मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन र समृद्धिको लागि जागरण अभियान सञ्चालन गरिरहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्रा अन्तरगत शुक्रबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन । जागरण अभियानमा जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पुर्याएर समस्या समाधान गरिने उनले बताए ।
देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीमा हुर्किरहेको भन्दै यसको अन्त्य गर्न आवश्यक रहेको उनले बताए। उनले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको समेत उल्लेख गरे । उनले युवाहरुलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गरे ।
जनताको चाहना र भावनालाई सम्बोधन गरी सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्दै जनतामा देशभक्तिको भावना जागृत गराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउने आफ्नो पार्टीको रणनीति रहेको बताए । नेता नेपालले पार्टीका कार्यकर्तालाई जनताका घरघर गएर समस्या समाधानका लागि पहल गर्न निर्देशन दिए ।
अभियानको सभामा पार्टीका उपाध्यक्ष एवम बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेले पार्टीले भ्रष्टाचार अन्त्य र सुशासनको नारा लिएर हिँडेको बताए । देशमा वर्षेनी ८ लाखको संख्यामा युवा विदेश जान बाध्य भएको अवस्थामा सरकारले कृषिलाई आधुनिकीकरण गरी आवश्यक मल, बीउ स्वदेशमै उत्पादन गर्न सके बिदेश पलाएन रोकिने दाबी गरे ।
एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल आध्यक्षता भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल, पार्टी केन्द्रीय सचिव रामकुमारी झाक्री, पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेत, पार्टी स्थायी कमिटी सदस्य बिरोध खतिवडा लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको बालज्योति माविमा स्वस्थकर खाना प्रदर्शनी भएको छ । हेटौंडा ५ पिप्लेस्थित बालज्योतिमा शुक्रबार स्वस्थकर खाना प्रदर्शनी गरिएको हो ।
स्वस्थ्यकर खानाको प्रदर्शन गरी विद्यालयका सबै विद्यार्थीलाई स्वस्थ खानाको आवश्यकता, महत्व र फाईदाको जानकारी गराइएको विद्यालयकी नर्स प्रतिमा सेढाइले बताइन् ।
नर्स सेढाईका अनुसार स्वस्थकर खाना प्रदर्शनी कार्यक्रममा प्रयोग भएको फ्लेक्स, चार्टपेपरहरु विद्यार्थीले आफैँ बनाएका थिए ।
विद्यालयले स्वस्थ खानपिन, पोषिलो खानेकुरा र असल व्यवहारलाई लक्ष्य बनाएर कार्यक्रम सञ्चालन गरेको हो । नर्स सेढाईका अनुसार चिनी, चिल्लो, नुन, तेल सीमित रुपमा खानुपर्ने बताउनुभएको छ । एउटा स्वस्थ आमा बन्नका लागि किशोर उमेरदेखि नै स्वस्थ खानपिन गर्न आवश्यक पर्ने सेढाईले बताईन ।
कक्षा ६ देखि माथिका विद्यार्थीले बनाएको पोषण पिरामिडमा आवश्यकता अनुसार अन्न र कन्दमुल, गेडागुडी दाल, फलफुल र सागपात, पशुपंक्षीजन्य र माछामासु राखिएको थियो ।
स्वस्थकर खाना प्रदर्शनीको वडाध्यक्ष सुशील घिमिरेसहित वडा सदस्यहरु, शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अवलोकन गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनको मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालिकाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।
विहीबार भरतपुर महानगरपालिका ११ स्थित संरक्षण केन्द्रमा आश्रित २० जना बालिकाको प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीको उपस्थितिमा बीमा गरिएको हो ।
