्फत योजना कार्यान्वयन गर्ने गरेका छन्’ मानन्धरले भने ‘यसले लागत अधिक भई काम कम गुणस्तरको हुन जान्छ।’ उपभोक्ता मार्फत हुने कार्य उपभाेक्तालाई नै गर्न दिनु पर्ने उनले बताए । बागमती प्रदेश सरकारले प्रदेशमा भएका सम्पदा चिन्न नसकेको उनले आराेप समेत लगाएका छन् । सम्पदासँग जोडिएका कामहरुका लागि छुट्टै मुल्य निर्धारण गरिनु पर्छ, यसले हाम्रो सम्पदा संरक्षणमा टेवा पुग्छ उनले भने।
अर्का सांसद कुमार श्रेष्ठले जनता चाडवाड मनाउन ऋण लिने अवस्थामा रहेको अवस्थामा प्रदेशका पदाधिकारीहरुको लागि काठमाडौमा करौडाको संरचना बनाएकोमा आपत्ती जनाए । धादिङबाट काटमाडौ जोड्ने मार्ग निर्माणमा ढिलाइ भएकोमा सरकारको ध्यानाकर्षण समेत उनले गराए । यसैगरी मधुसुदन पौडेलले धार्मिक जातीय अतिवादीहरुले विवादित गतिविधि गरिरहेकाले लोकतन्त्र र गणतन्त्रमा असर पर्ने भन्दै ध्यानाकर्षण गराए । सरकारले फजुल खर्च कम गर्दै सुशासन कायम गर्न सरकार असफल भएकोले यस तर्फ सचेत गरादछु । उनले कालोबजारी रोक्न सरकार सचेत हुनु जरुरी रहेकाे सदनमा जानकारी गराए ।
‘नेपाली उत्पादनले बजार नपाउने तर आयातीत कृषि उपजले उचित बजार पाउने वातावरणले उत्पादन खेर मात्र गइरहेकाे छैन नेपाली किसान समेत मर्कामा परेका छन्’ उनले भने । काठमाडौको ट्राफिक व्यवस्थापन र वातावरण प्रदुषण रोक्ने तर्फ प्रदेश सरकारले ध्यान दिनु पर्ने समेत उनले बताए । मकवानपुरबाट निर्वाचित सदस्य एकालाल श्रेष्ठले हेटौडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत संचालन हुदै आएकोमा प्रदेश सरकारबाट समेत लगानी भई स्वास्थ्य क्षेत्रमा सुधार हुदै आएको बताए । सञ्चो अस्पतालमा भएको डाक्टर कुटपिट घटनामा समिति बनाई कार्य गर्नुपर्दछ उनले भने ।
त्यस्तै दिनेशचन्द्र देवकोटाले शुन्य समय र विशेष समयमा सांसदले उठाएका कुराको कुनै प्रतिउत्तर सरकारको तर्फबाट नआउने तथा सुनुवाई समेत नहुने भएकाेले यसकाे औचित्यमा समेत प्रश्न उठाए । प्रदेश सभा सदस्यहरु ठाकुर प्रसाद ढकाल, प्रभात तामाङ, मायादेवी शर्मा, शिवराज अधिकारी, रामेश्वर श्रेष्ठ, सुष्मा भुजेल न्यौपाने, निरज बज्राचार्य, टिका थानी, श्रीराम लामिछाने, केशव प्रसाद पोखरेललगायतका २२ जना सदस्यले आफ्नाे धारणा राख्दै सरकारकाे धान्याकर्षण गराए ।
बैठकमा सत्तापक्ष र प्रतिपक्षका अधिकांश सदस्यले हेटौँडामा केही दिनअघि चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे । दलगत स्वार्थभन्दा माथि उठेर अपराध गर्नेलाई संरक्षण गर्न नहुने र प्रहरी प्रशासनले दबाबमा परेर मुद्दालाई फितलो बनाउन नहुनेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसैगरी प्रदेशको निकुञ्ज क्षेत्रभित्र पर्ने जिल्लामा जङ्गली जनावरको आक्रमण गरी मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइते भएका परिवारलाई राहत उपलब्ध गराउन समेत सदस्यहरुले सभामा सरकार समक्ष माग गरेका थिए ।
बैठकमा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा सडकको स्तरोन्नति, खानेपानी र कृषकलाई सिँचाइको व्यवस्था गर्न उनीहरुले प्रदेश सरकारसित आग्रह गरे ।
४ विधेयक सम्बन्धित समितिमा पठाउन स्वीकृत
बागमती प्रदेशसभाको आजको बैठकले ४ वटा विधेयक सम्बन्धित विषयगत समितिमा छलफलका लागि पठाउन स्वीकृत प्रदान गरेको छ । बैठकमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेका थिए ।
यसैगरी, उनले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठकातर्फबाट प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए । सो बैठकमा प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका क्रममा शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यस्तै, उक्त बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए । सवै प्रस्तावहरु बहुमत सदस्यबाट स्वीकृत भइ सम्बन्धित समितिमा पठाइने भएकाे छ ।
नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
प्रदेशसभाको शनिबारकाे बैठकले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख तथा प्रतिनिधिसभा सांसद सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उक्त शोक प्रस्ताव पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
शोक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै स्व नेम्वाङको आत्माको चिरशान्तिको कामनाका लागि एक मिनेट मौनधारण समेत गरिएको थियो । साथै बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक १५ दिन पछि आगामी असोज १४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश सभाकाे शनिबारकाे बैठकमा हेटौडामा भएकाे डाक्टर कुटपिट र १ किलाे सुन काण्डले प्रवेश पाएकाे छ । सांसद एकालाल श्रेष्ठले गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा भएको डाक्टरहरुमाथिको हातपातको विषयमा विशेष समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।
बागमती प्रदेशसभाकाे दाेस्राे अधिवेशनकाे ३१ औं वैठककाे विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामा दोषि को हो भनेर विशेष समिति बनाएर छानविन गर्नुपर्ने बताए । डाक्टरमाथि आक्रमण हुनुपर्ने अवस्थाको कारण के गरि सृजना भयो भन्ने विषय पनि महत्वपूर्ण रहेको भन्दै उनले गम्भिर अनुसन्धानपछि निचोडमा पुग्नुपर्ने उनले बताए ।
यसैगरी केही दिनअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा बागमती प्रदेशका मन्त्री समेत संलग्न भएकाेमा नेकपा एमालेले जवाफ माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशका खानेपानी,ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाकाे नाम सुन प्रकरणमा संलग्न भएकाेमा सांसद समक्ष उनले जवाफ दिनुपर्ने माग गरेका हुन् । थपलियाले भने ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ। यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ ।’
गत मंगलबार प्रहरीले विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो । सो प्रकरणमा मन्त्री लामाको नाम मुछिएको भन्दै थपलियाले सरकारले र मन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।
यद्यपी मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् । मन्त्री र कांग्रेस जिल्ला समिति काभ्रे सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुन्छ, अर्कै प्रसंगमा खिचेको तस्वीरका कारण आफ्नो नाम जोड्नु गलत हुने उनले बताए ।
१ किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा परेकाेमा विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा मन्त्री लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु’ उनले भनेका छन् ।
मन्त्री लामाले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । छानबिनका लागि आफूले पनि सहयोग गर्ने उनले बताए ।
हेर्नुहाेस प्रदेश सभाकाे बैठकः
मकवानपुर । सिविन नेपाल मकवानपुरले विद्यार्थी तथा बालबालिकालाई छात्रवृत्ति, खाद्यान्न सामाग्री सहयोग गरेको छ । राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा सिविनले सहयोगसंगै हाजिरीजवाफ प्रतियोगिता समेत गरेको छ ।
सिविनले मकवानपुरका विभिन्न विद्यालयका ९ जना विद्यार्थीलाई शैक्षिक सहयोग र हेटौंडाका ४ जना बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
