मकवानपुर । चाड पर्वमा हुने भीडभाड र यातायातामा सुरक्षामाथि सुरक्षित हुनकाे लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाड पर्वलक्षित गरी मंगलबारबाट टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जारी गरेको सूचनामा जनाइएको हो । पार्सा जिल्लाकाे सिमाना कटेर हेटाैडा उपमहानगरपालिका १५ चुरियामाईबाट हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्य रुपमा टाइम कार्ड लागू भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यात्रु पाइने हाेडमा छिटाेछिटाे सवारी गुडाउँदा दुर्घटना हुने संभावनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू गरिएको हो । सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियमबमोजिम कारवाही हुनेसमेत प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाण्डाै जाने सुमाेहरुमा भने यस अघि नै टाइम कार्ड लागु भइसकेकाे छ । ताेकिएकाे स्थानबाट ताेकिएकाे स्थानमा ताेकिएभन्दा चाँडाे पुगेका नियम अनुसार कारवाही गरिने प्रहरीले जनाएकाे छ ।
मकवानपुर । राक्सिराङ्ग गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता घरघरैमा पुगेर वितरण थालिएकाे छ । दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका राजकुमार मल्लले दसैंको आउँदै गर्दा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर बाढ्न गएका छन् ।
बैंकका कर्मचारी समेतकाे टोलीले पालिकाकाे गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे थियाे । सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा स्थानीय ज्येष्ठ नागरिकले ठूलो राहत महसुर गरेका छन् भने पालिका अध्यक्ष तथा कर्मचारीलाई ज्येष्ठ नागरिकलगायतका स्थानीयले स्याबासी दिएका छन् ।
विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैंकमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महङ्गो भाडा तिरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतालाई चिर्दै गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर पुगेकाे पालिका अध्यक्ष मल्लले बताए । सोमबार पालिका अध्यक्ष मल्लसहितकाे टोली वडा नम्बर ९ का जनतालाई भत्ता बितरण गर्न पुगेको थियो । राक्सिराङ ९ नम्बर वडाको अठारे ह्याक्ती बस्ने ९१ बर्षिया बृद्ध गौरी सुनारलाई जेष्ठ नागरिक भत्ताको ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । वडा कार्यालयमा बैंकका कर्मचारीसहित पुगेका अध्यक्ष मल्लको टोलीले सोमबार करिब १ सय २० जना ज्येष्ठ नागरिक तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताइएकाे छ ।
सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै प्राप्त गरेपछि अधिकांश बृद्धबृद्धाहरुले आउँदो दिनहरुमा पनि यसैगरी प्राप्त गर्न गाउँपालिका अध्यक्षलाई अनुरोध गरे । वडा अध्यक्ष रामकुमार बाल्पा थिङले वर्षाका कारण बाटो बिग्रिएको र घण्टौं हिडेर गाउँपालिका कार्यालयसम्म पुगेर भत्ता लिन असहज भएकाले वडाबाटै भत्ता वितरण गरिएको बताए ।
गाउँपालिकाले राक्सिराङ ४ मा रहेको एक परिवारलाई दसैं मान्नको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । खाद्यान्न प्याकेजमा चामल, तेल, दाल र नुन रहेको थियो भने अध्यक्ष मल्लले नगद सहयोगसमेत गरेका थिए । अभियानकै क्रममा स्थानीय युवाहरुलाई खेलकुदका सामाग्री समेत हस्तान्तरण गरिएको थियो । पालिकाले यस अघि वडा नम्बर ६, ७ र ८ मा असोज २५ गते नै भत्ता बितरण गरिसकेको छ ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट नगद रु.७० हजार रुपैयाँ र रु. ५५ हजारको चेक गरी जम्मा रु. १ लाख २५ हजार घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट सोमबार पक्राउ गरिएको तथा थप अनुसन्धान भइरहेको आयोगले जनाइएको छ ।
मकवानपुर । निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामाथि सुझाव मागेको छ । सरोकारवालाको सुझाव सङ्कलनका लागि उक्त मस्यौदा आयोगको वेबसाइटमा राखिएकाे आयाेगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
कुनै व्यक्तिले आफ्नाे स्थानीय तहकाे क्षेत्रबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत अनुरोध गरेमा अवस्था हेरी आयोगले अनुमति दिन सक्ने व्यवस्था मस्यौदामा छ । अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट मतदाता नामावली दर्ता कार्य सुरु हुने उनले बताए ।
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फाराम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई उपयुक्त हुने मिति छनोट गर्न सकिनेछ । जैविक बायोमेट्रिक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिमा छ ।

मकवानपुर । मनहरीमा जारी जेसीज कप फुटबल प्रतियाेगितामा केदारेश्वर युवा क्लब र बागमती प्रदेश प्रहरी गण फाइनल प्रवेश गरेकाे छ । सोमबार भएको सेमिफाइनल खेलमा मनहरी–९ रजैयास्थित केदाश्वर क्लबले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै प्रथम चैनपुर जेसीज कप प्रतियोगिताको फाइनलमा स्थान बनाएका हुन ।
साेमबारकाे पहिलो सेमिफाइनलमा रजैयाले सिमपानीलाई १–० गोल अन्तरले हराएको थियाे । यस्तै दोस्रो खेलमा प्रहरीले सयपत्री एफसीलाई टाइब्रेकरमा हराएको हो । टाइब्रेकरमा पुलिसको ४ खेलाडीकाे प्रहारले गाेलपोष्टकाे जाली चुमेकाे थियाे । सयपत्रीको २ खेलाडी मात्र गोल गर्न सफल भए । आउँदो बुधबार फाइनल खेल हुने आयोजक जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिएका छन् ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको फाइनलकै दिन जेसीज सप्ताहको समापन समेत हुनेछ । फुटबल खेलको विकाससँगै खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि चैनपुर जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गरेको अधिकारीले बताए ।