स्वास्थ्य बीमा बोर्ड नेपाल र स्वास्थ्य कार्यालय चितवनको समन्वयमा बालिकाहरुको बीमा गरिएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अनुसार आश्रमका बालिकाहरुको बीमा गरिएको बताइएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मन्त्रालयले प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्ग, सिमान्तकृत तथा लोपउन्मुख जातीहरुको निःशुल्क बीमा, महिला स्वास्थ्य स्वंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बीमाको दायरामा ल्याईरहेको मन्त्री जोशीले बताए ।
‘प्रदेश सरकारले बालिकाहरुलाई बीमाको दायरामा ल्याएर प्रशंसनीय काम गरेको छ’ आश्रमकी संरक्षक मञ्जु खाँण भनिन ‘यसले आश्रम सञ्चालनमा पनि सहज हुनेछ ।’ कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य कार्यालय चितवनका प्रमुखलगायतको पनि उपस्थिती रहेको थियो ।
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपाल शुक्रबार हेटौंडा आउने भएका छन् । पार्टीकाे मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष नेपाल आउन लागेका हुन् ।
नेकपा एस मकवानपुर जिल्ला कमिटीले विहीबार हेटौडामा पत्रकार भेटघाट गर्दै उक्त कुरा जानकारी गराएको हो । जिल्ला अध्यक्ष विष्णुपप्रसाद दाहालले असोज १४ गतेबाट सुरु १५ दिने मेची–महाकाली अभियानको टोली भोलि हेटौंडामा आइपुग्ने बताए । हेटौडामा हुने अभियानकाे कार्यक्रमलाई पार्टी अध्यक्ष नेपालले सम्बोधन गर्ने उनले जानकारी दिए ।
कार्यक्रमलाई अध्यक्ष नेपालसँगै पार्टीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने अध्यक्ष दाहालले बताए । दाहालका अनुसार, शुक्रबार बिहान साढे १० बजे हेटौंडाको सिमाचोकमा जनसभाको आयोजना गरिएको छ । पत्रकार भेटघाटमा पार्टी सचिव एवम् बागमती प्रदेश इन्चार्ज गंगा तुलाधर सह इन्चार्ज ललित बहादुर बस्नेत बागमती अध्यक्ष सावित्री भुषाल स्थायी कमिटि सदस्य विराेध खतिवडा बागमती प्रदेश सरकार उद्याेग मन्त्री लक्ष्मण लम्साललगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । विद्यालय शिक्षा विधेयेकका सन्दर्भमा नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न शिक्षक संघ तथा संगठनहरुले एमाले सचेतक महेशकुमार बर्तौलासंग भेट गरेको छ ।
विहीवार सचेतक बर्तौलासंग भेट गरेर महासंघको अध्यक्ष कमला तुलाधरले नेकपा (एमाले)ले शिक्षा विधेयेकमा भएका गलत प्रावधानहरु हटाउन संसदमा भुमिका खेलिदिन आग्रह गरेका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष तुलाधर सहित नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णु भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीलगायतको टोली नेकपा (एमाले)को संसदीय दलमै पुगेर भेट तथा अनुरोध गरेको हो । शिक्षक महांघका प्रतिनिधिहरुसंग एमाले सचेतक बर्तौलाले शिक्षक र सरकारकाबीचमा भएका मुख्य सम्झौताहरु कार्यान्वयनमा सरकार पक्षकै मुख्य भुमिका रहने, सरकारले भएका सम्झौताहरु विधेयेक फिर्ता गररै विधेयेकमा समावेश गरि पुनः दर्ता गर्नुपर्ने बताए ।
सचेतक बर्तौलाले यद्यपी एमालेले शिक्षकका महत्वपुर्ण मुद्धाहरु आफ्ना मुद्धाका रुपमा संसदमा उठाउने, संसाधन प्रस्ताव हाल्ने तथा सरकारलाई दवाव सृजना गरेरै कार्यान्वयनमा लैजान पहल गर्ने बताए ।
भदौ २७ मा संघीय सांसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर असन्तुष्ट शिक्षकहरूले असोज ३ गतेबाट राजधानी केन्द्रित आन्दोलन गरिरहेका थिए। आन्दोलनरत शिक्षक र सरकारकाबीचमा दुई चरणमा विभिन्न वुंदाहरुमा छलफल तथा सम्झौता भई शिक्षकहरुले आन्दोलन समेत फिर्ता लिई सकेको छ ।
सरकारले संसद्मा दर्ता भएको विधेयकमा शिक्षकका मागहरु समेट्ने प्रतिबद्धता जाहेर समेत गरेको छ।