हेमकर्ण आधारभुत विद्यालय गढी २ का २ जना, हेटौंडा उपमहानगरको निर्मल मावि बस्तीपुरमा कक्षा ११ को १ जना, वनदेवी माविको १ जना, प्रतिभा आविको १ जना, महेन्द्रकिरण मावि मनहरीका २ जना, प्रगति प्रावि लोथरका १ जना र श्री राष्ट्रिय मावि सुनाचुरीमा अध्ययनरत १ जना गरी जम्मा ९ जनालाई स्टेशनरी, ब्याग, विद्यालय पोशाक तथा भर्ना शुल्क सहयोग प्रदान गरिएको सिविन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
त्यसै गरी हेटौंडा उपमहानगरपालिका वडा नं. १ का ४ जना बालबालिकाको परिवारलाई वडाको सिफारिसमा खाद्यान्न सहयोग वितरण गरिएको ज्ञवालीले बताए । अतिविपन्न, विचैमा पढाइ छोड्न सक्ने सम्भावना भएका, बालश्रम, बालविवाहको जोखिममा पर्नसक्ने सम्भावना भएका बालबालिकाहरुलाई सहयोग गरिएको बालहेल्पलाइनले जनाएको छ । सिविनका परियोजना अधिकृत दूतकुमार लामा र वडा नम्बर १ का सदस्य ईश्वरी रसाइलीले खाद्यान्न सामाग्री वितरण गरेका हुन ।
को अवसरमा सिविन नेपाल मकवानपुरद्वारा छात्रवृत्ति सहयोग, खाद्यान्न सामाग्री सहयोग र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मकवानपुरका विभिन्न विद्यालयका ९ जना विद्यार्थीलाई शैक्षिक सहायता र हेटौंडा १ का ४ जना बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।
यसैबीच बाल दिवसको अवसरमा मनहरी गाउँपालिकाको वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ । वडा कार्यालय र सिविन नेपालको आयोजनामा बालबालिकाहरु बिच हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० मनाइएको हो ।
मकवानपुर । विज्ञान शिक्षक समाज मकवानपुर र नवोदय शिशु सदन हेटौंडाले विज्ञान दिवस मनाउने भएको छ ।
‘विज्ञान साक्षरता र उद्यमशीलता : सफल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर विज्ञान दिवस –२०८० मनाउन लागिएको छ । विज्ञान दिवस –२०८० को सन्दर्भमा ‘समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका’ विषयक माध्यमिक तह (कक्षा ९–१२)स्तरीय वक्तृत्व कला प्रतियोगिता हुने भएको हो । विज्ञान शिक्षक समाज मकवानपुरले नवोदय शिशु सदनको सहकार्यमा असोज ६ गते वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागेको छ ।
नवोदय शिशु सदनमा हुने वक्तृत्व कला प्रतियोगितामा मकवानपुरका गाउँपालिकाबाट कम्तिमा १ छात्रा सहित ३ जना , थाहा नगरपालिकाबाट कम्तिमा १ छात्रासहित ४ जना र हेटौँडा उपमहानगरपालिकाबाट कम्तिमा २ छात्रासहित ५ जना विद्यार्थी सहभागी हुने समाज सचिव सुवास खनालले जानकारी दिए ।
जिल्लास्तरीय उक्त प्रतियोगिताको लागि ४ पालिकास्तरको छनौट पूरा भइसकेको र ६ पालिकामा हुँदै गरेको सचिव सुवास खनालले बताए । बकैया, मनहरी , गढी र हेटौँडाको छनौट पूरा भएको छ । मकवानपुर गढी गाउँपालिकाको छनौट प्रक्रिया भाद्र २७ गते भएको थियो भने हेटौँडा उपमहानगर पालिकाको छनौट भाद्र २९ गते भएको छ । त्यसै गरी मनहरी पालिकाले डिजिटल प्रविधिबाट छनौट कार्यक्रम गरेको छ ।
मकवानपुरगढीको गाउँपालिकाकामा १३ जना सहभागीहरूमध्येबाट जनता माध्यमिक बिद्यालय मकवानपुर गढी ७ सुकौराका छात्र बिकास गोले, भानु माध्यमिक बिद्यालय मकवानपुर गढी ६ मक्रान्चुलिका छात्रा सन्ध्या दहाल र चण्डिका माध्यमिक बिद्यालय मकवानपुर गढी २ शिखर कटेरीका छात्रा सन्ध्या बास्कोटा छनोट गरेको छ ।
यसै गरी उपमहानगरस्तरीय छनौट कार्यक्रम भने भुटनदेवी मावि हेटौँडा –४ मा भएको भएकोमा बाल जागृति इङ्ग्लिस स्कुलकी रितिका छत्कुल्ली, नवोदय शिशु सदनकी विदुषी हुमागाईँ, ज्ञानदीप शिक्षा निकेतनका आदर्श पौडेल र प्रतिष्ठा कार्की तथा जनप्रिय माविकी एरिना चौलागाईँ छनौट भएका छन् ।
छनौट भएका सबै पालिकाका प्रतियोगीलाई पुन: नवोदय शिशु सदनमा प्रतिष्पर्धा गराई प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमश: ६ हजार , ५ हजार, ४ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिने स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेले जानकारी दिए ।
